एनपीएलसँग साझेदारी गर्नेमा बैंकिङ क्षेत्र, दूरसञ्चार कम्पनी, इनर्जी ड्रिंक्स, दुईपांग्रे, चारपांग्रे सवारीसहित फिनटेक कम्पनीसहित डेढ दर्जन ब्रान्ड
What you should know
काठमाडौँ — अर्थतन्त्र सुस्त रहेका बेला नेपाल प्रिमियर लिग (एनपीएल) ले विज्ञापन बजारमा केही उत्साह र तरंग ल्याएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको खेल प्रतियोगिता राष्ट्रिय उत्सवका रूपमा स्थापित भएको र यसले लाखौं दर्शकलाई आकर्षित गर्दै कर्पोरेट जगत्को ध्यान खिचेको यसलाई नियाल्नेहरू बताउँछन् ।
यो वर्षको एनपीएल विगतभन्दा थप व्यवस्थित र राम्रो भएको क्यानका प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य छुम्बी लामाको भनाइ छ । विज्ञापनदाताहरूले एनपीएलको ब्रान्डलाई माया गरेको र चासो देखाएका कारण साझेदारी खोज्नेको संख्या बढेको उनले जनाए । ‘एनपीएलको ब्रान्डलाई माया गर्ने र जुन हिसाबले विभिन्न ब्रान्डहरू एसोसिएट हुनुभयो, त्यो विगतको तुलनामा बढेको छ,’ उनले भने, ‘यसपालि क्यानसँग १७/१८ ब्रान्ड जोडिएका छन् ।’
एनपीएलसँग साझेदारी गर्नेमा बैंकिङ क्षेत्र, दूरसञ्चार कम्पनी, पेय ब्रान्ड, दुईपांग्रे, चारपांग्रे सवारीसहित फिनटेक कम्पनीसमेत रहेका छन् । एनपीएलले टेलिभिजन, ओटीटी र अनलाइनमार्फत लाखौं दर्शक जुटाएको र हरेक दिन हजारौं दर्शक मैदानमा उपस्थित भएकाले ब्रान्डहरूका लागि ‘भिजिबिलिटी’ दिने प्रभावकारी कार्यक्रम बनेको लामाको भनाइ छ । यसपालि धेरै ब्रान्ड आफैं इच्छुक भएर क्यानसँग जोडिन आएको र यसबाट क्यानलाई मात्रै नभएर समग्र देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको उनको दाबी छ ।
यसपालि नेपाली ओटीटी प्लाटफर्म र नेपाली ब्रोडकास्टरबाटै एनपीएल प्रसारण गर्नु सुखद पक्ष रहेको र यसबाट साना विज्ञापनदाताहरूले पनि विज्ञापन राख्ने अवसर पाएको विज्ञापन संघका अध्यक्ष सुदीप थापाले बताए । यो सिजनले विज्ञापनदाताहरूमा विश्वास बढाएको र यसले समग्र अर्थतन्त्र गतिशील बनाएको उनले उल्लेख गरे ।
‘इभेन्ट र प्रत्यक्ष या अप्रत्यक्ष रूपमा १ सय करोड रुपैयाँ जतिको आर्थिक गतिविधि हुनु अहिलेको अवस्थामा निकै राम्रो कुरा हो,’ उनले भने, ‘विज्ञापनदाताहरूले तत्कालको लगानी प्रतिफल (आरओआई) विश्लेषण गर्नुभन्दा पनि एनपीएलसँग जोडिएर दीर्घकालीन फाइदामा रुचि देखाइरहेका छन् ।’ खेलकुदका कार्यक्रमहरूलाई प्रतिस्पर्धाभन्दा पनि उत्सवका रूपमा हेर्ने संस्कृति विकास भएको र यसले व्यावसायिक रूपमा आफूलाई प्रमाणित गरेको थापाको बुझाइ छ ।
राम्रो कन्टेन्टमा विज्ञापनदाता आकर्षित हुन्छन् भन्ने पनि एनपीएलले प्रमाणित गरेको थापाले बताए । ‘एनपीएलले धेरै दर्शकलाई मैदानमा र टेलिभिजनमा तान्न सफल भएकाले यसमा विज्ञापन पनि धेरै आयो,’ उनले भने, ‘मिडियामा गतिला कन्टेन्ट नभएर विज्ञापन कम भएको हो ।’ एनपीएलको पहिलो संस्करणको प्रभावले यसप्रति निजी क्षेत्रको विश्वास बढेको क्यान पदाधिकारीहरूको भनाइ छ ।
एनपीएलको मुख्य प्रायोजकका रूपमा सिद्धार्थ बैंक छ । एनसेल, ओमोडा, याङ्गो, पल्सर मोटरसाइकल, केएफसी, भिभो, वाईवाईलगायत ब्रान्ड क्यानसँग जोडिएका छन् । यसबाहेक, विभिन्न फ्रेन्चाइज टिमले पनि ब्रान्ड प्रायोजन पाएका छन्, उदाहरणका लागि राइड सेयरिङ कम्पनी याङ्गो लुम्बिनी लायन्स र वर्ल्डलिंक काठमान्डु गोर्खाजसँग मुख्य प्रायोजकका रूपमा आबद्ध रहे ।
क्यानका सचिव पारस खड्काले यसअघि दिएको जानकारीअनुसार एनपीएलसँग प्रत्यक्ष जोडिएका कर्पोरेट हाउसहरूको संख्या हाल ६० भन्दा बढी छ । क्यानले पहिलो संस्करणबाट २७ करोड रुपैयाँभन्दा बढी कमाएकामा यसपालि करिब ४० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । यस लक्ष्यमा विभिन्न प्रायोजकसँगको सम्झौताबाट १५ करोड ४० लाख रुपैयाँ, ओटीटी प्लाटफर्मबाट ५ करोडभन्दा धेरै र घरेलु प्रसारण अधिकारबाट करिब १ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । समग्रमा एनपीएलले अर्थतन्त्रमा एक अर्बभन्दा बढीको आर्थिक कारोबार गराउने अपेक्षा छ ।
एनपीएलमा ‘पावर्ड बाई’ पार्टनरका रूपमा जोडिएको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यस प्रतियोगितासँगको आफ्नो सहकार्यलाई अत्यन्तै सकारात्मक र उत्साहजनक बताएको छ । एनसेलले स्थापनाकालदेखि नै नेपालमा खेलकुद र प्रतिभा विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको र क्रिकेट युवामा आशा जगाउने खेल भएकाले यो सहकार्यलाई निरन्तरता दिएको कम्पनीले जनाएको छ । एनसेलले यस संस्करणमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने नारासहित साझेदारी गरेको छ ।
‘एनसेलका लागि क्रिकेट कुनै नयाँ क्षेत्र होइन, कम्पनीले सन् २०१४ मा क्यानको प्राविधिक सहयोगमा पहिलो घरेलु क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो,’ कम्पनीले कान्तिपुरसँगको इमेल अन्तर्वार्तामा भनेको छ, ‘एनसेलले आफ्नो वार्षिक मार्केटिङ र प्रायोजन क्षेत्रमा लगानी गर्ने रकमको ठूलो हिस्सा खेलकुदमा छुट्याउँदै आएको छ । यस्ता ठूला खेलकुद कार्यक्रमहरूलाई समर्थन गर्दा कम्पनीलाई ब्रान्डको भिजिबिलिटी सुदृढ गर्न, ग्राहकहरूसँग जोडिन र नेपालको खेलकुद इकोसिस्टमको विकासमा योगदान पुर्याउन मद्दत पुग्ने गरेको छ ।’
एनपीएलको प्रायोजनका कारण विभिन्न सूचकमा सकारात्मक परिवर्तन आएको कम्पनीको भनाइ छ । एनपीएलसम्बन्धी कन्टेन्ट, फ्यानहरूसँगको अन्तर्क्रिया र खेलसम्बन्धी अपडेटका कारण एनसेलको सामाजिक सञ्जाल एकाउन्टहरूमा इन्गेजमेन्ट उल्लेख्य बढेको कम्पनीले जनाएको छ । ‘क्रिकेटको यस उत्सवले डेटा प्याकहरूको खरिदमा पनि वृद्धि भएको छ,’ कम्पनीले भनेको छ, ‘एनसेलले एनपीएल
फ्यान प्याक र डिसहोम गो एपसँगको सहकार्यमा एनपीएल प्ले प्याकजस्ता विशेष प्याकहरू ल्याएको थियो । यसबीच नयाँ सिम लिनेहरूको संख्यामा पनि थोरै वृद्धि देखिएको छ ।’
एनपीएल आयोजक क्यान र यसका फ्रेन्चाइज टिमहरू आफैंले पनि ब्रान्डिङ र प्रचारप्रसारमा खर्च गरेका छन् । यसपालि सबै टिमको सामाजिक सञ्जाल एकाउन्ट ‘भेरिफाइड’ गरिएको छ भने त्यहाँबाट पनि मनग्गे प्रचारप्रसार गरिएको देखिन्छ । यहीबीच सट्टेबाजी (बेटिङ) सम्बन्धी केही कम्पनीको प्रचार–प्रसार गरेको विषयमा गत वर्षझैं यस पटक पनि क्यानलाई नियामक नेपाल विज्ञापन बोर्डले पत्र पठाएको थियो । बोर्डले गत १ भदौमा सूचना जारी गर्दै क्यानलाई सरोगेट बेटिङ प्लाटफर्मको विज्ञापन नगर्न सचेत गराएको थियो ।
