एनपीएल : नेपाली क्रिकेटको जित

एउटा भाष्य जस्तै थियो, नेपाली खेलकुदले केही ठूलो गर्न सक्दैन, तर अब होइन, एनपीएलको लगातार दोस्रो सिजनको सफल आयोजनाले तय गरेको छ, नेपाली खेलकुदले अब केही गर्नेछ।

मंसिर २७, २०८२

हिमेश, विनोद पाण्डे

NPL: Nepali cricket wins

What you should know

काठमाडौँ — एक महिना जतिको व्यापक चहलपहल र चर्चाबीच शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले विश्राम लिनेछ । कीर्तिपुरको पुनर्निर्मित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच फाइनल प्रतिस्पर्धा हुनेछ ।

एनपीएलको सिजन–२ सुरु हुनु अगाडिसम्म पनि केही प्रश्न थिए । प्रतियोगिता समयमै हुनेमा शंका थियो । भइहाले पनि फ्लडलाइटमा नहोला भन्ने चिन्ता थियो । एकखाले डर कायम थियो ।

अन्ततः त्यसलाई चिर्दै यसपल्टको एनपीएलले सुखद अन्त्य खोज्दै छ । अब एउटै प्रश्न बाँकी छ, उपाधि कसले जित्नेछ ? सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ? त्यससँगै जोडिएर अर्को प्रश्न पनि छ, उत्कृष्ट खेलाडी को हुने हुन् ? अब यी सबै प्रश्नको उत्तर शनिबार साँझ आउनेछ ।  

त्यसअगाडि नै सबैले एउटा मूलभूत प्रश्नको उत्तर भने पाइसकेका छन् । त्यो हो, एनपीएलमा कोही कसैले साँच्चै जित्यो भने त्यो नेपाली क्रिकेटले नै हो । हार्नुपरेको भने कसैले छैन । एउटा भाष्य जस्तै थियो, नेपाली खेलकुदले केही ठूलो गर्न सक्दैन । जहाँ छ, त्यहीं रहिरहनेछ । नेपाली खेलकुदका लागि विडम्बना नै हो, अरूले राम्रो गरेर अगाडि बढ्ने, हामी भने हेरिरहने । तर अब होइन, एनपीएलको दोस्रो सिजनको सफल आयोजनाले तय भएको छ, नेपाली खेलकुदले पनि अब केही गर्नेछ ।

नेपाली खेलकुदले स्वयं देशकै प्रतिनिधित्व गरिरहेको छ । पछिल्लो समय राजनीतिक परिस्थिति र प्राकृतिक प्रकोप अन्योलले देशलाई छोपिरहेका बेला एनपीएलबाट आम नेपालीसामु खुसी हुने एउटा बहाना मिलेको छ ।

भलै, एनपीएल नेपालको आफ्नै घरेलु फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो, तर यसको सफल आयोजनाले नेपाल ठूल्ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न सक्षम छ भनेर देखाएको छ । यो विशेषतः लागू हुने त क्रिकेटमै हो । तय छ, अब नेपालमा हुने भनिएको अहिलेसम्मकै सबैभन्दा ठूलो महिला ट्वान्टी २० विश्वकपको छनोट रोकिने छैन । 

विश्व क्रिकेटसामु नेपालबाट एउटा सुखद सन्देश गएको छ । यो देश आईसीसीको एसोसिएट सदस्य मात्र हो । तर यहाँको क्रिकेटमा केही विशेष छ । यहाँका खेलप्रेमी विशेष छन् । धेरै अगाडिदेखि नेपाली खेलकुदको एउटा सपना थियो, यो देशलाई अन्तर्राष्ट्रिय क्रिकेटको एउटा गन्तव्य बनाउने । सम्भवतः अब त्यसतर्फ अग्रसर हुने दिन सुरु हुँदै छ । जति बेला एउटा प्रतियोगिताको सफलतापूर्वक आयोजना हुन्छ, त्यसलाई लिएर उठेका प्रश्न आफैंमा कमजोर हुने गर्छन् । 

यो भनेको एनपीएलले सुखद अन्त्य खोजेको भन्नु नै हो । यसपल्टको प्रतियोगिता यत्तिकैमा मात्र टुंगिन्न । यो प्रतियोगितालाई हेर्ने अन्य केही खास–खास दृष्टिकोण पनि विकसित भएका छन् । त्यसमध्ये एउटा तथ्य हो, आम दर्शकको अपार सहभागिता । त्रिवि क्रिकेट मैदानमा टिकट काटेर हेर्न जाने दर्शकको कहिले कमी देखिएन । केही खास खेलमा दर्शकको केही कमी पनि देखियो तर समग्रमा दर्शकको अभाव हुँदै भएन । बरु प्रत्यक्ष खेल हेर्न नपाएको गुनासो गर्ने धेरै रहे । 

टेलिभिजनबाट सक्दो खेल हेर्ने उत्तिकै रहे अनि ओटीटीबाट पनि त्यत्तिकै । जुन खेललाई दर्शकले धेरै माया गर्छन्, त्यो खेललाई अगाडि बढ्न कहिल्यै दुःख हुन्न । टेस्ट मान्यता पाएका कतिपय देशमा दर्शकबिना क्रिकेट हुने गर्छ । इंग्ल्यान्ड, अस्ट्रेलिया र भारतलाई छाडेर नेपाल नै अब त्यस्तो देश भएको छ, जहाँ खेल हेर्नेहरू भएनन् भनेर चिन्ता लिनु परोस् । यो हामीले मात्र भनिरहेका छैनौं, विदेशी मिडियादेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नै यस्तो भनिरहेको छ । 

त्यसैले एनपीएल दोस्रो सिजनले विदेशतिर वाहवाही नै पायो । दोस्रो तथ्य, मैदानमा प्रतिस्पर्धात्मक क्रिकेट नै भयो । असली सुखको कारण यो पनि हुनुपर्छ । खेलका आधारमा एउटा प्रतियोगिता सफल हुन जे जस्तो आवश्यकता थियो, त्यो सबै यसपल्टको एनपीएलमा देखियो । शतकदेखि ६ विकेटको प्रदर्शन, ह्याट्रिक विकेटदेखि बाउन्ड्रीमा अद्भुत क्याच । सटीक रनआउटसँगै ‘वाह’ भन्न लायकको फिल्डिङ । खासमा ब्याट र बलबीच समान रूपमा प्रतिस्पर्धा चल्यो । 

असाध्यै धेरै नाम चलेका विदेशी खेलाडीले पनि एनपीएलका लागि नेपाललाई आफ्नो गन्तव्य बनाए । त्यसैअनुसार प्रदर्शन पनि गरे । केही हदसम्म खेलमा विदेशी खेलाडी हाबी देखिए । तर कुनै पनि देशको खेल स्तर बढाउने हो भने यो अत्यावश्यक मूलभूत आवश्यकता हो । नेपाली खेलाडीले विदेशी सहकर्मीबाट धेरै सिक्ने मौका पाएका छन् । तिनको रहनसहन, खानपिन र अनुशासनको आयाम नजिकबाट हेर्ने अवसर नेपाली खेलाडीले पाएका छन् ।

नेपालले पछिल्लो पटक अमेरिकामा भएको ट्वान्टी–२० विश्वकप खेल्न पाउनुको एउटा ठूलो कारण एनपीएलको पहिलो सिजन प्रमुख थियो । त्यसमै टिकेर नेपाल अब भारत र श्रीलंकामा हुने अर्को संस्करणको विश्वकपका लागि छनोट भइसकेको छ । तय छ, यो सिजनको एनपीएलले अबको विश्वकपमा नेपाललाई अझ राम्रो खेल्न प्रेरित गर्नेछ । अबको विश्वकपमा नेपालले अझ बढी आत्मविश्वासी भएर खेल्न सक्नेछ । 

यति भन्दाभन्दै प्रतियोगिताको तारिफले मात्र पनि यो एनपीएललाई परिपक्व बनाउने छैन । यसपल्टको प्रतियोगितामा पनि धेरै कमजोरी देखिए । जसले गर्दा आयोजकका रूपमा नेपाल क्रिकेट संघ (क्यान) सच्चिनुपर्ने र सुधार हुनुपर्ने ठाउँ अझ धेरै छन् । विशेषतः प्रतियोगिताको आयोजनालाई लिएर यससँग जोडिएका सबै तथ्य पारदर्शी हुन आवश्यक छ । कुनै पनि निर्णय र त्यसको कार्यान्वयन जति पारदर्शी भयो, त्यो त्यति नै राम्रो । 

अम्पायरिङको स्तरमा अझै सुधार आवश्यक देखिएकै छ । अनि करोडौं खर्च गर्ने टिमले कमाउनेचाहिँ कहिले ? यी प्रश्नको पनि उत्तर चाहिन्छ । फ्रेन्चाइच क्रिकेटको एउटा अर्को ठूलो विशेषता के हो भने यसमा कुनै ठूलो समस्या देखियो भने त्यसले पूरा प्रतियोगितालाई नै डुबाउन सक्छ । फ्रेन्चाइज क्रिकेट जहींतहीं उत्तिकै सफल भएका छैनन् । यस्ता प्रतियोगिता आयोजना गर्नु आफैंमा ठूलो त हो नै, तर यसलाई निरन्तरता दिनु अझ धेरै गाह्रो छ । त्यसैले यसतर्फ नजर अन्दाज गर्न छुट हुने छैन । 

एनपीएलको तेस्रो सिजन लाग्दा यो प्रतियोगिता दुई वर्ष पूरा हुनेछ अनि यसले हिँड्न थाल्नेछ । हिँड्न खोज्दा ठेस लाग्नेछ भनेर सचेत त हुनु नै पर्‍यो । त्यसको अर्थ क्यानमाथि जिम्मेवारी अझै धेरै थपिएको छ, उसले ती सबैलाई काँध थाप्नै पर्छ । 

उत्तिकै महत्त्वपूर्ण फरक तथ्य पनि छ । नेपाली क्रिकेट खालि ट्वान्टी–२० ढाँचामै मात्र अल्झिरहनु भएन । असली क्रिकेट भनेको अझै पनि एकभन्दा बढी दिनका लागि खेलिने खेल नै हो । एनपीएल अब त्यसलाई टेवा दिन सक्ने प्रतियोगिता पनि हुनुपर्छ । अहिले तत्कालका लागि भने हाम्रा पूरा ध्यान फाइनलमै हुनुपर्छ ।

फाइनलमा एकातर्फ सुदूरपश्चिमका रूपमा त्यस्तो टिम छ, जसलाई प्रतियोगिताको दुवै सिजनमा सबैभन्दा बलियो र सफल मान्न सकिन्छ । सुदूरपश्चिम रोयल्सले आफूलाई पारम्परिक रूपमा अब्बल सावित गरेको छ । अर्कोतर्फ लुम्बिनी त्यस्तो टिम देखिएको छ, जसले सबै आलोचकलाई अचम्ममा पारेको छ । प्रतियोगिताबाटै बाहिरिने संघारमा रहेर पनि यो टिम फाइनल पुगेको छ । त्यसैले तय के पनि छ भने फाइनल सबै अर्थमा एउटा हेर्नलायक खेल हुनेछ । जो च्याम्पियन भए पनि त्यो नयाँ हुनेछ ।

हिमेश

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully