बलर हाबी भएको खेलमा लुम्बिनीको जित

काठमान्डुलाई ४ विकेटले हराएको लुम्बिनी लायन्स बिहीबार क्वालिफायर २ मा विराटनगर किंग्ससँग खेल्दै, विजेता टिमले शनिबार सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्ने

मंसिर २५, २०८२

विनोद पाण्डे

Lumbini wins in a bowler-dominated match

काठमाडौँ — लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबीच बुधबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा प्रतिस्पर्धा भएको यस्तो खेल बन्यो, जहाँ दुवै टोली एकै खेलाडीको प्रशंसा गर्न व्यस्त रहे । एनपीएल सिजन २ मा शेर मल्ल ‘खोज’ जस्तै भएका छन् । उनकै सानदार बलिङमा लुम्बिनीले काठमान्डुलाई ४ विकेटले हरायो । लुम्बिनीका कप्तान रोहित पौडेल र काठमान्डुका प्रशिक्षक मोन्टी देसाई दुवै प्लेयर अफ द म्याच शेरको बलिङबाट प्रफुल्लित रहे । 

टस जितेर ब्याटिङ गरेको काठमान्डु बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १९.१ ओभरमा १ सय ११ रनमा अलआउट भयो । जवाफमा लुम्बिनीले १७.४ ओभरमै लक्ष्य पुरा गरेको थियो । लुम्बिनीको यो लगातार चौथो जित हो । लिग चरणको अन्तिम ३ खेल जितेर लुम्बिनीले प्लेअफमा स्थान बनाएको थियो । शेर मल्ल र कप्तान रोहितले ३–३ विकेट लिए । शेरले ४ ओभरमा २२ र रोहितले ४ ओभरमा २५ रन खर्चिए । रुबेन ट्रम्पलमनले ३.१ ओभरमा १० रन खर्चेर २ र अभिषेक गौतमले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए ।

‘लाइटमा बल टर्न हुँदैन जस्तो लागेको थियो, त्यही भएर हामीले पनि टस जितेको भए पहिला फिल्डिङ गर्ने थियौं,’ लुम्बिनीका कप्तान रोहितले भने, ‘जुन हिसाबले हामीले बलिङ गर्‍यौं, विशेष गरी शेर र ट्रम्पलमनको बलिङमा । पावर प्लेमा ४–५ विकेट लियो भने निश्चय पनि अर्को टोली ब्याकफुटमा जान्छ । त्यसैले उनीहरूले एकदमै राम्रो बलिङ गरेजस्तो लाग्छ ।’ अफब्रेक बलर शेरले प्रतियोगितामा १३ विकेट लिइसकेका छन् । 

‘शेर हाम्रा लागि निकै राम्रो पक्ष हो, विशेष गरी बलिङमा । जतिबेला बलिङ दिए पनि उसले ठ्याक्कै विकेट निकालिरहेको छ, महत्त्वपूर्ण र निर्णायक क्षणहरूमा उसले विकेट लिएको छ । टिमले यो जित्दा यो निकै महत्त्वपूर्ण हुन्छ,’ रोहितले भने, ‘शेरले पावर प्लेमा पनि राम्रो गरिरहेका छन् । उनको बलिङमा भेरिएसन र एकरुपता देखिन्छ । त्यसैले उनको भविष्य राम्रो छ ।’ 

Lumbini wins in a bowler-dominated match

शेर एनपीएलको ‘खोज’ भएको उनको काठमान्डुका प्रशिक्षक मोन्टी बताउँछन् । उनले भने, ‘एनपीएलले शेर मल्ललाई अगाडि ल्याएको छ, उसले नयाँ बलमा राम्रो गरिरहेका छन् ।’ 

खेलको दोस्रो ओभर तथा आफ्नो पहिलो बलमा शेरले आकाश त्रिपाठीलाई १ रनमा आउटमा गरेपछि काठमान्डुको नियमित विकेट झरिरह्यो । तेस्रो नम्बरमा पठाइएका सन्नी पटेल पनि एक छक्का प्रहार गरे पनि ७ रन बनाई ट्रम्पलमनबाट एलबीडब्लू भए । 

ट्रम्पलमनले ओपनर बेन चार्ल्सवर्थलाई ४ रनमा कट बिहाइन्ड गरी लुम्बिनीलाई अर्को ठूलो सफलता दिलाए । मिलिन्द कुमारलाई २ रनमा शेरले नै बोल्ड गरे । भीम सार्कीले १ छक्का प्रहार गरी १६ बलमा १४ रन बनाए । रोहितले एकै ओभरमा भीम र जोहन सिम्पसनलाई आउट गरेर खेल पूर्ण रूपमा आफ्नो टोलीको नियन्त्रणमा राखेका थिए । 

Lumbini wins in a bowler-dominated matchभीमले लेगसाइडमा गएको बल एकहाते शट हान्न खोज्दा शर्ट फाइन लेगमा क्याच दिन पुगे । सिम्पसन १७ बल खेल्दै समान १ चौका र छक्कासहित १८ रनमा आउट भए । रशिद खानले २ रनमात्र बनाउन सके । त्यसपछि आएका मोहम्मद आदिल अन्सारीले २ छक्का र १ चौका प्रहार गर्दै ११ बलमा १८ रन बनाए । उनी पनि शेरको बोल्डको सिकार बने । 

कप्तान करण केसीले पनि १ छक्का प्रहार गर्दै ९ रन जोडे । सन्तोष यादवले काठमान्डुबाट सर्वाधिक २३ रन बनाए । आउट हुने अन्तिम खेलाडी सन्तोषले १७ बल खेल्दै १ छक्का प्रहार गरे । शाहब आलम ४ रनमा अविजित रहे । 

‘सबै टोलीलाई टसअघि विकेट कन्डिसन बुझ्न अप्ठयारो हुन्छ जस्तो लाग्छ । १ सय ४० रन राम्रो स्कोर हुन्छ जस्तो लागेको थियो । तर पावर प्लेलाई हामीले राम्रो सदुपयोग गर्न सकेनौं,’ प्रशिक्षक मोन्टीले भने, ‘हामीले आज दुई कुरा गुमायौं जस्तो लाग्छ । पहिलो उनीहरूले राम्रो बलिङ गरेको बल बुझ्न सकेनौं । अर्को कुन स्थितिमा कसरी खेल्ने भनेर पनि ठम्याउन सकेनौं र लगातार विकेट गुमाइरह्यौं ।’

Lumbini wins in a bowler-dominated matchलुम्बिनीले निकै संयमित ब्याटिङ गर्दै लक्ष्य पूरा गरेको थियो । ओपनिङ ब्याटिङमा ल्याइएका दिनेश अधिकारी ४ रनमै आउट भए । उनका जोडी डी’आरसी शटले सर्वाधिक ३३ रन बनाए । उनले ३४ बल खेल्दै २ छक्का प्रहार गरे । कप्तान रोहित १८ रनमा आउट भए । उनले २५ बलमा समान १ चौका र छक्का प्रहार गरे । 

सन्दीप जोराले प्रतिबलको हिसाबले २३ रन बनाए । उनले पनि समान १ चौका र छक्का प्रहार गरे । निरोशन डिकवेलाले १४ बल खेल्दै २ चौकासहित १४ रन जोडे । दिलीप नाथ ७ रनमा आउट भए । ट्रम्पलमनले विजयी चौका प्रहार गर्दै लुम्बिनीलाई जिताए । काठमान्डुका सन्तोषले २ तथा सन्नी, शाहब, करण र रशिद खानले १–१ विकेट लिए । 

Lumbini wins in a bowler-dominated matchकाठमान्डुमाथि लुम्बिनीको यो पहिलो जित हो । लुम्बिनीले बिहीबार क्वालिफायर २ मा विराटनगर किंग्ससँग खेल्नेछ । विजेताले सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणपछि काठमान्डु १० अंक जोडेर तेस्रो स्थनमा रहेको थियो । लुम्बिनी ८ अंकसहित चौथो स्थानमा थियो । लिगमा काठमान्डुले लुम्बिनीलाई २२ रनले हराएको थियो । गत वर्ष पनि काठमान्डु गोर्खाजले लुम्बिनीमाथि १८ रनको जित पाएको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully