तथ्यांकमा एनपीएल

फ्रेन्चाइज क्रिकेटको यो महाकुम्भमा फाइनलका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लाइन्स भिड्दै छन् । फाइनल यात्राका क्रममा एनपीएलको थुप्रै कीर्तिमान पुनरुत्थान भएका छन् (फाइनल खेलअघिसम्मको अपडेट)।

मंसिर २७, २०८२

विनोद पाण्डे

NPL in statistics

What you should know

काठमाडौँ — लगातार २७ दिनसम्म चलेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणले शनिबार ३२ औं खेलबाट बिट मार्दै गर्दा नयाँ विजेता पाउनेछ । फ्रेन्चाइज क्रिकेटको यो महाकुम्भमा फाइनलका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लाइन्स भिड्दै छन् । सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल खेल्दै छ भने लुम्बिनी पहिलो पटक ‘प्ले अफ’ हुँदै फाइनल पुगेको हो ।

फाइनल यात्राका क्रममा एनपीएलको थुप्रै कीर्तिमान पुनरुत्थान भएका छन् । सुदूरपश्चिमले लिग चरणमा लगातार ६ खेल जितेको थियो । लुम्बिनीले फाइनल जितेमा सुदूरपश्चिमको सोही कीर्तिमानको बराबरी गर्नेछ । एनपीएलमा बनेका केही कीर्तिमान यहाँ राखिएको छ ।

विनोद र रोहितसामु अवसर

एनपीएलको शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदा विनोद भण्डारी र रोहित पौडेलसामु सर्वाधिक रन बनाउने अवसर पनि हुनेछ । सुदूरपश्चिमका ओपनिङ ब्याटर विनोदले ८ खेलबाट २ सय ६४ र लुम्बिनीका कप्तान रोहितले ९ खेलबाट २ सय ६० रन बनाइसकेका छन् ।

NPL in statistics

पोखरा एभेन्जर्सका एडम रोसिङ्टन ७ खेलबाट ३ सय २३ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीमा विनोद र रोहितभन्दा अगाडि छन् । 

पोखरा लिग चरणबाटै बाहिरिएकाले विनोद र रोहितसामु रोसिङ्टनलाई उछिन्ने अवसर पनि छ । इंग्लिस ब्याटर रोसिङ्टनलाई उछिन्न फाइनलमा विनोदले कम्तीमा ६० र रोहितले ६४ रनको इनिङ्स खेल्नुपर्ने हुन्छ । यी दुवैमध्ये कसैले यो इनिङ्स खेलेमा सम्भवतः प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि बन्न सक्छन् ।

NPL in statistics

विनोदले यसअघि नै दुई अर्धशतक बनाइसकेका छन् । रोहित भने पहिलो अर्धशतकको खोजीमा छन् । लुम्बिनीकै डी’आरसी शटले ९ खेलमा २ सय ४२ रन बनाइसकेका छन् । रोसिङ्टनलाई उछिन्न मात्र उनले फाइनलमा ८२ रन बनाउनुपर्नेछ । 

NPL in statistics

सन्दीपलाई पछ्याउँदै अविनाश र शेर

विराटनगरका कप्तान सन्दीप लामिछानेले १७ विकेट लिइसकेका छन् । तर उनी र उनको टोली फाइनलमा हुने छैन ।

NPL in statistics

उनलाई पछ्याएका सुदूरपश्चिमका अविनाश बोहरा र लुम्बिनीका शेर मल्लले फाइनल पनि खेल्नेछन् । अविनाशले १६ र यस पटकको एनपीएलबाट चम्किएका शेरले १४ विकेट लिइसकेका छन् ।

NPL in statistics

सन्दीपलाई यी दुईमध्ये कसैले उछिनेमा यस पटकको मात्र होइन, एनपीएलको एकै संस्करणमा सर्वाधिक विकेट लिने खेलाडी बन्नेछन् । गत वर्ष सुदूरपश्चिमकै स्कट कुग्लेन र जनकपुरका ललित राजवंशीले समान १७–१७ विकेट लिएका थिए ।

NPL in statistics

यस पटक सुदूरपश्चिमकै हरमित सिंह र लुम्बिनीका रुबेन ट्रम्पलमन पनि सर्वाधिक विकेट लिने दौडमा छन् । दुवैले समान १२ विकेट लिएका छन् । 

०००

दुवै शतक विदेशी खेलाडीका नाममा

NPL in statistics

पोखराका इंग्लिस ब्याटर एडम रोसिङ्टन एनपीएलमा शतक बनाउने तेस्रो खेलाडी हुन् । उनले कर्णाली याक्सविरुद्ध अविजित १ सय ८ रन बनाएका थिए । कर्णालीका स्कटिस ब्याटर मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध १ सय १४ र गत वर्ष पोखराकै अमेरिकी खेलाडी आन्द्रिज गाउसले लुम्बिनीविरुद्ध नै १ सय ४ रन बनाएका थिए । वाटको स्कोर एनपीएलकै उच्च स्कोर पनि हो । 

NPL in statistics

रोसिङ्टनले ५५ र वाटले ४१ बलमै शतक पूरा गरेका थिए, जुन कम बलको हिसाबले एनपीएलकै सबैभन्दा छिटो शतक रह्यो । गाउसले ५४ बलमा शतक बनाएका थिए । कर्णालीका प्रिंयाक पाञ्चालले भने चितवनविरुद्ध ९० रनमा आउट भएपछि शतक क्लबमा आउने मौका गुमाए । 

स्टम्प पछाडि विनोद उत्कृष्ट

NPL in statistics

विकेटकिपरको भूमिकामा सर्वाधिक सिकार बनाउनेमा सुदूरपश्चिमका विनोद भण्डारी अगाडि छन् । उनले ७ क्याच र ३ स्टम्पिङ गरी १० सिकार बनाइसकेका छन् । विकेटकिपरको भूमिकामा उनी सर्वाधिक क्याच लिने खेलाडी हुन् । त्यसपछि सर्वाधिक ४ क्याच लिनेमा पोखराका एडम रोसिङटन र विराटनगरका लोकेश बम छन् । सर्वाधिक स्टम्पिङ गर्नेमा भने फाइनलअघि काठमान्डुका जोहन सिम्पसन अगाडि छन् । उनले ४ स्टम्पिङ गरिसकेका छन् ।

रोसिङटनका चौका र छक्का

पोखराका एडम रोसिङटन बाउन्ड्री प्रहार गर्ने सूचीमा अन्य खेलाडीभन्दा धेरै अगाडि छन् । उनले ३१ चौका र १९ छक्का प्रहार गरेका थिए । अर्थात् उनले २ सय ३८ रन बाउन्ड्री प्रहारबाटै बनाएका थिए । त्यसपछि सर्वाधिक चौका प्रहार गर्नेमा सुदूरपश्चिमका विनोद भण्डारी र लुम्बिनीका डीआरसी सर्ट छन् । दुवैले समान २३ चौका प्रहार गरेका छन् ।

सर्वाधिक छक्का प्रहार गर्नेमा कर्णालीका मार्क वाट रहे । उनले २१ छक्का प्रहार गरे । उनको नाममा १३ चौका पनि रहेको छ । लुम्बिनीविरुद्ध १ सय १४ रन बनाउँदा उनले १२ छक्का र ६ चौका गरी ९६ रन बाउन्ड्रीबाटै बनाएका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully