विराटनगर किंग्सले फाफ डु प्लेसिस, मार्टिन गप्टिल, मर्च्यान्ट डी ल्याङ्गेलाई अनुबन्धन गरेर सामाजिक सञ्जाल पूरै हल्लाएको छ । तर वास्तविक विजेता बन्न मैदानभित्र नै जित्नुपर्छ ।
What you should know
काठमाडौँ — चर्चाको हिसाबमा हेर्ने हो भने विराटनगर किंग्सलाई विजेता मान्दा नै हुन्छ । विराटनगरले के मात्र गरेन । फाफ डु प्लेसिस, मार्टिन गप्टिल, मर्च्यान्ट डी ल्याङ्गेलाई अनुबन्धन गरेर सामाजिक सञ्जाल पूरै हल्लाएको छ । तर वास्तविक विजेता बन्न मैदानभित्र नै जित्नुपर्छ ।
विराटनगरले यसका लागि पहिलो मन्त्रस्वरुप च्याम्पियन प्रशिक्षक पुबुदु दासानायकेलाई ल्याएको छ । पुबुदुलाई जति नेपाली क्रिकेटका जानकारी अन्यलाई सायदै होला । उनैको प्रशिक्षणमा जनकपुर बोल्ट्स गत सिजन एनपीएल विजेता बनयो । विश्व क्रिकेटका ठूला नामहरूलाई जम्मा गरेको विराटनगरलाई उनले व्यवस्थापन गर्नेछन्, त्यो हेर्ने विषय बनेको छ ।
गत सिजन विराटनगरले ७ मध्ये २ खेलमात्र जित्न सकेको थियो । जसका कारण टोली प्लेअफमा पुग्न असफल रह्यो ।
आफ्नो टोलीलाई अझ सुदृढ बनाउनेक्रममा विराटनगरले सूर्य तामाङ, नारायण जोशी, शंकर राना र शाहिल पटेललाई भित्र्याएको थियो । टोलीले दिल्लीमा यस सिजनका लागि प्रशिक्षण गरेको थियो । तर अभ्यास खेलमा विराटनगरको स्थिति खासै सुध्रिएन र केही प्रमुख खेलाडीविना उत्रिएको टोली काठमान्डु गोर्खाजसँगको अभ्यास खेलमा ४३ रनमै अलआउट भएको थियो ।
यसैलाई आधार मानेर विराटनगरको टोलीलाई विश्लेषण गर्ने अवस्था नरहे पनि विशेष गरी ब्याटिङमा विदेशी खेलाडीमै भर पर्नुपर्ने देखिन्छ । टोलीका बलिङ प्रशिक्षक धम्मिका प्रसादले अभ्यास खेलमा सस्तैमा आउट भएर आएका लोकेश बमसँग लामो समय बिताएका थिए ।
पछिल्लो दुई वर्षमा अन्तर्राष्ट्रिय टोलीविरुद्ध ट्वान्टी–२० मा शतक बनाउने एकमात्र ब्याटर लोकेशले लामो समय क्रिजमा बिताउँदा विराटनगरले राहत महसुस गर्ने निश्चित छ । २०२४ को सुरुमा आयरल्यान्ड ‘ए’ विरुद्ध शतक बनाएका लोकेशले हङकङ अन्तर्राष्ट्रिय सिक्सेसमा पनि राम्रो गर्न सकेका थिएनन् ।
टिममा को-को छन् ?
सन्दीप लामिछाने (कप्तान), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सूर्य तामाङ, नारायण जोशी, नरेन भट्ट, शंकर राना, सुवास भण्डारी, साहिल पटेल, श्रवण किस्कु, फाफ डु प्लेसिस, मार्टिन गप्टिल, मर्च्यान्ट डी ल्याङ्गे, जर्ज मुन्सी, साम हिजलेट, शुभम रन्जने ।
