कीर्तिपुरमा सम्पन्न लिग चरणको अन्तिम खेलमा पोखराले चितवनलाई दुई बल बाँकी छँदै हराउँदै तेस्रो जितसहित पाँचौँ स्थान पक्का गरेको छ।
What you should know
काठमाडौँ — एड्म रोसिङटन र अर्जुन कुमालले शतकीय साझेदारी गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबारको दोस्रो निरस खेलमा चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ ।
टस जितेपछि ब्याटिङमा आएको चितवनले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २० रनमात्र बनाउन सकेको थियो । रोसिङटन र अर्जुनको प्रयासमा पोखराले २ बल अगाडि लक्ष्य पुरा गरी पाँचौँ स्थान पक्का गरेको हो ।
प्रतियोगितामा सर्वाधिक ३ सय २३ रन बनाइसकेका रोसिङटन ६५ रनमा आउट भए । ४८ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरेका उनी १५ औँ ओभरमा आउट भए । कप्तान कुशल भुर्तेल १० बल खेली ४ रनमा आउट भए ।
प्रतियोगितामा पहिलो खेल खेलिरहेका अर्जुनले ५३ बलमा ४३ रन बनाई अविजित रहे । उनले २ चौका र १ छक्का प्रहार गरे । जेसन रोय ८ बलमा ६ रन बनाई अविजित रहे । चितवनका सैफ जैब र रिजन ढकालले १–१ विकेट लिए ।
यी दुवै टोली यसअघि नै प्लेअफ दौडबाट बाहिरिइसकेका थिए । पोखराले ७ खेलमा तेस्रो विजय हात पार्दै प्रतियोगिताको अन्त्य गरेको हो । बलियो टोलीमा देखिएको चितवनले पाँचौँ पराजय भोगेको हो । गत सिजन चौथो भएको चितवन आइतबार लिग चरणको अन्तिम खेलपछि सातौँ हुने भएको छ ।
यसअघि ७ रन बनाउँदा ३ विकेट गुमाइसकेपछि चितवन पुरा इनिङ्स दबिएर खेलेको थियो । अर्जुन साउद र रवि बोपारा १–१ तथा डेबिड मलान ५ रनमै आउट भए । जैबले १८ बल खेली १ छक्का प्रहार गर्दै १७ रन बनाए ।
देव खनालले सर्वाधिक ३५ रन बनाए । उनले ४१ बल खेली समान १ चौका र छक्का प्रहार गरे । कप्तान कुशल मल्लले २३ बल खेली २३ रन बनाए । उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । युगान्डाका खेलाडी अल्पेश रामजानीले २२ बलमा ३३ रन बनाएपछि मात्र चितवनले १ सय रन पार गरेको थियो ।
प्रतियोगितामा पहिलो खेल खेलिरहेका उनले २२ बल खेली १ चौका र २ छक्का प्रहार गरे । कमलसिंह ऐरी ३ बलमा २ रन बनाई अविजित रहे । आफ्नै बलिङका क्रममा घाइते भएका धनञ्जय लक्षणले आफ्नो बलिङ कोटा पुरा गर्न सकेनन् । उनले ३.२ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । विपिन खत्री, किरण ठगुन्ना र प्रतियोगितामा पहिलो खेल खेलिरहेका रोहित चन्दनले १–१ विकेट लिए ।
