विदेशी प्रशिक्षकले बढाएको ओज

सबैभन्दा बढी कोही कसैको नजरमा हुनेछन् भने जनकपुरका प्रशिक्षक शिवनारायण चन्द्रपाल नै, अन्य विदेशी प्रशिक्षकमा पबुदु दसानायके (विराटनगर), टिनु योहाना (लुम्बिनी), मोन्टी देसाई (काठमान्डु) र राजीव कुमार (पोखरा) छन्।

कार्तिक २९, २०८२

हिमेश

The foreign coach's increased power

काठमाडौँ — ‘तयारी नै सबैभन्दा ठूलो हो । तयारी निकै महत्त्वपूर्ण हुन्छ । कसैले राम्रो तयारी गर्दैन भने साँच्चै खेल्दा जहिले पनि गाह्रै हुन्छ ।’ यो गुरु मन्त्र हो, शिवनारान चन्द्रपालको । यो क्रिकेटमै मात्र लागू हुने तथ्य पनि होइन, आम जीवनमै पनि हुने यस्तै हो । 

यति महत्त्वको कुरा गर्ने यी वेस्ट इन्डिजका पूर्वखेलाडी तथा प्रशिक्षक आफैंमा धेरै बोल्न रुचाउँदैनन्, बरु चाहन्छन्, ब्याटले बोलोस् । नेपाली क्रिकेटसँग नजिकबाटै जोडिएकामध्ये सबैभन्दा ठूलो नाम कुन हो त ? वेस्ट इन्डिजकै ब्रायन लारा ? पोहोर उनी नेपाल क्रिकेट लिग (एनपीएल) को पहिलो सिजन पारेर नेपाल आएका थिए । तर उनको भूमिका पाहुनाकै जति मात्र रह्यो । यस्तोमा त्यस प्रश्नको उत्तर हुनेछ, चन्द्रपाल । 

जतिले सन् ९० र त्यसपछिको अन्तर्राष्ट्रिय क्रिकेट हेरे, तिनका लागि असाध्यै धेरै परिचित छन् चन्द्रपाल । ती पुराना क्रिकेट समर्थकलाई पनि चन्द्रपालसँग जोडिएको एउटा तथ्यले अचम्मै पार्न सक्नेछ र त्यो के भन्दा उनले खेलेको टेस्टको संख्या हो, १ सय ६४ । सय टेस्ट खेल्नु पनि कहाँ हो कहाँ हुने गरेर ठूलो उपलब्धि हुँदा चन्द्रपालसँग जोडिएको त्यो आँकडाले प्रस्ट पार्छ, उनी कत्तिका खेलाडी हुन् भनेर । यति धेरै टेस्टमा उनले ११ हजार ८ सय ६७ रन बनाएका छन् र यसमा समावेश छन्, ३० शतक र ६६ अर्धशतक ।

चन्द्रपालले २ सय ६८ एकदिवसीय अन्तर्राष्ट्रिय पनि खेले । अनि २२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय पनि । यस्तोमा अन्तर्राष्ट्रिय क्रिकेटमै मात्र उनको सबै गरेर रन २० हजारभन्दा माथि पुग्छ । यस्ता पूर्वखेलाडी अब प्रशिक्षक बनेर नेपाल आउँछन् भने योभन्दा खुसी अर्को के नै हुन सक्छ र ! यसका लागि हामीले एनपीएल सिजन–२ मा डिफेन्डिङ च्याम्पियन रहेको जनकपुर बोल्ट्सलाई धन्यवाद नदिएर सुखै छैन ।

यसपल्टको एनपीएलमा सबैभन्दा बढी कोही कसैको नजरमा हुनेछन् भने पनि ती चन्द्रपाल नै हुनेछन् । नेटमा अभ्यास गर्दाको क्षणलाई लिएर उनले भनेको एउटा अर्को भनाइ उत्तिकै चर्चित छ । उनी भन्थे, ‘जति बेला कोही नेट्समा जान्छ, उसलाई राम्रोसँग के थाहा हुनुपर्छ भने ऊ साँच्चै त्यहाँ किन जाँदै छ । नेट्समा छँदा जो कोहीलाई थाहा हुनुपर्छ, उनको कमजोरी के हो, बलियो पक्ष के हो ।’

चन्द्रपालको त्यस्तै चर्चित अर्को भनाइ पनि छ, ‘ठूला खेलाडीले कहिले पनि कराएर खेल्ने गर्दैनन् । ठूलो खेलाडी शान्त भएकै राम्रो । उसको काम भनेको त रन बनाउने नै हो, अनि कहिल्यै हार नखाने पनि हो ।’ उनी आफैं ब्याटर भए, त्यसैले उनले जति भनेका छन्, ती सबै ब्याटरमै केन्द्रित छन् । त्यसैले यो स्वाभाविक पनि छ । 

चन्द्रपालको आगमनमा जनकपुरका खेलाडीले केही त बढी सिक्नेछन्, यत्ति विश्वास गर्न सकिन्छ । उनी छेउछाउ हुँदा जनकपुरकै खेलाडीले मात्र होइन, अरू सबै टिमका खेलाडीले पनि केही न केही सिक्नु नै पर्नेछ । चन्द्रपालले जति बोलेका छन्, ती सबै कालजयी छन् । ती त अचुक गुरु मन्त्र नै हुन् । सन् ९० को दशकयता वेस्ट इन्डिज क्रिकेटमा लारापछि सबैभन्दा बढी कसैको प्रभाव रह्यो भने त्यो चन्द्रपालकै हो । उनले वेस्ट इन्डिज टिमको कप्तानी पनि सम्हाले ।

चन्द्रपालका दुई विशेषता जहिले पनि उनीसँगै जोडिएर आउने गर्छन् । त्यसमा पहिलो हो, उनको गैर पारम्परिक ‘ब्याटिङ स्टान्स’ । उनी ब्याटिङ गर्दा बलको सामना गर्न अगाडि जुन स्थितिमा रहन्थे, त्यसलाई ‘क्राब स्टाइल’ पनि भनिन्छ । त्यो भनेको ‘गंगटा’ शैली भयो । जति बेला उनी बलर सामना गर्ने तर्खरमा हुन्छन्, उनको छाती तिनै बलरतर्फ मोडिएको हुन्छ, भलै अन्तिम क्षणमा केही परिवर्तन हुन्छ ।

चन्द्रपालले प्रतिद्वन्द्वी बलरलाई केही न केही अप्ठ्यारो पार्थे । त्यसैले जति समय उनले सक्रिय क्रिकेट खेले, उनको यो शैली जहिल्यै चर्चाको विषय रह्यो । अब अर्को प्रश्न हुन सक्छ, उनले यो शैली अपनाए चाहिँ किन ? यसको पनि उत्तर छ । भयो के भन्दा उनको जमानासम्म वेस्ट इन्डिज क्रिकेटमा राम्रा ‘फास्ट बलर’ हरू थिए । तिनैको डटेर सामना गर्न चन्द्रपालले यो अनौठो उपाय निकालेका थिए ।

अर्को विशेषता हो, खेल्दा दुवै आँखामुनि देखिने कालो धब्बा । साँच्चै यी हुन् चाहिँ के त ? खासमा ती ‘एन्टिग्लेर प्याचेज’ हुन्, जसको काम सूर्यको प्रकाश आफैंले बढी सोसेर आँखालाई कम दबाब दिनु हो । यसले चन्द्रपाललाई ब्याटिङ गर्दा मात्र होइन, फिल्डिङ गर्दा पनि उत्तिकै सहयोग पुग्ने गर्थ्यो । यी ‘प्याचेज’ प्रकाशलाई सक्दो बढी सोस्न सक्ने खालका हुन्छन् र यो नै अन्ततः चन्द्रपालको परिचय बन्यो ।

अब यत्तिको पूर्वखेलाडीको बायोडाटामा पनि प्रशिक्षक भएर जनकपुरलाई खेलाएको तथ्य जोडिनेछ । अनि जतिले यसलाई देख्नेछन्, तिनले कौतूहलपूर्वक यो एनपीएल के हो भनेर एकपल्ट त खोज्ने नै छन् । अनि त्यसै क्रममा थाहा हुनेछ, यो नेपाली क्रिकेटको आफ्नै विशिष्ट प्रतियोगिता हो भनेर । यी सबै तथ्यका लागि हामीले जनकपुरलाई मात्र होइन, स्वयं चन्द्रपाललाई पनि धन्यवाद दिनुपर्नेछ ।

उनीसँगै अर्को प्रश्न पनि जोडिनेछ, विपक्षी टिमका उनका समकक्षी चाहिँ को–को हुनेछन् । त्यसको उत्तरमा टेस्ट खेलेका दुई पूर्वखेलाडी पनि छन्– विराटनगर किंग्सका पबुदु दसानायेके र लुम्बिनी लायन्सका टिनु योहाना । पुबुदुले श्रीलंका लागि ११ टेस्ट खेले । उनी विकेटकिपर ब्याटर हुन् । गत वर्ष उनकै नेतृत्वमा जनकपुरले उपाधि जितेको थियो । 

योहानाले भने भारतका लागि तीन टेस्ट मात्र खेल्न पाए । योहानासँगै चितवनको मेन्टरमा भारतकै रोबिन सिंह छन् । यो पनि अर्को ठूलो नाम हो । यसपल्टको एनपीएलमा तीन नेपाली प्रशिक्षक छन्, चितवन राइनोजमा अलाम अली, कर्णाली याक्समा ज्ञानेन्द्र मल्ल र सुदूर पश्चिम रोयल्समा जगत टमाटा । काठमाडौं गोर्खाजको जिम्मेवारी भने मोन्टी देसाईका नाममा छ ।

उनका साथमा छन्, वसन्त शाही, जसले गत वर्ष गोर्खाजको नेतृत्व सम्हालेका थिए । यस्तै राजीव कुमारले पोखरा एभेन्जर्स सम्हाल्नेछन् । पुबुदु र मोन्टी यस्ता प्रशिक्षक हुन्, जसले नेपाललाई दुई पटक ट्वान्टी–२० विश्वकपमा डोर्‍याएका थिए । नेपाली समर्थकका लागि उनीहरूको परिचय जरुरी छैन । पुबुदु र मोन्टी मैदानमा उत्रिनेबित्तिकै दर्शकले उनीहरूको तारिफ गर्छन् । मोन्टी भने पहिलो पटक नेपाल आएर फ्रेन्चाइज लिगमा प्रशिक्षण दिइरहेका छन् । 

कुनै बेला विश्व क्रिकेटमा भन्ने गरिन्थ्यो– यस खेलमा प्रशिक्षक चाहिँदैन । अचेल यस्तो कुरा सुन्न छोडिएको छ, बरु प्रशिक्षकको भूमिका पनि निकै ठूलो भएको छ । अब त प्रमुख प्रशिक्षकमुनि अनेक थरीका प्रशिक्षक आउन थालेका छन् । ठ्याक्कै भन्दा ब्याटिङ, बलिङ र फिल्डिङकै अलग–अलग प्रशिक्षक । हुँदाहुँदा प्रशिक्षक जस्तै जस्तै भूमिकामा मेन्टर पनि आउन थालेका छन् ।

हिमेश

Link copied successfully