कलेजका अनुसार खेलमा हरेक चौकामा ४ र हरेक छक्कामा ६ वटा गरी कफीका बिरुवा रोप्ने निर्णय गरिएको हो ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को एजुकेसनल पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले एनपीएलमा प्रहार हुने चौका र छक्काका आधारमा कफीका बिरुवा रोप्ने घोषणा गरेको छ । कलेजका अनुसार खेलमा हरेक चौकामा ४ र हरेक छक्कामा ६ वटा गरी कफीका बिरुवा रोप्ने निर्णय गरिएको हो ।
‘कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगार सिर्जना गर्न तथा ग्रामीण समुदायसँग कलेजको सहकार्य थप सुदृढ बनाउन मद्दत गर्नेछ,’ कलेजका अध्यक्ष लक्ष्मण केसीले भने ।
यो वर्ष रोपाइँका लागि स्थान भने अझै निश्चित गरिएको छैन । उपयुक्त भू–भाग पहिचानका लागि मूल्यांकन कार्य जारी रहेको कलेजले जनाएको छ ।
कलेजका अनुसार शैक्षिक संस्था कक्षाभित्रको अध्यापनमै सीमित नभई ग्रामीण विकास तथा स्थानीय उत्पादन प्रवर्द्धनमा पनि सक्रिय हुनुपर्छ भन्ने मान्यताबाट यो अभियान सुरु गरिएको कलेजले जनाएको छ । कफी खेतीमार्फत ग्रामीण कृषकलाई प्रत्यक्ष सहयोग, तालिम तथा सम्भावित बजार पहुँच उपलब्ध गराउने योजनासमेत कलेजले ल्याएको छ ।
प्रेसिडेन्सियलले गत वर्ष उपत्यकाका विभिन्न स्थानमा ११ सय थरी–थरीका बिरुवा रोपेको थियो । त्यो समयमा हरेक चौकामा एक र छक्कामा दुईवटा बिरुवा रोपिने दर कायम गरिएको थियो ।
अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धनप्राप्त प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १५ वर्षदेखि व्यवस्थापन र पााच वर्षदेखि आईटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ ।
