पारस खड्का भन्छन्- क्रिकेट संघसँग पूर्वाधार बनाउने बजेट भइसकेको अवस्थामा छैन । सबैभन्दा पहिले, काठमाडौंमा पूर्ण सुविधासहितको एउटा स्टेडियम पूरा गर्नुपर्छ । कमसेकम एउटा स्टेडियम पूर्ण रूपमा भएको खण्डमा त्यसपछि चाहिँ हामी अरू स्टेडियम बनाउन सक्ने आधार बनाउन सक्छौं ।
What you should know
‘नेपाल प्रिमियर लिग : सिजन २’ को फाइनलसम्मको यात्राबारे नेपाल क्रिकेट संघका सचिव एवं राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्कासँग विनोद पाण्डे र कञ्चन अधिकारीले गरेको कुराकानी :
एनपीएल–२ को फाइनल यात्रासम्म आइपुग्दा तपाईंको अनुभव कस्तो रह्यो ?
क्रिकेट, त्यो पनि फ्लडलाइटमुनि । यो हाम्रो राज्यको अहिलेको अवस्थालाई हेर्दा साढे दुई महिनाअघि मात्र हामी कहाँ थियौं, अहिले कहाँ आइपुगेका छौं भन्ने देखाउँछ । नेपाल क्रिकेटको इतिहास, गत सिजनको एनपीएलको सफलता र त्यसपछि बनेको अपेक्षा, यी सबैका बीचमा यो दोस्रो संस्करण अझै ठूलो भएको छ ।
पोहोरको तुलनामा यस वर्ष दर्शक र प्रतिक्रियामा पाँच गुणासम्मको वृद्धि भएको महसुस भइरहेको छ । मैले सधैं भन्ने गरेको के हो भने एनपीएल केवल दुई संस्करण भएको प्रतियोगिता मात्रै होइन, यो ‘इन द–मेकिङ’ थियो । मैदानमा देखिने नतिजाले मात्र होइन, संरचनात्मक विकासले पनि देखिन्छ ।
हामीले यही मैदानमा २०–२५ वर्ष बिताइसकेका छौं । हिजोको टीयू क्रिकेट मैदान आज ‘स्टेडियम’ भन्नेसम्मको अवस्थामा आइपुगेका छौं । मैदानमा, घाँसमा बसेर क्रिकेट हेर्ने हामी आज स्ट्यान्डमा बसेर हेर्ने अवस्थामा आएका छौं । साथै नेपाली क्रिकेट समर्थकको माया, मालिकहरूको, प्रायोजकहरूको योगदान, राज्य र सुरक्षा निकायहरूले पहिलो प्राथमिकतामा राखेर गरेको कामले यो सबै सम्भव भएको हो ।
सबै सरोकारवाला र निकायबाट साथ सहयोग पाएका छौं । र, नेपाल क्रिकेट संघले गरेको अठोट र पहल हेर्दा अब धेरै छैन सफल हुन । म एक क्रिकेट खेलाडी, क्यान पदाधिकारीको हिसाबले दुवै हेर्ने मौका पाएको छु । अझै पनि हामी क्रिकेट विकासको सुरुआती चरणमै छौं । गर्नुपर्ने र सुधार गर्नुपर्ने कुराहरू धेरै छन् । तर पनि हाम्रा सीमा धेरै छन् । क्रिकेटलाई एउटा उचाइमा पुर्याउन, एउटा राष्ट्रिय परिचय बनाउन लागिपरेका छौं ।
एनपीएल केवल नेपालमै सीमित छैन । घर–घर, चोक–चोक, देश–विदेशका नेपालीमा यसको प्रभाव परेको छ । विदेशी खेलाडीहरू पनि यहाँको वातावरणसँग निकै खुसी छन् । यो सबै एक दिनमै सम्भव हुँदैन– समय लाग्छ ।
एउटा क्रिकेटर, एउटा प्रशासक दुवै भूमिकाबाट हेर्दा चार–साढे चार महिनामै घाँसबाट 'प्यारापिट’ हुँदै फ्लडलाइटसम्मको यात्रालाई कसरी लिनुहुन्छ ?
चार महिनाअघिसम्म क्रिकेट चलिरहेको थियो । त्यो सकिनेबित्तिकै सरकार, विशेषतः सहरी विकास मन्त्रालय र फ्लडलाइट जडानमा संलग्न सबैको सहयोग प्रशंसनीय छ । नेपालमा खेलकुदलाई कहिलेकाहीं राजनीतिक नजरले पनि हेरिन्छ, तर क्रिकेटमा म यस्तो नकारात्मक हस्तक्षेप महसुस गर्दिनँ ।
नेपालमा क्रिकेटलाई आजको दिनसम्म कसैले, कुनै पार्टीले कुनै हिसाबले गलत सोचविचारका साथ हेरेको जस्तो लाग्दैन । त्यसैले सबैको साथ सहयोगले जसरी हाम्रो रंगशाला बन्यो । यो प्रशंसनीय र उदाहरणीय छ । हामी त जग खन्ने बेलादेखि छौं । यहाँको अवस्था भनेर साध्यै छैन । एनपीएल १७ तारिखदेखि सुरु हुँदै थियो, हामी १३ गतेसम्म फ्लडलाइटको पोल गाड्दै थियौं ।
यो सबै प्रक्रियामा क्रिकेट संघले समन्वय त गर्यो । तर खासमा संघसँग त्यति धेरै सरोकार पनि थिएन । टेन्डर सरकारले निकालेको हो । सबैलाई हामीले सहजीकरणको भूमिका गर्यौं । जो जति यो निर्माण प्रक्रियामा लागेका थिए । सबैलाई समयमै यसलाई सकाउनुपर्छ है भन्ने भयो । रकम रोकिए पनि काम गरिराखे ।
दोस्रो संस्करणमा चाहिँ फ्लडलाइट पनि जडान गर्नुपर्यो, स्ट्यान्ड पनि जडान गर्नुपर्यो भन्ने मानसिकता देखियो र काम सकियो । यो सबै नेपाल क्रिकेटले कमाएको ‘श्रद्धा’ र ‘आशा’ को परिणाम हो । यो रंगशाला जुन हिसाबले सरकार, कन्स्ट्रक्सन कम्पनीहरूले दिनरात नभनी काम गर्नुभयो, यसको जति बखान गरे पनि पुग्दैन । यसले के देखाउँछ भने फास्टट्र्याकमा धेरै कामहरू गर्न सकिन्छ । इच्छा शक्ति भयो भने जे काम पनि चाँडै नै गर्न सकिन्छ भन्ने उदाहरण कीर्तिपुर रंगशाला हो ।
एनपीएल–२ को राम्रो पक्ष के–के देख्नुभयो र सुधार्नुपर्ने पक्ष के हो जस्तो लाग्छ ?
सबैभन्दा राम्रो पक्ष, यो मैदान अब वास्तवमै ‘स्टेडियम’ जस्तो देखिन थाल्यो । प्यारापिट, स्ट्यान्ड, जोन–वाइज डिभिजन, छुट्टाछुट्टै गेट, टिकटिङ सिस्टम– सबै सुधार गरियो । पहिला एउटा गेटबाट छिरेपछि घाँसमा बस्यो र अर्को गेटबाट बाहिरिनुपर्थ्यो । अहिले चार वटा गेट बनाएका छौं । भीडभाडका बीच सुरक्षालाई प्राथमिकता दिइयो । दर्शकका लागि आधारभूत पूर्वाधार– जस्तै शौचालय बनेका छन्, तर यो पर्याप्त त छैन ।
अहिले यो बढाउनुपर्ने भए पनि समय अभावका कारण समायोजन गरिएको छ । चाहेजति बनाउने समय पनि हामीसँग थिएन । यो दोस्रो फेजमा बनाउनुपर्ने छ । हामीले मैदान नै कत्तिको रेडी हुने हो भन्ने थियो । यत्तिको भने पनि बनाइयो । संघले आफ्नै स्रोत साधन प्रयोग गरेर धेरै काम गर्यो । हामीले एनपीएल मात्रै आयोजना गर्ने होइन, किनकि हामीले विदेशी खेलाडीलाई समेत समेटेर संसारलाई ‘नेपाल तयार छ’ भन्ने सन्देश दिन जरुरी थियो ।
हामीले गर्नुपर्ने सबै जिम्मेवारी पूरा गर्यौं । अन दि फिल्ड कति धेरै चुनौतीहरू थिए । आज क्रिकेटप्रेमीहरूलाई पास चाहिएको छ, सबैलाई रंगशाला आएर क्रिकेट हेर्ने इच्छा बनेर जुन खालको वातावरण बनेको छ त्यो राम्रो पक्ष हो । यहाँ मान्छेहरू मनोरन्जन लिन आउनुभएको छ, आफ्नो टिमलाई सपोर्ट गर्न आउनुभएको छ । आज क्रिकेट केवल खेल होइन– मनोरन्जनको माध्यम बनेको छ । राम्रो लाइट, राम्रो साउन्ड, राम्रो वातावरणमा फ्यानले आफ्नै टिमलाई समर्थन गर्न पाउँदा त्यो एउटा संस्कृति बन्दै छ ।
गत वर्ष एनपीएल भइसकेपछि, प्रादेशिक हिसाबमा, प्रदेशको मूल्य मेरो ठाउँ, मेरो जन्मस्थलको टिम भन्ने भावना विकास गरेको छ । खेल संस्कार विकास गर्नका लागि सफल भएका छौं । अहिले हामी काठमाडौंमा सीमित छौं । आशा गरौं, कुनै बेला एनपीएल प्रदेशमा पनि जानेछ । प्रदेशमा आधारित सहभागिताले मानिसको स्थानीय पहिचान, भावना र जोड बढाएको छ । यो खेल संस्कृतिको विकासका लागि अत्यन्त महत्त्वपूर्ण छ ।
सुधार गर्नुपर्ने पक्ष के देख्नुभयो ?
सुधार गर्नुपर्ने पक्षहरू धेरै छन् । बाथरुम, फेन्सिङ, भीआईपी स्ट्यान्ड, ग्राउन्ड म्यानेजमेन्ट– यी सबैमा अर्को चरणमा सुधार गर्नैपर्छ । हाम्रा स्रोतसाधनहरूका सीमितता छन् । जति मानिसहरूले पत्रपत्रिका, सामाजिक सञ्जालमा पढ्दा, हेर्दा करोडौं कमायो भन्ने देखिन्छ । यो क्रिकेटमै खर्च भएको छ, एउटा फ्लेक्स बनाउनेदेखि घाँसको मलसम्म । इलेक्ट्रोनिक बोर्डदेखि खेलाडी व्यवस्थापनसम्म सबै कुरामा खर्च भएको छ । हामीले अठोट गरेको, प्रयास गरेको कुरा पूरा हुँदै गएको छ । मलाई लाग्छ, हामी सही दिशामा हिँडिरहेका छौं । तर धेरै काम गर्न बाँकी छ । हामी जुन अन्तर्राष्ट्रिय सम्बन्धन पाउन सकेका छौं, यो राम्रो पक्ष हो ।
काठमाडौं बाहिर खेल लैजान कति समय लाग्छ ?
कति समय लाग्छ भन्दा पनि क्रिकेट संघसँग पूर्वाधार बनाउने बजेट भइसकेको अवस्थामा छैन । सबैभन्दा पहिले, काठमाडौंमा पूर्ण सुविधासहितको एउटा स्टेडियम पूरा गर्नुपर्छ । कमसेकम एउटा स्टेडियम पूर्ण रूपमा भएको खण्डमा त्यसपछि चाहिँ हामी अरू स्टेडियम बनाउन सक्ने आधार बनाउन सक्छौं । त्यसपछि त्यो स्टेडियमले उत्पन्न गर्ने राजस्वले मात्र अरू प्रदेशमा स्टेडियम बनाउन सकिन्छ । ९० करोडमै १० हजार क्षमताको फ्लडलाइट स्टेडियम बन्न सक्छ भने देशभर पनि यसको सम्भावना छ । तर सबै चरणबद्ध रूपमा, योजनाबद्ध रूपमा गर्नुपर्ने हुन्छ ।
टिकटको मूल्य बढाउँदा आलोचना खेपिरहनुभएको छ ?
