सुदूरपश्चिमलाई सजिलै पन्छाएको विराटनगरले सुदूरपश्चिमसँगै क्वालिफायर खेल्ने

सुदूरपश्चिमलाई ११.५ ओभरमै हराउँदै विराटनगरले नेट रन रेटमा काठमान्डुलाई उछिनेको छ, अब क्वालिफायर १ मा सुदूरपश्चिमसँग भिड्नेछ।

मंसिर २०, २०८२

विनोद पाण्डे

Biratnagar, which easily defeated Sudurpaschim, will play the qualifiers with Sudurpaschim.

What you should know

काठमाडौँ — साम हेजलेट र फाफ डु प्लेसिसले ७ ओभरमै ९७ रन जोडेपछि विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सललाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर १ मा पुगेको छ ।

त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धातिर २० ओभरमा ६ विकेट गुमाई १ सय ४७ रन बनाएको थियो । विराटनगरले यो लक्ष्य १३.४ ओभरमा पुरा गरिसक्नु पर्ने थियो । विराटनगरले ११.५ ओभरमै पुरा गर्‍यो ।

सुदूरपश्चिम १२ अंकसहित यसअघि नै क्वालिफायर १ मा पुगिसकेको थियो । विराटनगर र काठमान्डु गोर्खाजको समान १० अंक भए पनि सुदूरपश्चिममाथि सानदार विजय हात पारेपछि विराटनगरले काठमान्डुलाई नेट रन रेटमा उछिनेको हो ।

सुदूरपश्चिम र विराटनगरले फाइनलमा स्थान पाउन मंगलबार क्वालिफायर १ मा खेल्ने छन् । काठमान्डुले बुधबार लुम्बिनी लायन्ससँग प्लेअफमा खेल्ने छ ।

विराटनगरले १० ओभरमै २ विकेट गुमाई १ सय २६ रन बनाएर आफ्नो उद्देश्य प्रस्ट पारेको थियो । विराटनगरले पहिलो ६ ओभरमा ८७ रन जोडेको थियो । पावर प्लेमा एनपीएलकै यो उच्च स्कोर हो । पोखरा एभेन्जर्सले गत वर्ष लुम्बिनी लायन्सविरुद्ध पहिलो ६ ओभरमा ८० रन जोडेको थियो ।

डु प्लेसिस १९ बलमा ५० रन बनाई आउट भए । एनपीएलमा यो दोस्रो कम बलमा बनेको अर्धशतकको कीर्तिमान हो । गत वर्ष जनकपुर बोल्ट्सका जिमी निसमले चितवन राइनोज विरुद्ध १८ बलमा अर्धशतक बनाएका थिए । यसै प्रतियोगितामा काठमान्डुका भीम सार्कीले पोखराविरुद्ध र सुदूरपश्चिमका हरमित सिंहले काठमान्डुविरुद्धै १९ बलमा अर्धशतक बनाएका थिए ।

डु प्लेसिसले सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको एकै ओभरमा ४ चौका र एक छक्का प्रहार गरेका थिए । उनले कुल ५ चौका र ४ छक्का प्रहार गरे । हेजलेटले २७ बल खेली ५१ रन बनाए । उनले ३ चौका र ४ छक्का प्रहार गरे ।

मार्टिन गप्टिल ३ छक्का प्रहार गरी ९ बलमा २२ रन बनाई रनआउट भए । बसिर अहमद ८ रनै आउट भए । प्रतिश जिसीले अविनाश बोहरालाई लगातार दुई छक्का प्रहार गरेपछि विराटनगरले १२ ओभर भित्र लक्ष्य पुरा गरेको थियो । विराटनगर ३ बलमा १३ र लोकेश बम ४ बलमा ३ रन बनाई अविजित रहे । सुदूरपश्चिमका अविनाश र हरमितले १–१ विकेट लिए ।

यसअिघ आरिफ शेख र इशान पाण्डेले ७२ रनको साझेदारी गरेपछि टस हारेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धातिर २० ओभरमा ६ विकेट गुमाई १ सय ४७ रन बनाएको थियो ।  आरिफ र इशानले ५० बलमा ठोस साझेदारी गरेपछि सुदूरपश्चिम कठिन चुनौती तेर्स्याउन सफल भएको हो । ओपनरद्घय विनोद भण्डारी १३ बल खेली ३ चौका प्रहार गरी १५ र जस ब्राउन २५ बल खेली १ चौका र २ छक्का प्रहार गरी २४ रन बनाई आउट भएपछि आरिफ र इशानले तेस्रो विकेटमा महत्त्वपूर्ण साझेदारी गरेका थिए ।

इशानले ३५ बलमा ३८ रन बनाए । उनले समान २ चौका र छक्का प्रहार गरे । आरिफ ४५ रन बनाई अविजित रहे । उनले ३२ बल खेली १ चौका र ३ छक्का प्रहार गरे । हरमित सिंह पहिलो बलमै आउट भएपछि आएका कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बल खेली २ छक्का प्रहार गरी १९ रन बनाए ।

दीपक बोहरा ३ बलमा ३ रन बनाई आउट भए । विराटनगरबाट सन्दीपले ३ विकेट लिए । उनले ४ ओभरमा २० रन खर्चे । अन्तिम ओभरमात्र बलिङ गराएका प्रतिश जिसीले ४ रन खर्चेर २ विकेट लिए । बसिरको नाममा १ विकेट रह्यो । 

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully