अहिलेसम्म विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले ७ खेलमा सबैभन्दा बढी १५ विकेट लिएका छन् ।
What you should know
काठमाडौँ — एनपीएल दोस्रो संस्करणमा ब्याटिङतर्फ औसत प्रदर्शनमा सीमित केही नेपाली खेलाडी बलिङमा भने चम्किएका छन् । अहिलेसम्म विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले ७ खेलमा सबैभन्दा बढी १५ विकेट लिएका छन् ।
उनको प्रदर्शन टोलीलाई क्वालिफायरमा पुर्याउन महत्त्वपूर्ण रह्यो । लामिछाने इकोनोमीमा पनि अब्बल रहे । उनले ५.१० को औसतमा रन खर्चिए ।
सुदूरपश्चिमका अभिनाश बोहोराले पनि १४ विकेट लिँदै टोलीलाई क्वालिफायरमा पुर्याउन सहयोग गरे । उनको इकोनोमी ७. ८० रह्यो । काठमान्डु गोर्खाजका साहब आलमले १२ विकेट लिए । उनले पोखराविरुद्धको खेलमा ह्याट्रिकसहित ६-२५ को उत्कृष्ट प्रदर्शन गरे । आलमको इकोनोमी ६.३३ रह्यो ।
काठमान्डुका कप्तान करण केसीको प्रदर्शन पनि राम्रो रह्यो । उनले कुल १२ विकेट लिए । त्यसबाहेक पोरखाका धनञ्जय लक्षण, काठमान्डुका मिलिन्द कुमार, लुम्बिनीका शेर मल्ल, सुदूरपश्चिमका हरमित सिंह र कर्णाली याक्सका नन्दन यादवले समान १०/१० विकेट लिए । समग्रमा ब्याटिङमा चुकेका नेपाली खेलाडीले बलिङमा भने राम्रो प्रदर्शन गरेका छन् ।
त्यसैगरी सबैभन्दा बढी आउट गर्ने बलरबाहेकका खेलाडीमा सुदूरपश्चिमका विनोद भण्डारी अगाडि छन् । उनले सात वटा क्याच लिए भने तीन वटा स्टम्पिङ गरे । साथै पोखराका एडम रोसिङ्टनले चारवटा क्याच लिए भने तीन वटा स्टम्पिङ आउट गरे । साथै काठमान्डुका जोन सिम्पसनले एउटा क्याच लिए भने चार वटा स्टम्पिङ गरे ।
सबैभन्दा बढी क्याच लिने खेलाडीमा भने काठमान्डुका मिलिन्द कुमार र चितवनका कुशल मल्ल छन् । दुवैले आठ/आठ क्याच लिएका छन् । मिलिन्द कुमारले पोखराविरुद्धको खेलमा पाँच क्याच लिएका थिए । काठमान्डुका गेरार्ड इरामस र पोखराका कप्तान कुशल भुर्तेलले समान सात/सात क्याच लिएका छन् । अहिलेसम्म ब्याटरहरू २०३ पटक क्याचमार्फत आउट भएका छन् ।