संघले पहिले नै राउन्ड रोविनका लागि यति मूल्य, यी ठाउँ प्रिमियम हुन् भनेर तोकेको थियो । मैदानमै आएर हेर्दा पनि सिट त सबै एउटै हो तर हामीले ठाउँ मात्रै तोकेका थियौं । क्वालिफायर–२ र फाइनल खेलका ६ वटा जोन, हस्पिटालिटी र स्पोन्सर जोन छ, सबैको सिट एउटै हो । बस्ने ठाउँ उस्तै हो तर हाम्रो मानसिकता के भयो भने म भीआईपीमा बसें, म प्रिमियममा बसें भन्ने सोच भयो । संघका तर्फबाट हेर्यौं भने हामीले आम्दानीका रूपमा पनि हेर्नुपर्ने भएको छ ।
एउटा क्रिकेटप्रेमीलाई पनि पैसा तिरेर हेर्दा एउटा संस्कार विकास गर्न सफल भएका छौं । हामीले क्वालिफायर–२ र फाइनलका लागि टिकट मूल्य बढाएका होइनौं, खाली जोनलाई डिभाइड गरेका हौं । प्रिमियम सिटमा बसेर खेल हेर्नु र साधारण जोनबाट हेर्नुमा खासै फरक पर्दैन । मात्रै हामीले फाइनल खेल सेटअप गर्न र आर्थिक हिसाबले पनि राम्रो आम्दानी हुन्छ भनेर मूल्य तोकेका हौं । संघको खर्च एकदमै धेरै छ । हामीले कमाएको पनि खर्च क्रिकेटमै गर्ने हो । हामीलाई पनि आर्थिक रूपमा टिकाउ मोडेल बनाउनुछ, किनकि क्रिकेट संघले खर्च गर्नुपर्ने ठाउँ धेरै छन् । टिकट मूल्य सबैका लागि सजिलो नहुन सक्छ, तर त्यो पैसा व्यक्तिको खातामा जान्थेन– सिधै क्रिकेटको विकासमा
लगानी हुन्छ । अब टिकटको मूल्य बढ्दैन । फ्यानको माया र सहयोगकै कारण आज हामी ‘घाँसमा छाता ओढेर हेर्ने’ अवस्थाबाट ‘स्ट्यान्डमा बसेर हेर्ने’ अवस्थामा आएका छौं ।
अम्पायरिङ अलि विवादास्पद बनेको छ, यसलाई सुधार्न के प्रयास गर्नुहुन्छ ?
अम्पायरिङ डिसिजन भनेको खेलेको हिस्सा हो, क्रिकेटमा झन् मुख्य हुन्छ । अम्पायरको निर्णय भनेको जित्ने टिमलाई आफ्नो पक्षमा भयो भने ठीक लाग्छ भएन भने बेठिक लाग्न सक्छ । यसमा सुधार गर्नुपर्ने धेरै ठाउँ छन् । अहिले प्रविधिको ठूलो माग छ । सबैले डीआरएस–डीआरएस भनिरहेका छन् । डीआरएस महँगो छ, तर भविष्यमा आवश्यक पर्छ । यो प्रविधि कत्तिको खर्चिलो छ भनेर गुगल गर्दा पनि थाहा हुन्छ । एक खेलको लगभग १७–१८ लाख रुपैयाँ (१०–१२ हजार डलर) पर्छ । यो हिसाबले ३२ खेलको करिब ७–८ करोड लाग्छ ।
हामीले गर्नुपर्ने धेरै छ । अहिलेको हाम्रो प्राथमिकता भनेको लिगलाई दिगो बनाउनुपर्ने छ । प्रतियोगिताबाट भएको आम्दानीलाई अहिले डीआरएसका लागि भन्दा पनि घरेलु क्रिकेटको संरचनाका लागि हामीले लगानी गर्नुपर्ने छ । हामी एकदमै धेरै आत्तिन्छौं र मात्तिन्छौं । केके न भयो जस्तो हुन्छ हामीलाई । अहिलेलाई हामी वर्षौंदेखिको उपलब्धिलाई हामीले एउटा