प्रतियोगिताको आकर्षण मैदानभित्रको प्रतिस्पर्धामा मात्र सीमित छैन, प्रसारण गुणस्तर, प्रस्तुति शैली र अन्तर्राष्ट्रियस्तरका आवाजहरूले पनि एनपीएललाई नयाा उचाइमा पुर्याइरहेका छन् । जसरी विदेशी ‘कमेन्टेटर’हरूको सहभागिताले प्रतियोगितामा नयाा ऊर्जा थपेको छ, थप व्यावसायिक र विश्वव्यापी बनाएको छ।
What you should know
काठमाडौँ — पहिलो संस्करणको एनपीएल तीन व्यक्तिका कारण चर्चामा रह्यो । पहिलो, महान् क्रिकेटर ब्रायन लाराको नेपाल आगमन । दोस्रो, भारतीय क्रिकेटर शिखर धवन कर्णाली याक्सबाट सहभागी । तेस्रो, एनपीएलमा पूर्व इङ्लिस क्रिकेटर डारेन गफको कमेन्ट्री । पहिलो संस्करणमा अरू पनि धेरै चर्चायोग्य सन्दर्भहरू रहे । तर चर्चाको शिखरमा यी तीन विषय थिए ।
दोस्रो संस्करणमा आइपुग्दा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्वरूप फेरियो । प्यारापिटमा कुर्सीहरू जडिए । र, मैदान नै झलमल्ल हुने गरी फ्लडलाइट पनि बल्यो । कीर्तिपुरमा बलेको फ्लडलाइटको प्रकाशले नेपाली क्रिकेट नै उज्यालिएको छ । यस पटकको एनपीएलमा दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसी मात्रै अटाएनन्, सँगै अटायो एनपीएलमा पहिलो पटक सुरु गरिएको नेपाली भाषाको कमेन्ट्री ।
एनपीएलले पछिल्ला वर्षमा क्रिकेटको दुनियाँमा आफ्नो पहिचान विस्तार गर्दै आएको छ । प्रतियोगिताको आकर्षण मैदानभित्रको प्रतिस्पर्धामा मात्र सीमित छैन, प्रसारण गुणस्तर, प्रस्तुतीकरण शैली र अन्तर्राष्ट्रियस्तरका आवाजहरूले पनि एनपीएललाई नयाँ उचाइमा पुर्याइरहेका छन् । जसरी विदेशी कमेन्टेटरहरूको सहभागिताले प्रतियोगितामा नयाँ ऊर्जा थपेको छ, थप व्यावसायिक र विश्वव्यापी बनाएको छ, त्यसैगरी नेपाली कमेन्ट्रीको प्रवेशले आशा र सकारात्मकता पनि प्रवाह भएको छ घरेलु क्रिकेट वृत्तमा ।
पहिलो सिजनमा कमेन्टेटरका रूपमा ६ विदेशी थिए, जसमा नेपाली क्रिकेट समर्थकमाझ चिरपरिचित आइरिस एन्ड्रयु लेनार्डसँगै इंग्ल्यान्डका पूर्वक्रिकेटर गफ, दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर एचडी अकरम्यान, क्यानडाकी पूर्वक्रिकेटर मोनाली पटेल, भारतीय पूर्वखेलाडी श्रीधरण श्रीराम र भारतीय पत्रकार मिखाइल वासवानी ।
पछिल्लो समय नेपाली क्रिकेट कमेन्ट्रीको पर्यायजस्तै बनेका आइरिस लेनार्ड अंग्रेजी कमेन्ट्रीका कारण भाषिक सीमिततामा खुम्चिनुपरेको नेपाली क्रिकेट समर्थकलाई नेपाली भाषाको कमेन्ट्रीले राहत दिएको बताउँछन् । भन्छन्, ‘नेपालमा अंग्रेजी नबुझ्ने दर्शक पनि छन्, जो नेपाली क्रिकेटलाई माया गर्छन् । उनीहरूका लागि नेपाली भाषामै कमेन्ट्री सुरु हुनु सुखद हो ।’
