कीर्तिपुरमा भएको खेलमा काठमान्डु १९.१ ओभरमा १११ रनमै समेटिँदा लुम्बिनीका शेर मल्ल र रोहित पौडेलले प्रभावशाली बलिङ गर्दै ३-३ विकेट लिए ।
What you should know
काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई सस्तैमा रोकेको छ ।
काठमान्डुका कप्तान करण केसीले बुधबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि टोली १९.१ ओभरमा १ सय ११ रनमा अलआउट भयो ।
शेर मल्ल र कप्तान रोहित पौडेलले ३–३ विकेट लिए । शेरले ४ ओभरमा २२ र रोहितले ४ ओभरमा २५ रन खर्चे । रुबेन ट्रम्पलमनले ३.१ ओभरमा १० रन खर्चेर २ र अभिशेष गौतमले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए ।
खेलको दोस्रो ओभर तथा आफ्नो पहिलो ओभरको पहिलो बलमै शेरले आकाश त्रिपाठीलाई १ रनमा आउटमा गरेपछि काठमान्डुको नियमित विकेट झरिरह्यो । तेस्रो नम्बरमा पठाइएका सन्नी पटेल पनि एक छक्का प्रहार गरे पनि ७ रन बनाई ट्रम्पलमनबाट एलबीडब्लु भए ।
ट्रम्पलमनले बेन चार्ल्सवर्थलाई ४ रनमा कट बिहाइन्ड गरी लुम्बिनीलाई अर्को ठुलो सफलता दिलाए । मिलिन्द कुमारलाई २ रनमा शेरले बोल्ड गरे । भीम सार्कीले १ छक्का प्रहार गरी १६ बलमा १४ रन बनाए । रोहितले एकै ओभरमा भीम र जोहन सिम्पसनलाई आउट गरी खेल पूर्णरुपमा लुम्बिनीको नियन्त्रणमा राखे ।
भीम लेग साइडमा गएको बल एक हाते सट हान्न खोज्दा सर्ट फाइन लेगमा क्याच दिन पुगे । सिम्पसन १७ बल खेली समान १ चौका र छक्का प्रहार गरी १८ रनमा आउट भए । रशिद खानले २ रनमात्र बनाउन सके । त्यसपछि आएका मोहम्मद आदिल अन्सारीले २ छक्का र १ चौका प्रहार गर्दै ११ बलमा १८ रन बनाए । उनलाई शेरले बोल्ड गरे ।
करणले पनि १ छक्का प्रहार गर्दै ९ रन जोडे । सन्तोष यादवले काठमान्डुबाट सर्वाधिक २३ रन बनाए । आउट हुने अन्तिम खेलाडी सन्तोषले १७ बल खेली १ छक्का प्रहार गरे । शाहव आलम ४ रनमा अविजित रहे ।
यस खेल जित्ने टोलीले बिहीबार क्वालिफायर २ मा विराटनगर किंग्ससँग खेल्ने छ र विजेता टोलीले सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ ।
काठमान्डुले अघिल्लो खेल खेलेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरेको छैन । लुम्बिनीले सुमित महर्जनको स्थानमा दीनेश अधिकारीलाई खेलाएको छ । प्रतियोगितामा यो उनको दोस्रो खेल हो । चितवन राइनोजविरुद्धको खेलमा उनी टोलीमा रहे पनि ब्याटिङ र बलिङ भने गरेका थिएनन् ।
लिगचरण पश्चान काठमान्डु १० अंक जोडि तेस्रो स्थनमा रहेको थियो । लुम्बिनी ८ अंकसहित चौथो स्थानमा रहेको थियो । लिगचरणमा काठमान्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो । गत वर्ष पनि काठमान्डुले लुम्बिनीलाई १८ रनले पराजित गरेको थियो ।
