एनपीएल : फाइनल पुग्ने होडमा सुदूरपश्चिम र विराटनगर

सुदूरपश्चिम र विराटनगर मंगलबार फाइनल प्रवेश पाउन एकअर्काविरुद्ध खेल्दैछन् । सुदूरपश्चिम पहिलो ६ खेल जितेर क्वालिफायर १ मा पुगेको थियो  ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

NPL: Sudurpaschim and Biratnagar in the race to reach the final

काठमाडौँ — विराटनगर किंग्सविरुद्ध नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले एकतर्फी हार बेहोरे पनि मंगलबार क्वालिफायर १ मा उत्रँदा स्थिति फरक हुने सुदूरका प्रशिक्षक जगत टमाटा बताउँछन् । 

सुदूरपश्चिम र विराटनगर मंगलबार फाइनल प्रवेश पाउन एकअर्काविरुद्ध खेल्दैछन् । सुदूरपश्चिमलाई नै लिग चरणको अन्तिम खेलमा हराएपछि विराटनगर यो स्थितिमा पुगेको हो । सुदूरपश्चिम पहिलो ६ खेल जितेर क्वालिफायर १ मा पुगेको थियो ।

विराटनगरलाई शीर्ष २ मा रहन सुदूरपश्चिमसँगको खेल जितेर मात्र पुग्दैनथ्यो, ठूलो अन्तरको जित पनि चाहिन्थ्यो । सुदूरपश्चिमलाई १ सय ४७ रनमा रोकेपछि विराटनगरले यो लक्ष्य १४ ओभरभित्र पूरा गरेमात्र टोलीको शीर्ष दुईमा पर्ने निश्चित हुन्थ्यो । तर, दक्षिण अफ्रिकी ब्याटिङ स्टार फाफ डु प्लेसिस र अस्ट्रेलियन खेलाडी साम हेजलेटको तुफानी ब्याटिङपछि विराटनगरले १२ ओभरभित्रै १ सय ५० रन बनाएर पुनः सुदूरपश्चिमसँगको भेट तय गरेको थियो ।

आफ्ना प्रमुख बलर स्कट कुग्लेइनविनै खेल्दा सुदूरपश्चिमले त्यसको मूल्य चुकाउनुपरेको थियो । पुनः विराटनगरसँग खेल्दा फरक स्थिति हुने सुदूरका प्रशिक्षक टमाटाको भनाइ छ । तर सुदूरपश्चिमका लागि क्वालिफायर एक झन कठिन हुनसक्छ । अस्ट्रेलियन ब्याटरद्वय जस ब्राउन र क्रिस लिन स्वदेश फर्किएपछि टोली थप संकटमा परेको छ । ब्राउनसँगको सम्झौता डिसेम्बर ६ सम्म मात्र रहेकाले उनी फर्किएको टमाटा बताउँछन् । त्यस्तै लिन चितवन राइनोजविरुद्धको छैटौं खेलमा घाइते भएका थिए उक्त खेलमा उनले ५६ बलमा अविजित ७५ रन बनाएका थिए । त्यसपछि उनी विराटनगरसँगको खेल खेल्न सकेनन् ।

ह्यामस्ट्रिङका कारण उनी प्रतियोगितामा थप खेल खेल्न नसक्ने भएको टमाटाले बताए । उनीहरूको स्थानमा सुदूरपश्चिमले इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिसकेका भारतीय खेलाडी सेल्डन ज्याक्सन र हाल अमेरिकामा रहेका पाकिस्तानका पूर्वखेलाडी मुख्तर अहमदलाई टोलीमा समावेश गरेको छ । पाकिस्तानबाट १० वर्षअगाडि ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका अहमदले हाल अमेरिकाको घरेलु क्रिकेटमा खेल्दै आएका छन् । 

‘क्वालिफायर खेल फरक हुनेछ, किनभने यो नयाँ खेल हो । पछिल्लो खेलमा के भयो भन्ने यसमा कुनै अर्थ राख्दैन । हाम्रो टोलीमा नयाँ खेलाडी आएका छन्, उनीहरू राम्रा पनि छन्,’ टमाटाले भने । विराटनगरसँग पराजित भएपछि गत सिजनको उपविजेता सुदूरपश्चिमको लगातार ६ खेलको जित यात्रा रोकिएको थियो । 

यता डु प्लेसिस आएयता विराटनगरको ब्याटिङ थप बलियो बनेको छ । त्यसको उदाहरण टोलीले सुदूरपश्चिमसँगको खेलमा देखायो । मार्टिन गप्टिल पनि चोटबाट फर्किएका छन् । सुदूरपश्चिमविरुद्ध विराटनगरका ब्याटरहरू खनिँदा गप्टिलले ९ बलमा ३ छक्कासहित २२ रन बनाएका थिए । विराटनगर पहिलो पटक प्लेअफमा पुग्नेक्रममा लिग चरणपछि शीर्ष २ टोली बनेको हो । सुदूरपश्चिम र विराटनगरबीचको विजेता सोझै फाइनल पुग्ने छ । काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । यसको विजेता टोलीले क्वालिफायर १ को पराजित टोलीसँग फाइनलमा स्थान पाउन क्वालिफायर २ मा खेल्नेछ ।

कान्तिपुर

Link copied successfully