एनपीएलमा सातै प्रदेशको टिमका दर्शक एकसाथ भेला भएर खेल हेरिरहँदा मैदानमा कुनै उत्सवभन्दा कम रौनक देखिन्न ।
What you should know
काठमाडौँ — आठ वर्षीय प्रिन्स केसी बुधबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ‘रेड बुल जोन’ मा भेटिए । काठमान्डु गोर्खाजको लोगो स्टिकर गालामा टाँसेका प्रिन्स हातमा त्यही टिमको झन्डा बोकेर नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा रमाइरहेका थिए । काठमान्डु गोर्खाजले चौका–छक्का हान्दा उनी झन्डा लहराउँदै उत्साहित बन्थे । खेलाडी आउट हुँदा भने उनको अनुहार मलिन बन्थ्यो ।
लुम्बिनी लायन्सका समर्थक २५ वर्षीय दयाराज ढुंगाना यस पटक आफ्नो टिमको प्रदर्शनमा उत्साहित छन् । राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले घरेलु टिममा पनि आफूलाई प्रमाणित गर्नुपर्ने उनी बताउँछन् । ‘वर्ल्डकप आउँदै छ, सबै खेलाडी फर्ममा हुनु जरुरी छ,’ ढुंगानाले भने, ‘मेरो घर पाल्पा भएकाले होम टिमले जितोस्, रोहितको कप्तानी सफल होस् भन्ने चाहना छ ।’
नेपालमा क्रिकेटको क्रेज बढ्नुमा पछिल्ला वर्षमा राष्ट्रिय टिमले देखाएको उत्कृष्ट प्रदर्शन महत्त्वपूर्ण कारण हो । एनपीएल पहिलो सिजनभन्दा दोस्रो अझै व्यवस्थित र राम्रो भएको उनको अनुभवले भन्छ । ‘म खेल हेर्न नियमितजसो आएको छु । आगामी संस्करणमा एक मात्र मैदानमा खेल नराखी अन्य ठाउँमा पनि आयोजना गर्ने वातावरण भए यसको क्रेज थप बढ्न सक्छ,’ ढुंगानाले भने ।
नुवाकोट घर भए पनि २५ वर्षीया मन्दिरा न्यौपानेको समर्थन कर्णाली याक्सतर्फ थियो । अन्तर्राष्ट्रिय क्रिकेटमै रुचि राख्ने उनी शिखर धवनलाई मन पराउँछिन् । र, धवन पहिलो सिजनमा कर्णालीबाट खेलेपछि उनी पनि कर्णालीको समर्थक भइन् । ‘सोमपाल कामी र नन्दन यादव पनि मेरो मन पर्ने खेलाडी हुन्,’ उनले भनिन्, ‘मन पर्ने खेलाडी भएकाले नै कर्णाली रोजें ।’
ओटीटी र टीभीमा एनपीएलका प्रायः सबै खेल हेर्दै आएकी उनी यसपटक प्रत्यक्ष खेल हेर्न रंगशाला नै पुगिन् । ‘खेलाडीको मिहिनेत प्रत्यक्ष देख्दा झन् मज्जा आयो,’ न्यौपानेले भनिन् । एनपीएल देशकै गौरव गर्नलायक प्रतियोगिताका रूपमा विकसित हुँदै गएको उनी बताउँछिन् । यस्ता प्रतियोगिता निरन्तर आयोजना भए खेलाडीलाई निरन्तरता र प्रेरणा दुवै मिल्ने उनको भनाइ छ ।
एनपीएललाई थप सुधार गर्दै लैजानुपर्ने बुटवलकी अप्सरा खनाल बताउँछिन् । अहिलेसम्म लुम्बिनी लायन्सका दुई खेलबाहेक सबै खेल प्रत्यक्ष हेर्न मैदान पुगेकी उनले दर्शकको ध्यान आफूतिर तानिरहेकी हुन्छिन् । आफूले समर्थन गरेको टिम लुम्बिनीका लागि शरीरमा ट्याटु नै बनाएर, टिमको झन्डा बोक्दै मैदानमा बज्ने गीतमा छमछमी नाचेर आफ्नो टिमलाई साथ दिनु उनको कार्य हो ।
एनपीएल सुरु भएपछि नेपालमा क्रिक्रेट क्रेज बढेको उनको बुझाइ छ । ‘जसले जिते पनि यो प्रतियोगिता सफल हुँदा नेपालले जित्छ । बरु यस अवसरमा हामीले भिन्न ठाउँका साथीहरूसँग चिनजान गर्ने र आत्मीयता बढाउन पाएका छौं,’ उनले भनिन् । पार्किङ व्यवस्थापन, गाडी र टिकटको सहजता, मैदानभित्र शौचालयको उचित व्यवस्थापनमा प्रशस्त प्रश्न भए पनि सुरुवातकै चरणमा भएकाले सकारात्मक बन्दै अघि बढ्नुपर्नेमा उनको जोड छ ।
एनपीएलमा सातै प्रदेशको टिमका दर्शक एकसाथ भेला भएर खेल हेरिरहँदा मैदानमा कुनै उत्सवभन्दा कम रौनक देखिन्न । पहिले टीभी नहुँदा ठूला क्रिकेट खेल रेडियोमै ‘कमेन्ट्री’ सुनेर रमाउने अनुभव सुनाउने भक्तपुर ठिमीका ४१ वर्षीय शेखरविक्रम कार्की बुधबारै ११ वर्षीया छोरी शान्भीसहित मैदानमा भेटिए । देशमा चौतर्फी निराशा छाइरहेका बेला कीर्तिपुरमा जारी क्रिकेटको महाउत्सवले आशा, उमंग र उत्साह भरिदिने काम गरिरहेको छ ।
प्रदेशको प्रतिनिधित्व गर्ने गरी खेलिरहेका आठ टिमले सबै प्रदेशका दर्शकलाई आकर्षित गरेका छन्, जसले देशभित्रै एउटा साझा उत्सवको वातावरण निर्माण गरेको कार्कीको बुझाइ छ । ‘राजनीतिक रूपमा अहिले हामी निराश छौं । यस्तो बेला हरेक नेपालीलाई गर्व गर्ने ठाउँ क्रिकेटले दिएको छ,’ कार्कीले भने, ‘नेपालमै चर्चित विदेशी खेलाडीको उपस्थितिमा खेल हुँदा पछिल्लो समय परिवारका सदस्य एउटै ठाउँमा बसेर क्रिकेट हेर्ने आकर्षण पनि बढेको छ ।’ एनपीएलले आत्मीयता र भाइचारा बढाउने मात्र होइन, देशको पर्यटन र व्यापारमा पनि सकारात्मक प्रभाव पारिरहेको उनको बुझाइ छ ।
कीर्तिपुर मैदानमा आफ्नो टिमलाई हौसला दिन र खेल हेर्न बालबालिका, युवा, वृद्धवृद्धासम्मको उपस्थिति देखिन्छ । यीमध्ये कतिपय विभिन्न जिल्लाबाट लामो दूरी पार गर्दै काठमाडौं आइपुगेका छन् । कोहलपुरबाट कर्णाली याक्सलाई समर्थन गर्न आएका कविराजसिंह ठकुरीसहितको सात जनाको समूह कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आएको थियो । कोहलपुरमा हुर्किए पनि जन्मस्थान कर्णालीप्रति लाग्ने मायाले नै ठकुरीलाई यहाँसम्म ल्याएको हो ।
‘हामी गाउँबाट खेल हेर्नकै लागि आएका हौं । बानेश्वरमा साथीको कोठा थियो, राति त्यहीं सुत्थ्यौं र दिउँसो खेल हेर्न आउँथ्यौं,’ ठकुरीले भने, ‘खेल हेर्न भनेर घरबाटै खर्चको व्यवस्था गरेर आएका थियौं । हाम्रो टिम बाहिरिएपछि फर्कियौं ।’
एनपीएलका लागि नेपाली समर्थकको क्रेज कतिसम्म बढिसकेको छ भन्ने बुझ्न विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय खेल हुँदा कीर्तिपुर मैदान छपक्कै ढाक्ने दर्शकको उपस्थितिले नै बताउँछ । नेपाल क्रिकेट संघ (क्यान) ले बिक्रीका लागि राखेका टिकट प्रायः २४ घण्टा नबित्दै भीआईपी र सामान्यतर्फका सबै टिकट बिक्री भइसक्छन् ।
पहिलो संस्करणमा भौतिक रूपमा मैदानमा नै उपस्थित भएर खेल हेर्नेको संख्या १ लाख ५० हजारभन्दा बढी रहेको क्यानको तथ्यांक छ । ६ करोडभन्दा बढीले यस संस्करणका खेल विभिन्न माध्यमबाट हेरेका थिए । प्रत्येक खेलका औसत दर्शक टेलिभिजन, युट्युबलगायतका अनलाइन प्लाटफर्ममा १५ लाखभन्दा बढी रहेको क्यानको अनुमान छ ।
पहिलो संस्करणमा एनपीएलबाट पाठ सिक्दै अहिले सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । टिकटबाहेक मैदान बाहिर दर्शकको भीड नहोस् भनेर त्रिभुवन विश्वविद्यालयको गेटबाटै टिकटबिना प्रवेश निषेध गरिएको थियो । घुम्न, किनमेल गर्न या कुनै पारिवारिक अथवा सरकारी कामका लागि मात्र काठमाडौं आउने परम्परामा गत वर्षबाट आफ्नो टिम, खेलाडी र क्षेत्रको समर्थन गर्दै कीर्तिपुरस्थित क्रिकेट मैदानसम्मै खेल हेर्न आउनेहरू पनि थपिएको बुटवलबाट आएका दीपक लम्सालले बताए ।
नेपाली दर्शकको क्रिकेट ‘क्रेज’ को तारिफ केवल देशभित्र मात्र नभई विश्वभर फैलिइसकेको छ । छिमेकी मुलुक भारतले २००८ मा इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु गरेपछि त्यसले बहुआयामिक प्रभाव पार्यो । त्यसपछि त्यसको सिको सबैतिर हुन थाल्यो ।
अस्ट्रेलियामा बिग बास, वेस्ट इन्डिजमा क्यारेबियन प्रिमियर लिग, इंग्ल्यान्डमा द हन्ड्रेड, दक्षिण अफ्रिकामा रामस्लाम टी–ट्वान्टी च्यालेन्ज, बंगलादेशमा बीपीएल, पाकिस्तानमा पीएसएल र श्रीलंकामा लंका प्रिमियर लिग हुँदै आएका छन् । यसले लिग खेलप्रति सर्वसाधारणको व्यापक लगाव मात्र बढाएको छैन, ती देशको खेलस्तरसँगै देशको अर्थतन्त्र पनि उकासिएको छ ।
नेपालमा पनि क्यानले एनपीएल सुरुवात गर्नु नेपाली खेलप्रेमीका लागि महाउत्सव हो । यस पालिको एनपीएलमा राम्रो डिजेसहित मनोरञ्जनको व्यवस्था थप गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए । यस पटक फ्लडलाइट राखेपछि राति पनि क्रिकेट खेल्न मिलेपछि कर्मचारीहरूले समेत अफिस सकेर खेलको अवलोकन गर्न पाएका छन् ।
एनपीएलका खेल हेर्न कीर्तिपुर पुगेका काठमाडौं चाबहिलका आदित्यराज घिमिरे नेपाल ट्वान्टी–२० विश्वकप क्रिकेटमा पुगेपछि नेपालमा क्रिकेटको ‘क्रेज’ ह्वात्तै बढेको बताउँछन् । नेपाल प्रिमियर लिग हेर्नकै लागि विश्व क्रिकेटकै महान् हस्ती वेस्ट इन्डिजका खेलाडी ब्रायन लारा नेपाल आउनु, विश्वकै उत्कृष्ट खेलाडी न्युजिल्यान्डका मार्टिन गुप्टिल, भारतका शिखर धवन, श्रीलंकाका लाहिरू मिलन्था जस्ता खेलाडीको एनपीएलमा सहभागिता हुनुले घरेलु दर्शकको मात्र नभई विश्वकै ध्यान तानेको उनको भनाइ छ ।
विदेशमा रहेका नेपालीमा पनि क्रिकेटको क्रेज कम छैन । १० वर्षअघि नवलपुल गैंडाकोटबाट अस्ट्रेलिया पुगेका गणेश वाग्ले एनपीएल खेल हेर्न सुत्ने समयसमेत मिलाउनुपरेको बताउँछन् । ‘हामी यहाँ परिवारका सबै मिलेर हेर्छौर्ं’ वाग्लेले भने, ‘नेपाली होटलहरूमा साथीभाइ भेला भएर वा आफ्नै अपार्टमेन्टमा एकै ठाउँमा जम्मा भएर पनि खेल हेरेको देखिन्छ ।’
बेलायतमा रहेका चितवनका सञ्जीव ओझाले पनि एनपीएलले विदेशी भूमिमा समेत उत्सव ल्याएको जनाए । नेपालमा एनपीएल सुरु भएपछि यहाँका साथीहरूले समेत आफ्नो टिमको जर्सी किनेको र भेटघाट हुँदा साथीभाइसँग खेलबारे नियमित छलफल हुने गरेको उनले सुनाए ।
एनपीएलले गाउँगाउँमा समेत खेलको वातावरण बनाएको रोयल क्रिकेट एकेडेमी नवलपुरका सञ्चालक तथा प्रशिक्षक सन्तोष न्यौपानेको भनाइ छ । एनपीएलले गाउँगाउँमा क्रिकेट खेलप्रति सकारात्मक सन्देश प्रवाह गरेको उनले जनाए । ‘पहिले स्कुल बिदा हुँदा मात्र एकेडेमी सञ्चालन हुन्थ्यो । तर अहिले अभिभावक नै बालबालिका लिएर एकेडेमी आउनुहुन्छ,’ न्यौपानेले भने, ‘सीमित महिनामा मात्र सञ्चालन हुने हाम्रो एकेडेमी अहिले १२ महिना नै सञ्चालनमा छ ।’
