कडा बलिङ प्रदर्शनसँगै लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै सुदूरपश्चिमविरुद्ध फाइनलमा स्थान सुरक्षित गरेको छ।
What you should know
काठमाडौँ — कसिलो बलिङ गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । लुम्बिनीले बिहीबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा क्वालिफायर २ मा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्यो ।
टस जितेपछि ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सकेको थियो । तिलकराज भण्डारीले ३ विकेट लिएपछि जबाफमा आएको विराटनगर १७.५ ओभरमा ९४ रनमै अलआउट भयो । विराटनगर लगातार दोस्रो खेलमा १ सय रन मुनि अलआउट भएको हो ।
लुम्बिनीले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । लगातार पाँचौं खेल जित्दै लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो । लुम्बिनीले इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको थियो भने विराटनगर क्वालिफायर १ मा सुदूरपश्चिमसँग ७७ रनले पराजित भएको थियो ।
लेग ब्रेक बलर तिलकले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । अभिशेष गौतम तथा नामिबियन जोडि रुबेन ट्रम्पलमन र जेजे स्मिटले २ तथा शेर मल्लले १ विकेट लिए । अभिशेषले ४ ओभरमा २२, ट्रम्पलमनले ३ ओभरमा ९ र स्मिटले २.५ ओभरमा १५ रन खर्चेका थिए ।
ब्याटिङले भरिपूर्ण विराटनगरले ६ रन बनाउँदा नै महत्त्वपूर्ण ३ विकेट गुमाएको थियो । ट्रम्पलमनले लगातार बलमा मार्टिन गप्टिललाई २ र लोकेश बमलाई शून्यमा आउट गरेका थिए । अर्को ओभरमा शेरले फाफ डु प्लेसिसलाई ३ रनमा बोल्ड गरे ।
शंकर राना ७ रनमै आउट भए । साम हेजलेटले विराटनगरबाट सर्वाधिक ३४ रन बनाए । उनले २८ बल खेली समान २ चौका र छक्का प्रहार गरे । मर्च्येन्ट डी ल्याङ्गे १७, बसिर अहमद र कप्तान सन्दीप लामिछाने समान ३, प्रतिश जिसी २ रनमा आउट भए ।
नरेन भट्ट आउट हुने अन्तिम खेलाडी थिए । उनले २१ बल खेली १ चौका र २ छक्कासहित २१ रन बनाए
यसअघि कप्तान रोहित पौडेल र डी’आरसी शटले अर्धशतकीय साझेदारी गरे पनि लुम्बिनीले ठूलो स्कोर बनाउन सकेन । दिनेश अधिकारी दोस्रो ओभरमै १ रन बनाई दोस्रो ओभरमा आउट भएपछि रोहित र शटले दोस्रो विकेटमा ५४ बलमा ६९ रनको साझेदारी गरेका थिए । रोहितले ३० बल खेली समान २ चौका र छक्का प्रहार गर्दै ३० रन बनाई सुवास भण्डारीबाट बोल्ड भए ।
सानदार बलिङ गरेका सुवासको तेस्रो सिकार शट भए । शटले ४१ बल खेल्दै ३ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाए । सन्दीप जोरा र स्मिट शुन्य तथा दीलिप नाथलाई १ रनमा आउट गरी विराटनगर खेलमा फर्किएको थियो । शेर ७ बलमा ७ रन बनाई आउट भए । ट्रम्पलमन ११ र अभिशेष २ रनमा अविजित रहे ।
विराटनगरबाट सुवास र प्रतिशले ३–३ विकेट लिए । सुरुको ३ विकेट लिएका सुवासले ४ ओभरमा १४ रनमात्र खर्चेर टोलीमा फर्किएको निर्णयलाई सही साबित गरे । प्रतिसले ४ ओभरमा २७ रन खर्चे । सन्दीपले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।
