विदेशी खेलाडीले भित्र्याएको ऊर्जा

सर्वाधिक रन र ठूलो स्कोर बनाउनेमा विदेशी खेलाडीकै वर्चस्व रह्यो, नेपाली खेलाडीलाई उनीहरुको अनुभव बुझ्ने अवसर बन्यो

मंसिर २७, २०८२

विनयज्योति सापकोटा

The energy brought in by foreign players

What you should know

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) मा विदेशी खेलाडीको प्रभाव उनीहरूले जोडेको रन र लिएको विकेटभन्दा धेरै माथि छ । विगतको अनुभव सेयरिङ, टिममा अनुबन्धपछि बढ्ने सकारात्मक ऊर्जा, विदेशमा बढ्ने चर्चा, प्रतियोगिताको ब्रान्ड भ्यालुमा पर्ने प्रभाव र नेपाली क्रिकेटको विकासमा पर्ने प्रत्यक्ष असर यसका आयामहरू हुन् ।

यस सिजनमा कर्णाली याक्सबाट खेलेका प्रियांक पाञ्चालले प्रथम श्रेणीको क्रिकेटमा झन्डै ९ हजार रन बनाएका छन् । विराट कोहलीसँगै आफ्नो क्रिकेट यात्रा सुरु गरेका उनी राष्ट्रिय टिममा छनोट हुन किन सकेनन् ? अफगानिस्तानका नाजिबुल्लाह जाद्रानले कसरी क्रिकेट सिके ? अस्ट्रेलियाका विलियम बोसिस्टो र स्कटिस खेलाडी मार्क वाटले कसरी खेलिरहेका छन् ? आफूलाई कसरी आत्मविश्वास नगुमाइकन खेलमा टिकाइरहन सकेका छन् त ?

विदेशबाट नेपालमा खेल्न आएका खेलाडीसँग सोमपाल कामीले टिममा कुरा गरिरहँदा कर्णाली याक्सका सबै खेलाडीले उनीहरूको अनुभव सुन्ने अवसर पाए । ‘जतिबेला हामी अफ द फिल्ड बसेर कुरा गर्छौं, क्रिकेटका धेरै कुरा सिक्छौं । सबैको जीवनमा संघर्षपछि सफलतासम्म पुगेका खुट्किलाहरू हुन्छन् । उनीहरूको यात्रा कस्तो थियो, अफगानिस्तान आजको अवस्थामा कसरी आइपुग्यो ? जस्ता खुलदुलीलाई हामीले मेट्ने अवसर पायौं, धेरै खुसी लाग्यो,’ सिजनलाई बिट मार्दै गर्दा सोमपालले विदेशी खेलाडीबारे भने ।

...

विराटनगर र सुदूरपश्चिमबीच लिग चरणको बहुप्रतीक्षित खेल हेर्ने समर्थकलाई अहिले पनि झङ्कार उत्पन्न हुन्छ । एउटा यस्तो प्रस्तुतिको झङ्कार थियो, जहाँ ग्लोबल स्टार फाफ डु प्लेसिस र साम हेजलेट आफ्नो उत्कृष्ट फर्ममा विस्फोटक ब्याटिङ गरिरहेको देखिन्थे । त्यो खेल हेरेर पनि ‘गुसबम्प’ नआउने त सायदै क्रिकेट समर्थक हुन्छन् होला ।

लिग चरणका ६ खेलसम्म अपराजित सुदूरपश्चिमविरुद्ध फराकिलो जितले मात्रै विराटनगरको पहिलो क्वालिफायर यात्रा सम्भव थियो । त्यसमाथि १४८ रनको लक्ष्य १३.५ ओभरमा पूरा गर्नुपर्ने थियो । दीपेन्द्रसिंह ऐरीको टिमविरुद्ध यस्तो जितको कल्पना मात्रै हुन सक्थ्यो । तर आश्चर्यजनक रूपले सम्भव भयो नै । कसरी ?

फाफ डु र सामले गजबको शो प्रस्तुत गरे । उनीहरूले ४३ बलमा गरेको ९७ रनको साझेदारी प्रतियोगिताकै विस्फोटक थियो । यसले विराटनगरलाई सानदार जित नजिक पुर्‍यायो ।

‘त्यो खेल एउटा दर्शक भएर हेर्न रोचक थियो । हाम्रो स्थानीय खेलाडीहरूले यस्तो प्रस्तुति कसरी दिने भन्ने ठूलो शिक्षा त्यो इनिङ्सको लाइभ शोमा थियो । आफू त्यो अवस्थामा भयो भने कसरी अघि बढ्न सकिन्छ भन्ने पाठ थियो,’ लिग चरणको खेल सकिएपछि विराटनगरका कप्तान सन्दीप लामिछानेले भनेका थिए । त्यसपछिका दुई खेलमा विराटनगरको ब्याटिङ लाइनअप नै धराशायी बन्दै प्रतियोगिताकै बलियो मानिएको टिम फराकिलो हारसँगै बाहिरियो । यसले टी–२० क्रिकेटको अनिश्चिततालाई प्रस्ट पारेको छ ।

अचम्मको प्रदर्शन, टिम लिगबाटै बाहिर

एडम रोसिङ्टन र वाट मात्रै यसपालि एनपीएलमा शतक जोड्न सक्ने खेलाडी हुन् । कीर्तिपुरको स्लो पिचमा शतक आफैंमा माइलस्टोन हो । जुन नेपाली खेलाडीले दुई सिजन बितिसक्दा प्राप्त गर्न सकेका छैनन् । तर धैर्य, क्लास र प्रपर क्रिकेटिङ शट भयो भने कीर्तिपुरको पिचमा पनि शतक बन्न सक्छ भन्ने उनीहरूले देखाए ।

लिग चरणका खेल सकिँदा बाहिरिइएका पोखरा एभेन्जर्स, कर्णाली याक्स र चितवन राइनोजका ब्याटर सर्वाधिक स्कोर बनाउने खेलाडी सूचीको शीर्ष तीन स्थानमा थिए । उनीहरू हुन् त रोसिङ्टन (पोखरा), वाट (कर्णाली) र रवि बोपारा (चितवन) । ब्याटिङ तथ्यांकमा यो एउटा सरासर विरोधाभास थियो ।

लिग चरणपछि रोसिङ्टन ३ सय २३ रनसहित सर्वाधिक रन बनाउने खेलाडीको शीर्षमा थिए । उनी अझैसम्म शीर्षमै कायम छन् । तर उनको टिम पोखरा पाँचौं हुँदै बाहिरियो । एक शतकसहित २ सय ४६ रन बनाएका कर्णालीका वाट सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा थिए । तर याक्सले पनि यसपालि राम्रो गर्न सकेन । टोली छैटौं स्थानमा रहेर बाहिरियो । बोपाराले पहिलो तीन खेलमा लगातार तीन अर्धशतकसहित २ सय ३७ रन बनाए ।

The energy brought in by foreign players

पछिल्ला खेलमा प्रदर्शन लगातार उस्तै नहुँदा र बाँकी खेलाडीले अघि बढेर खेल्न नसक्दा गत सिजन प्लेअफमा पुगेको चितवन यो सिजन सातौं स्थानमा रहेर बाहिरियो । बोपाराको प्रदर्शनले नै चितवनका समर्थकलाई टिमप्रतिको विश्वास टिकाइराख्ने माहोल सिर्जना गर्न सक्यो ।

कर्णालीका पाञ्चालले पनि १ सय ९७ रन जोडे, तर टिमलाई बलियो स्थितिमा पुर्‍याउन सकेनन् । धनञ्जय लक्षणले ३ खेल मात्रै खेल्ने अवसर पाए । पोखराले पछि मात्र अनुबन्ध गरेका उनले कर्णाली, काठमाडौं र चितवनविरुद्ध क्रमशः ३, ४ र ३ विकेट लिए । ५.७४ को इकोनोमीमा बलिङ गरे । तर टिमले पाँचौं स्थानभन्दा माथि पाइला राख्न सकेन ।

भरोसा 'ओभरसिज प्लेयर’

समर्थक आफ्नो टिमले जितेको हेर्न मन पराउँछन् । जितका लागि टिममा भरोसा गर्न सकिने खेलाडी पहिलो आवश्यकता हो । मैदानमा खेलाडीले देखाउने प्रदर्शन नै समर्थकको भरोसा हो । फाफ डु प्लेसिस, मार्टिन गप्टिल, मर्च्येन्ट डी ल्याङ्गे र जर्ज मन्सीजस्ता खेलाडी एकै टिममा हुँदा त्यो टिमको खेल हेर्न कति रोमाञ्चक होला ? यी नै खेलाडीको प्रदर्शनले यो वर्ष विराटनगरको समर्थनमा प्यारापिटमा बाक्लो उपस्थिति देखाएको थियो ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगरको ब्याटिङलाई ‘कोल्याप्स’ पारिदियो । ७७ रनले खेल जित्यो । यद्यपि खेलपछि घर जाने तरखर गर्दै गरेका विराटनगरका समर्थक ओशिष निरौला भन्दै थिए, ‘विकेट अलि छिटोछिटो गयो । तर डु प्लेसिस हुन्जेलसम्म आस थियो, उनी आउट भएपछि आस पनि मर्‍यो ।’ यो भनाइ टिममा डु प्लेसिसको ‘इम्प्याक्ट’ थियो ।

एनपीएलमा अहिलेको अवस्था फरक छ । दुई टिम फाइनलमा पुग्दा काठमान्डु र विराटनगर प्लेअफबाट बाहिरिएको छ । दुवै खेलमा डी’आरसी शट, रुबेन ट्रम्पलमन र निरोशन डिकवेलाको ब्याटिङ/बलिङले लुम्बिनीलाई अहिले सहज अवस्थामा पुर्‍याइरहेको छ । शटले सबै खेलमा एकनासे प्रदर्शन गरेका छन् ।

पछिल्ला चार खेलमा उनले क्रमशः ५७, ३०, ३३ र ४५ रन जोडेका थिए । सुरुआतमा उनको ब्याटिङ चल्न नसक्दा लुम्बिनीको प्रदर्शन पनि खास थिएन । नामिबियाका ट्रम्पलमनले सबैजसो खेलमा शीर्षक्रमका ब्याटरलाई आउट गराएर टिमलाई ब्रेक थ्रु दिलाएका छन् । ९ खेलमा १२ विकेट लिइसकेका उनले सातको इकोनोमीमा बलिङ गरिरहेका छन् ।

सुदूरपश्चिमका स्कट कुग्लेइन टिमको महत्त्वपूर्ण हिस्सा नै हुन् । उनले बलिङसहित टिमभित्र सबै क्षेत्रमा आफ्नो अनुभवले योगदान दिएका छन् । ‘ब्याटरलाई कसरी रिड गर्ने, कति बेला कुन बल फाल्ने, माइन्डसेट कस्तो हुने, अभ्यासमा पनि एक हप्तामा कति बलिङ गर्ने, तालिका कसरी बनाउने, रिकभरी कसरी गर्ने कुरा मैले सिकें,’ ट्यालेन्ट हन्टबाट सुदूरपश्चिम टोलीमा स्थान बनाएका हिक्मत महराले विदेशी खेलाडीबाट आफूले सिकेको कुरा सुनाए ।

हिक्मतले कुग्लेइनसँग बायाँहाते ब्याटरविरुद्ध कसरी बलिङ गर्ने सिके । त्यसपछि उनले चितवनसँगको खेलमा कुशल मल्ल र विराटनगरसँग जर्ज मन्सीविरुद्ध अफकटर बलिङ गर्न सिके । केही बल असफल भए, धेरै बललाई ब्याटरले डिफेन्स नै गरे । ‘खेल जति धेरै खेल्यो, जति धेरै विपक्षीसँग खेल्यो त्यति फाइदा हुन्छ, विदेशी खेलाडीसँगको खेलले परिपक्व बनाउने रहेछ,’ उनले अन्तिममा सुनाए, ‘सुरु–सुरुमा नर्भस हुन्थें, अब हुदिनँ ।’

काठमान्डुविरुद्ध हरमित सिंहले कस्तो प्रदर्शन गरे ? ७२ रन जोड्दा नै ६ विकेट गुमाएको अवस्थामा मैदानमा प्रवेश गरेका हरमितले २० बलमा ५३ रनको विस्फोटक इनिङ्स खेलेका थिए । एनपीएलमा यो सबैभन्दा आक्रामक ब्याटिङमध्ये एक रह्यो । त्यही खेलमा उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर २ विकेट पनि लिए । त्यो पनि शीर्षक्रम र मध्यक्रमका महत्त्वपूर्ण खेलाडी आउट गराएर । लिग चरणका खेलमा चितवनलाई ४९ रनले हराउने क्रममा अस्ट्रेलियाका क्रिस लिनले ५६ बलमा ७५ रनको ठूलो स्कोर बनाए । शतक उन्मुख अवस्थामा रहेका उनी रिटायर्ड हर्ट भए । अस्ट्रेलियाको राष्ट्रिय टोली, आईपीएल, बिगबास लिग, सीपीएललगायत विश्व क्रिकेटको अनुभव उनले सुदूरपश्चिमको ड्रेसिङ रुममा सेयर गरेका थिए ।

काठमान्डुमा मिलिन्द कुमार, जोन सिम्पसन र बेन चार्ल्सवर्थको उपस्थितिले यो टिमलाई प्लेअफमसम्म पुग्ने जितको आधार तयार गरायो । पोखराविरुद्ध बेनको ६४ रनको इनिङ्स र जोनले चितवनविरुद्ध बनाएको ६० रनले काठमान्डुको यात्रालाई अगाडि बढाएको थियो । समर्थकमा कमै चर्चा भए पनि मोन्टी देसाईको टिममा यी खेलाडीको भूमिका निकै स्पष्ट र महत्त्वपूर्ण रह्यो, जसले काठमान्डुलाई एउटा प्रतिस्पर्धात्मक टिमका रूपमा अघि ल्याएको हो ।