संरचनामा समेटेका छौं । हामीले गर्नुपर्ने धेरै छन् । सुधार्ने पक्ष छन् । अम्पायरलाई मात्र दोष दिएर हुँदैन, खेलाडीको अनुशासन, निर्णय स्वीकार्ने संस्कार पनि त्यत्तिकै आवश्यक छ । हामीले दुवै पक्षलाई हेर्न जरुरी छ । समग्र रूपमा हेर्दा हामीले अम्पायरिङलाई स्ट्रिक्टफुल छ । यसलाई संघका तर्फबाट हामीले गर्नुपर्ने पहलहरू धेरै नै छ । यसलाई राम्रो गर्नुपर्ने छ ।
राष्ट्रिय टोली बाहिरका घरेलु खेलाडीहरूको प्रदर्शन केही कमजोर देखिएका छन्, यसका लागि एनपीएलबाहेक थप टी–२० लिग आवश्यकता देख्नुहुन्छ ?
क्यालेन्डर हेर्नुभयो भने निकै व्यस्त छ । प्रतियोगिता गर्न हामीलाई समय पुगिराखेको छैन । अरू घरेलु लिगहरू भइरहेका छन् । त्यसको पनि हामीले नियालिराखेका छौं, खेलाडीका प्रदर्शनलाई हेरिराखेका छौं । राष्ट्रियस्तरको टी–२० गराइराख्न पनि हाम्रा लागि यो प्रिमियम प्रतियोगिता हो । गत वर्ष हामी अलि धेरै नै व्यस्त थियौं ।
विश्व क्रिकेट लिग र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त थियौं । त्योबीचमा राष्ट्रियस्तरको लिग गराउने कि भन्दा पनि एनपीएल गरिरहेका छौं । हाम्रो २०२६ सम्मको क्यालेन्डर हामीले लगभग तयार गरिसकेका छौं । सानातिना लिगलाई संरचित रूपमा जोड्ने, त्यसको प्रदर्शनलाई राष्ट्रिय टोलीसम्म पुर्याउने हाम्रो लक्ष्य हो । एनपीएल भनेको एउटा ठूलो मञ्च हो । यहाँ राम्रो खेल्नेले ठूलो अवसर पाउँछ । तर कुनै खेलाडीले एक मौका पाउला कुनैले एक बलमा, एक क्याच, एक छक्का हान्न पाउला भने जस्तै खेलाडीको कहिलेकाहीं त्यही करियर बदल्ने क्षण बन्न सक्छ ।
अर्को महिना नेपालले महिला ट्वान्टी–२० विश्वकप छनोट आयोजना गर्ने भन्ने थियो, तर देशको पछिल्लो स्थितिले गर्दा अन्योल भएको भन्ने कुरा थियो, अहिले एनपीएलले कस्तो सन्देश दिएको छ विदेशी प्रतियोगिता भित्र्याउनलाई ?
अवश्य पनि महत्त्वपूर्ण छ । एनपीएल नभएको भए महिला ट्वान्टी–२० विश्वकप छनोट हुन गाह्रो नै थियो । यो गरेर नै हामीलाई आईसीसीले हेर्ने त्यही दृष्टिकोण नै थियो । अब फाइनल पनि सम्पन्न गर्नुपर्ने छ । त्यसपछि हामीले आग्रह गरेको पनि त्यही हो । एनपीएलले सन्देश दिन सकेका कारण नै महिला ट्वान्टी–२० विश्वकप छनोट नेपालमा हुने स्थिति बनेको छ, अब नेपालले आयोजना गर्ने निश्चित जस्तै भएको छ ।
![NPL is now the brand of Nepali sports: Paras Khadka [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/paras-khadka-13122025024301-1000x0.jpg&w=1001&h=0)