एनपीएल : जनकपुर र कर्णालीबीच 'प्रतिष्ठाको खेल'

यस खेलमा विजयी हुने टोली छैटौं हुनेछ भने पराजित हुने टोली आठौं भई पुछारमा रहनेछ ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

NPL: 'Game of prestige' between Janakpur and Karnali

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिष्ठाका लागि खेलिरहेका छन् । लिग चरणको अन्तिम खेलमा जनकपुरले पहिला फिल्डिङ गर्ने भएको छ ।

जनकपुरका कप्तान यान निकोल लफ्टी इटनले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेर कर्णालीलाई ब्याटिङका लागि बोलाएका छन् । 

जनकपुरले ललित राजवंशी, पप्पु यादव, तुलबहादुर थापामगरलाई टोलीमा समावेश गरेको छ । उनीहरुलाई रुपेश सिंह, शुभ कंसाकार र सचिन भट्टको स्थानमा ल्याइएको हो । पप्पु र तुलबहादुर एनपीएलमा ‘डेब्यु’ गरिरहेका छन् । पप्पु टयालेन्ट हन्टबाट आएका खेलाडी हुन् ।

कर्णालीले पनि तीन खेलाडी नै परिवर्तन गरेको छ । इमरान शेख, अर्जुन घर्ती मगर, विलियम बोसिस्टोलाई कर्णालीले टोलीमा समेटेको छ । इमरानको प्रतियोगितामा यो पहिलो खेल हो । जयकिशन कोल्शावाला, युनिस विक्रम सिंह ठकुरी, विपिन शर्मालाई कर्णालीले प्लेइङ ११ बाहिर राखेको छ ।

यी दुवै टोली प्लेअफ दौडबाट बाहिरिसकेका छन् । डिफेन्डिङ च्याम्पियन जनकपुरले ६ मध्येको ५ खेलमा पराजय बेहोरेको थियो । गत सिजनमा तेस्रो भएको कर्णालीले पनि ६ मध्येको ५ खेलमा पराजित रहेको छ ।

यस खेलमा विजयी हुने टोली छैटौं हुनेछ भने पराजित हुने टोली आठौं भई पुछारमा रहनेछ । 

कान्तिपुर

Link copied successfully