जसको थियो धेरै आस

जेसन रोय, जिम्मी निसम, डेविड मलान, गुलबद्दिन नैब यस्ता खेलाडी रहे, जसको आएको र गएको चर्चा भयो । मैदानको प्रदर्शनमा चर्चा भएन । उनीहरूबाट विस्फोटक/धारिलो इनिङ्सको अनुभव समर्थकले नै गर्न नपाइकन टिम बाहिरिए । ओपनिङमा निकै शक्तिशाली बन्ने आशा गरिएका मन्सीको लिग चरण भयानक तरिकाले गुज्रियो ।

लिग चरणका आफ्ना खेलमा उनी ४, ० र ० मा आउट भए । टी–२० अन्तर्राष्ट्रियका ८१ खेलबाट २ हजार ३ सय २ रन बनाएको मन्सीबाट यो स्तरको प्रदर्शनले समर्थकहरू निराश बने । उनी लुम्बिनी र कर्णालीविरुद्ध लगातार शून्यमा आउट भए । सुदूरपश्चिमविरुद्ध दुवै खेलमा बेञ्चमा रहे ।

जेजे स्मिट त लिग चरणमा फ्लप नै भए । उनले ५ खेलमा मात्र २ विकेट लिए भने ६० रन मात्र जोड्न सके । प्लेअफमा दुई खेलमा २ विकेट लिए पनि उनी टिममा प्रभाव जमाउने खेलाडी बन्न सकेनन् । प्लेअफ खेलहरूमा भने उनको सुधारिएको प्रदर्शनपछि लुम्बिनी फाइनल पुगेको छ ।

लाहिरू मिलान्था, रिकार्डो कास्कोन्सेलोस, म्याक्स ओ‘डाउड, थोमस ड्रागाजस्ता खेलाडी त थोरै खेलमै सीमित रहे । धेरै आस गरिएका सोहेल तनवीर, मलानबाट समेत समर्थक निराश बने । गत सिजन सानदार प्रदर्शन गरेर चितवनलाई प्लेअफमा पुर्‍याएका तनवीरले यस सिजन काठमान्डुविरुद्ध ४ विकेट लिए पनि बाँकी खेलमा औसत मात्रै रहे । उमेरसँगै प्रदर्शनमा आउने गिरावटले उनले औसतमात्र बलिङ गर्न सकेको समर्थकको आकलन रह्यो । अफगानी ब्याटिङ अलराउन्डर नैबबाट पनि एनपीएलमा विस्फोटक ब्याटिङको आशा गरिएको थियो । उनकै खेल हेर्न पुगेका समर्थकले पनि त्यो रोमाञ्च महसुस गर्न पाएनन् ।

‘क्रिकेट विपक्षीलाई हेरेर खेलिँदैन मैदानमा खेलिन्छ । एक बलको न खेल हो । कसैलाई पनि राम्रो वा नराम्रो भन्न मिल्दैन । कहिले चल्छन्, कहिले चल्दैनन्,’ फरक प्रसंगमा विराटनगरका निर्देशक दीपेन्द्र चौधरीले भनेका कुरा यहाँ पनि मेल खान्छ । जेहोस्, एकाध खेलबाहेक धेरैजसो खेलले समर्थकलाई अन्तिम ओभरसम्म पनि मैदानमा बाँधेको छ, त्यो नै ठूलो कुरा हो ।

नेपाली क्रिकेटलाई जीवित बनाउने सबैभन्दा प्रमुख पक्ष नै समर्थक हुन् । उनीहरूको प्रेम र क्रिकेटप्रतिको विश्वासले एनपीएल अहिलेको जति भव्य बनेको हो । यो दोहोरो पक्ष पनि हो, किनभने समर्थकलाई मैदानसम्म पुग्ने जोस खेलले दिनुपर्छ । सयभन्दा धेरै समर्थकसँग प्रत्यक्ष कुराकानीका अवसरमा उनीहरूलाई कीर्तिपुरसम्म पुग्ने के कुराले प्रेरित गरिहेको छ भन्ने प्रश्नमा उनीहरूले खास गरी तीनवटा कुरा बताए । प्यारापिट र फ्लडलाइटले भरेको सुन्दरता, ग्लोबल स्टार खेलाडीको प्रदर्शन हेर्न र आफ्नो ठाउँको टिमलाई समर्थन गर्न । एनपीएलले यो उपलब्धि पाउनुका कारण धेरै छन्, त्यसमा विदेशी खेलाडी अभिन्न पाटोमा पर्छन् ।

विनयज्योति सापकोटा

Link copied successfully