एन्ड्रयुसँगै यस पटक एनपीएलमा कमेन्ट्री गर्न आएका वेस्ट इन्डिजका विश्वकप विजेता कार्लोस ब्राथवेट, मिखाइल वास्बानी र पूर्वभारतीय क्रिकेटर आकाश चोपडासहितका कमेन्टेटर नेपाल र नेपालीको बखान गरेर थाकेनन् । धेरैजसो कमेन्टेटरहरूको शिरमा ढाकाटोपी सजिएकै हुन्थ्यो । उनीहरूले खेलकै दौरान नेपालीको आतिथ्य, यहाँको मनोरम दृश्य, खानपानबारे प्रशस्तै चर्चा गरेको सुनियो । स्टार स्पोर्टस्मा प्रसारण भएको प्रतियोगिता र अंग्रेजीमा गरिएको कमेन्ट्रीमा नेपालको चर्चाले विश्वव्यापी रूपमा प्रभाव पार्नेमा कुनै शंका छैन ।
सबै सामाजिक सञ्जालमा गरेर १ करोडभन्दा बढी फलोअर्स भएका भारतका पूर्वओपनिङ ब्याटर चोपडाले नेपालको प्राकृतिक सौन्दर्यको राम्रै बखान गरेका छन् । उनले लेखेका छन्, ‘स्वर्ग मिथ्या हो, नेपाल सत्य हो ।’ नेपाल आउँदा घर आएजस्तै लाग्ने भन्दै उनले नेपालीको क्रिकेट मोहको पनि तारिफ गरेका छन् । उनले लेखेका छन्, ‘नेपालीहरू क्रिकेटमै सास फेर्छन् ।’
आकाश भन्छन्, ‘यो सुन्दर देशमा आउन पाउँदा म साँच्चिकै धन्य छु । यहाँको वातावरण, यहाँका मान्छे र यहाँको ऊर्जा अद्वितीय छ ।’ उनले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र एनपीएलको व्यवस्थापनको पनि प्रशंसा गरेका छन् । आकाशका अनुसार नेपालमा बिताएको समय उनको जीवनका सुन्दर क्षणहरूमध्ये एक बन्न सफल भएको छ ।
समग्रमा भन्ने हो भने विदेशी कमेन्टेटरहरूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सिकेका प्रविधि, विश्लेषण शैली र जानकारीपूर्ण प्रस्तुतीकरण एनपीएलमा भित्र्याएका छन् । बल टु बल अपडेट, खेल रणनीति, फिल्ड सेटअपदेखि लिएर खेलाडीका व्यक्तिगत क्षमताबारे उनीहरूको दृष्टिकोण गहिरो र तथ्य–आधारित हुन्छ । यसले दर्शकलाई खेल बुझ्न झन् सजिलो र रोचक बनाएको छ ।
जब विश्वभर चर्चित वा अनुभवी कमेन्टेटरहरूको आवाज एनपीएल प्रसारणमा गुन्जिन्छ, दर्शकलाई ठूलो प्रतियोगिताको अनुभूति हुन्छ । एन्ड्रयु भन्छन्, ‘यस्तो आवाजले प्रतियोगितालाई ‘स्थानीय’ दायराबाट निकालेर ‘अन्तर्राष्ट्रिय’ आकर्षणको महसुस गराउँछ । यसले एनपीएलको ब्रान्ड मूल्यसमेत बढाउँछ । तर, नेपालीपनको आभास दिलाउन नेपाली भाषाकै कमेन्ट्री चाहिन्छ ।’
आफ्नो कमेन्ट्रीमा नेपालीपनको झल्को दिन केही नेपाली शब्दावली प्रयोग गर्न थालेको पनि उनले सुनाए । त्यसो त कमेन्ट्रीबाट फुर्सद मिल्नासाथ उनी दर्शकदीर्घामा पुगिहाल्छन् । ढाका टोपीमा रहने एन्ड्रयुसँग तस्बिर लिन र भिडियो खिच्न दर्शकको पनि उत्तिकै उत्साह रहन्छ । यसै कारण उनले यस पटकसमेत गरेर नेपालको ३५ औं भ्रमण गरिसकेका छन् । अझै धित नमरेको उल्लेख गर्दै उनले भने, ‘नेपाल जति पटक आए पनि मन अघाउँदैन । अझ क्रिकेटका लागि आउँदाको खुसी विशेष छ । म नेपाली पनि सिक्दै छु । तर, निकट भविष्यमै नेपालीमा कमेन्ट्री गर्न सक्नेचाहिँ हुँदिन कि !’
विदेशी कमेन्टेटरहरूकै कारण नेपाल बाहिरका दर्शकले पनि प्रसारणमा सहजता पाउँछन् । अंग्रेजी भाषामा गरिने विश्लेषण तथा व्यापक क्रिकेटीय ज्ञानले अन्तर्राष्ट्रिय क्रिकेटप्रेमीलाई खेलसँग जोड्न मद्दत गर्छ । यसरी एनपीएल विदेशी दर्शक, लगानीकर्ता र साझेदारलाई आकर्षित गर्ने सम्भावनासमेत बोकेको प्रतियोगिता हो ।
विदेशी कमेन्टेटरहरूसँग सहकार्य गर्नु नेपाली कमेन्टेटरका लागि सिकाइको ठूलो अवसर हो । कान्तिपुर म्याक्स एचडी २ मा यस पटकको एनपीएलको नेपाली कमेन्ट्री प्रस्तुत भयो । सचिन तिमल्सिना, किरण भट्टराई र हेमराज हमालको आवाजमा नेपाली दर्शकले एनपीएलको कमेन्ट्री सुन्न र हेर्न पाए । तिमल्सिना, हमाल र भट्टराई नेपाली कमेन्ट्रीमा नयाँ नाम हैन । अझ हमाल त फुटबल र भलिबलको पनि कमेन्ट्री गर्न भ्याउँछन् ।
‘एनपीएलमा आज नयाँ इतिहास रचिँदै छ । विराटनगर किङस र साविक विजेता जनकपुर बोल्ट्सबीचको खेलबाट एनपीएलमा अब नेपाली कमेन्ट्री पनि थपिएको छ । यहाँहरू सबैलाई यो कमेन्ट्रीमा स्वागत गर्छौं, किरण र हेमराजसँगै म सचिन’ भनेर नेपालीमा बोलेको तिमल्सिनालाई अझै याद छ । केही समयअघि मात्रै वेस्ट इन्डिज र नेपालबीच भएको तीन टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखलामा इयान बिसपसँगै कमेन्ट्री बक्स सेयर गरेका सचिन खेलको ज्ञानभन्दा पनि खेल बुझाउन र मैदानमा भएका अनेक गतिविधिलाई आवाजबाट बाँड्न कमेन्ट्री सहायक हुने विश्वास गर्छन् ।
विविध शैली, हास्य–व्यंग्य, क्रिकेटका रोचक तथ्य र खेलाडीका विश्वभरका अनुभवसमेत समेटेर विदेशी कमेन्टेटरहरूले प्रसारणलाई मनोरञ्जनात्मक बनाउने गरेको र त्यसलाई आफूहरूले पनि पछ्याउने उनले सुनाए । हजुरआमाको प्रेरणाले क्रिकेट सिक्न थालेका सचिनले क्षेत्रीयस्तरको क्रिकेट खेले तर उनलाई अन्तर्राष्टिय बनायो क्रिकेट कमेन्ट्रीले ।
अस्ट्रेलियामा पढाइका दौरान क्रिकेट खेल्ने गरेका किरण भट्टराईले उतै रहँदा नै कमेन्ट्री सुरु गरेका थिए । नेपाल फर्किएपछि पनि उनले अंग्रेजीमै कमेन्ट्री गरे । भन्छन्, ‘क्रिकेटको अन्य फर्म्याटभन्दा विशेषगरी टी–२० मलाई रमाइलो लाग्छ । टी–२० मा दर्शकलाई निरन्तर जानकारी र मनोरञ्जन चाहिने भएकाले हामी कमेन्ट्रीका दौरान थप ऊर्जा भर्ने गर्छौं ।’ तर, उनलाई कहिलेकाहीँ ठेट नेपाली शब्द नआउँदा भने आपत् पर्छ । क्रिकेटका अधिकांश शब्द/शब्दावलीहरू अंग्रेजीमै हुन्छन् । त्यसको ठ्याक्कै अनुवाद गर्न कठिन हुन्छ । यस्तो शब्दभण्डार राम्रो नहुनेले उत्कृष्ट कमेन्ट्री गर्न सक्दैन ।
नेपालीमा कमेन्ट्री सुरु भएपछि दर्शकमा पनि उत्साह छाएको छ । ‘यो त अब साँच्चिकै ठूलो लिगजस्तै महसुस हुन थाल्यो,’ काभ्रेका रोशन लामाले उत्साहपूर्वक भने । उनका लागि विदेशी कमेन्ट्री केवल भाषाको कुरा थिएन, यो त अनुभव, हैसियत र अन्तर्राष्ट्रिय परिचयको संकेत थियो । प्रत्येक रन, प्रत्येक विकेट, प्रत्येक क्याचलाई उनीहरूले आफ्नो शैलीमा बाँधेर प्रस्तुत गर्दा, एनपीएल ‘स्थानीय’ शब्दको सीमाबाट पर धकेलिन थालेको थियो । अहिले बल्ल रोशनले आफ्नोपनको आभास क्रिकेटमा भेटेका छन् जसलाई नेपाली कमेन्टेटरहरूले बुझिने गरी प्रस्तुत गर्छन् ।
हेमराज हमाललाई कमेन्ट्री बुथमा विदेशी कमेन्टेटरले क्रिकेटको भाषा बोलेको हेर्दा र सुन्दा एक दिन म पनि यसरी बोल्छु भन्ने लाग्थ्यो । उनीहरूको विगतको अनुभव, खेलको प्रवाह, रणनीतिक विश्लेषण, रोचक कथाहरू र हाँसो मिसिएको साझेदारीले उनको मन हर्थ्यो । कमेन्टेटर बन्ने हुटहुटी पालेका हमालका लागि त्यो सहकार्य थिएन तर थियो प्रशिक्षण । त्यहीँबाट खारिएका हमाल अहिले नेपालका चर्चित कमेन्टेटर बनेका छन् ।
तपाईंको टी–२० क्रिकेट कमेन्ट्री किन जोसिलो भन्ने प्र्रश्नमा हमाल भन्छन्, ‘टी–२० मा गति मात्रै तेज हुँदैन, दर्शकको ध्यान पनि त्यत्तिकै तेज रूपमा सर्ने गर्छ । आफ्नो प्रस्तुतिमा मैले थप्ने हास्य, तथ्य, अन्तर्राष्ट्रिय क्रिकेटका साना र रोचक भित्री कथाहरूले प्रसारणलाई मनोरञ्जनात्मक र ताजा बनाइदिन्छन् । त्यसका लागि त जोस चाहिन्छ नै ।’
एनपीएल सुरु भएयता नै आफ्नो सिमाना पार गर्दै अन्तर्राष्ट्रिय दर्शकमा चिनिन चाहन्थ्यो । वा भनौं, नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई एउटा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताका रूपमा अगाडि बढाउन चाहन्थ्यो र चाहन्छ पनि । विदेशी कमेन्टेटरको उपस्थिति र त्यसलाई फराकिलो पार्न नेपाली कमेन्टेटरको साथ त्यस यात्राको महत्त्वपूर्ण मोड त बनेकै छ, साथै ऐतिहासिक कडी पनि । एनपीएलमा विदेशी कमेन्टेटरहरूको आगमन ‘रौनक’ मात्र होइन, यो नेपाली क्रिकेटको वृद्धि, आत्मविश्वास र विश्वस्तरमा उभिन खोज्ने साहसको प्रतीक पनि हो । मैदानभित्र खेलाडीहरू रनका लागि लडिरहेका छन् भने मैदानबाहिर यी आवाज एनपीएलको छवि बनाउन व्यस्त छन् । तर यसमा समन्वयको खाँचो नेपाली कमेन्टेटरहरूले देखेका छन् ।
किरण, सचिन र हेमराज संयुक्त स्वरमा भन्छन्, ‘नेपाली क्रिकेटको व्यावसायिक उचाइका लागि विदेशी कमेन्टेटरहरूको भूमिका आफ्नो ठाउँमा छ तर हामीले नेपालमै पनि कमेन्टेटरहरूको वृत्ति विकासमा सोच्ने बेला आइसकेको छ ।’
सचिन र किरणसँग यसभन्दा पहिले पनि अंग्रेजीमा कमेन्ट्री गरेको अनुभव छ । त्यसो त एन्ड्रयु पनि नेपालमै अंग्रेजीमा कमेन्ट्री गर्नेको कमी नरहेको स्वीकार गर्छन् । भन्छन्, ‘मैले परेश लोहनी, शरद भेषावकरसँगै अन्य नेपाली कमेन्टेटरसँग काम गरिसकेको छु । उनीहरूसँग प्रशस्त सम्भावना छ । यसलाई क्यानले सदुपयोग गर्नुपर्छ ।’ विराट रायमाझी, सुमित तिमल्सिना, विवश जैसवाल घरेलु क्रिकेटको कमेन्ट्रीमा देखिने र सुनिने आवाज हुन् ।
एन्ड्रयुको भावनासँग नेपाली कमेन्टेटरहरू पनि सहमत छन् । प्रतियोगिताको व्यापकताका लागि अन्तर्राष्ट्रियसँगै स्थानीय भाषामा पनि कमेन्ट्री आवश्यक छ । यसका लागि उनीहरू मात्रै एक मौकाको खोजीमा छन् । किनभने पछिल्लो समय छिमेकी भारतको इन्डियन प्रिमियर लिग क्रिकेटको कमेन्ट्री पनि क्षेत्रीय भाषा हुन थालिसकेको छ ।
क्यानले पनि क्रिकेटमा बदलाव ल्याउनका लागि परेको सन्दर्भमा आगामी संस्करणमा नेपाली कमेन्ट्रीलाई थप प्राथमिकतामा राख्न जरुरी छ । र, जब कमेन्ट्री बुथबाट फेरि अर्को जोसिलो स्वर गुन्जिन्छ, दर्शकले महसुस गर्छन्, ‘हो, हाम्रो क्रिकेट फैलिँदै छ र बदलिँदै पनि ।’
