सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर आफ्नो टोलीले ब्याटिङ गर्ने निर्णय सुनाएका हुन् ।
काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लुम्बिनी लायन्सविरुद्ध शनिबार फाइनलमा पहिला ब्याटिङ गर्ने भएको छ ।
सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर आफ्नो टोलीले ब्याटिङ गर्ने निर्णय सुनाएका हुन् । दुवै टोलीले फाइनलमा १–१ विदेशी खेलाडी परिवर्तन गरेका छन् ।
सुदूरपश्चिमले मुख्तर अहमदको स्थानमा पुनीत मेहरालाई खेलाएको छ । उनले लिग चरणमा २ खेल खेलेका थिए ।
नेपाली खेलाडीतर्फ टोलीले मिलन बोहराको स्थानमा दीपक बोहरालाई खेलाएको छ । त्यस्तै लुम्बिनीले जेजे स्मिटको स्थानमा मोभिन सुवासिंघालाई खेलाएको छ ।
लुम्बिनीले उपाधि जिते लगातार खेल ६ जित्ने छ र सुदूरपश्चिमको लगातार ६ खेल जितेको कीर्तिमान बराबरी गर्नेछ । एनपीएल सिजन २ को सुरुआत सुदूरपश्चिमले लगातार ६ खेल जितेर गरेको थियो ।
तर सातौं खेलमा टोली विराटनगर किंग्ससँग पराजित भएको थियो । त्यही विराटनगरलाई क्वालिफायर १ मा पराजित गरि सुदूरपश्चिम फाइनल पुगेको थियो ।
लुम्बिनीले लिगचरणको अन्तिम ३ खेल जितेर प्लेअफमा स्थान बनाएको थियो । त्यसपछि टोलीले इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई क्वालिफायर २ मा विराटनगरलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो । गत वर्ष पनि सुदूरपश्चिमले लुम्बिनीमाथि ४५ रनको सहज निकालेको थियो । गत वर्ष लुम्बिनी ७ खेलमा ६ पराजय भोगी पुछारमा रहेको थियो ।
