जनकपुरले ७ खेलमा छैटौं पराजय भोगी पुछारको आठौँ स्थानमा रहेको हो । गत सिजनमा तेस्रो भएको कर्णालीले चितवन राइनोजलाई रन रेटमा उछिन्दै छैटौं भयो ।
What you should know
काठमाडौँ — डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको यात्रा पुछारमा रहेर टुंग्याएको छ । लिग चरणको अन्तिम खेलमा जनकपुरलाई आइतबार कर्णाली याक्सले ३ रनले पराजित गर्यो ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको कर्णालीले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा ९ विकेट गुमाई १ सय २९ रन बनाएको थियो । जवाफमा आएको जनकपुरले ७ विकेट गुमाई १ सय २६ रनमात्र बनाउन सक्यो ।
सञ्जय कृष्णमूर्तिको सानदार प्रदर्शनपछि जनकपुरलाई विजयका लागि अन्तिम ओभरमा १४ रन बनाउनु पर्ने समीकरण बनेको थियो । अन्तिम दुई बलमा यो ९ रनको स्थितिमा पुगेको थियो । कप्तान यान निकोल लफ्टी इटनले पाँचौँ बलमा ४ चौका प्रहार गरेका थिए । तर अन्तिम बलमा उनले १ रनमात्र जोडे । दोस्रो रन लिने प्रयासमा उनका जोडी आदित्य महता रनआउट हुन पुगे ।
जनकपुरका दुई प्रमुख खेलाडी मार्की आसिफ शेख र कप्तान अनिल साह शून्यमा आउट भएका थिए । ओपनर माज सदाकत १२ र मयान यादव ९ रनमा आउट भए । कृष्णमूर्ति र संगीथ कोरेले पाँचौं विकेटमा ७५ रनको साझेदारी गरी जनकपुरको स्थितिलाई सुधारेका थिए ।
कोरेले ३२ बल खेली १ चौका प्रहार गरि २५ रन बनाए । कृष्णमूर्तिले ३९ बल खेली ५१ रन बनाए । अन्तिम ओभरको पहिलो बलमा आउट भएका उनले दीपेन्द्र रावतलाई लगातार ३ छक्का प्रहार गरेका थिए । उनले कुल १ चौका र ४ छक्का प्रहार गरे । लफ्टी इटन १३ रनमा अविजित रहे ।
कर्णालीबाट विलियम बोसिस्टोले २ विकेट लिए । प्लेयर अफ द म्याच उनले ४ ओभरमा १८ रन खर्चे । मार्क वाटले ४ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर १ विकेट लिए । उनीसँगै पवन सर्राफ, नन्दन यादव र कप्तान सोमपाल कामीले १–१ विकेट लिए ।
यी दुवै यस खेलअघि नै टोली प्लेअफ दौडबाट बाहिरिसकेका थिए । जनकपुरले ७ खेलमा छैटौं पराजय भोगी पुछारको आठौँ स्थानमा रहेको हो । गत सिजनमा तेस्रो भएको कर्णालीले चितवन राइनोजलाई रन रेटमा उछिन्दै छैटौं भयो । कर्णालीले ७ खेलमा २ मा विजय र ५ मा पराजयको नतिजा निकालेको हो ।
यसअघि कर्णालीबाट ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाएका थिए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका उनले ३२ बल खेली समान १ चौका र छक्का प्रहार गरे । उनका ओपनिङ जोडी वाट ४ रनमै आउट भएका थिए भने प्रिंयाक पान्चालले १८ बल खेली ३ चौका प्रहार गरी १६ रन बनाए ।
गुलशन झा २० बल खेली १ चौका प्रहार गरी १९, बोसिस्टो १५, नाजिबुल्लाह जाद्रान १३, सर्राफ १, अर्जुन घर्ती ४ रनमा आउट भए । सोमपालले ११ बल खेली समान १ चौका र छक्कासहित १८ रन बनाई अविजित रहे । दीपेन्द्रले २ रन बनाए ।
जनकपुरका ललित राजवंशी र आदित्य महताले २–२ विकेट लिए । ललितले ३ ओभरमा १६ र एकमात्र ओभर गरेका आदित्यले ९ रन खर्चे । कोरे, अनिल र सदाकतले १–१ विकेट लिए ।
