दिनेश अधिकारी दोस्रो ओभरमै १ रन बनाई दोस्रो ओभरमा आउट भएपछि रोहित र शटले दोस्रो विकेटमा ५४ बलमा ६९ रनको साझेदारी गरेका थिए ।
What you should know
काठमाडौँ — कप्तान रोहित पौडेल र डी’आरसी शटले अर्धशतकीय साझेदारी गरे पनि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर २ मा विराटनगर किंग्सविरुद्ध ठूलो स्कोर बनाउन सकेन ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले बिहीबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्तो दिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सक्यो ।
दिनेश अधिकारी दोस्रो ओभरमै १ रन बनाई दोस्रो ओभरमा आउट भएपछि रोहित र शटले दोस्रो विकेटमा ५४ बलमा ६९ रनको साझेदारी गरेका थिए । रोहितले ३० बल खेली समान २ चौका र छक्का प्रहार गर्दै ३० रन बनाई सुवास भण्डारीबाट बोल्ड भए ।
सानदार बलिङ गरेका सुवासको तेस्रो सिकार शट भए । शटले ४१ बल खेल्दै ३ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाए । सन्दीप जोरा र जेजे स्मिट शून्य तथा दिलीप नाथलाई १ रनमा आउट गरी विराटनगर खेलमा फर्किएको थियो । शेर मल्ल ७ बलमा ७ रन बनाई आउट भए । रुबेन ट्रम्पलमन ११ र अभिषेष गौतम २ रनमा अविजित रहे ।
विराटनगरबाट सुवास र प्रतिश जिसीले ३–३ विकेट लिए । सुरुको ३ विकेट लिएका सुवासले ४ ओभरमा १४ रनमात्र खर्चेर टोलीमा फर्किएको निर्णयलाई सहि सावित गरे । प्रतिसले ४ ओभरमा २७ रन खर्चे । सन्दीपले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।
विराटनगर क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो भने लुम्बिनीले इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको थियो । यस खेल जित्ने टोलीले शनिबार सुदूरपश्चिमसँग शनिबार फाइनल खेल्ने छ ।
