विदेशी खेलाडीको प्रभाव

यसपालि एनपीएलमा इंग्ल्यान्ड र अमेरिकाका ६–६, अस्ट्रेलिया र दक्षिण अफ्रिकाका ५–५, नामिबियाका ४, न्युजिल्यान्डका ३, भारत, अफगानिस्तान र स्कटल्यान्डका २–२, इटाली र युगान्डाका १–१ खेलाडी खेल्दैछन्

कार्तिक २९, २०८२

विनोद पाण्डे

The influence of foreign players

काठमाडौँ — सैफ जैब नेपाल प्रिमियर लिग (क्रिकेट) को पहिलो संस्करणमा प्लेयर अफ द सिरिज चुनिएका थिए । त्यसक्रममा यी इंग्लिस अलराउन्डरले आफ्नो टोली सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्‍याएका थिए । तर रोयल्स फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भयो ।

जैबले फाइनलमा ६९ रनको इनिङ्स खेले तर त्यो रोयल्सलाई उपाधि दिलाउन पर्याप्त भएन । जैबले एनपीएलको ९ खेलमा २ सय ७५ रन बनाए । उनी पहिलो सिजनको एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडी सूचीमा चौथो स्थानमा थिए । उनले १२ विकेट पनि लिएका थिए । तर जैब यसपालि एनपीएलमा रोयल्सको पहेँलो जर्सीमा देखिने छैनन् । उनले अब चितवन राइनोजबाट खेल्दै छन् ।

जनकपुरबाट खेलेका अमेरिकी मूलका श्रीलंकाली क्रिकेटर लाहिरू मिलान्थाले फाइनलमा जैबलाई ओझेलमा पारेका थिए । विकेटकिपर/ब्याटर मिलान्थाले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८७ रन बनाएपछि जनकपुर रोयल्सलाई उछिन्दै विजेतामात्र बनेन, मिलान्था एनपीएलकै सर्वाधिक रन बनाउने खेलाडी बन्न पुगे । प्लेयर अफ द फाइनल मिलान्थाले यसपालि पनि जनकपुरबाटै खेल्नेछन् ।

जैब र मिलान्थाको तथ्यांकले देखाउँछ एनपीएलमा विदेशी खेलाडीको प्रभाव । यसपालि पनि विदेशी खेलाडीको भूमिका प्रमुख हुने निश्चित जस्तै छ । एनपीएलको नियमअनुसार एउटा टोलीमा ७ नेपाली र ४ विदेशी खेलाडी प्लेइङ ११ मा खेल्न पाउनेछन् ।

विदेशी खेलाडीको कोटा कम भए पनि प्रभाव उनीहरूकै बढी हुने गरेको छ । विदेशी खेलाडीको हकमा फ्रेन्चाइज टोलीहरूको फरक फरक तरिका छ । केहीले नाम चलेका खेलाडी भित्र्याएर चर्चा बटुल्दै खेलमा हाबी हुने तयारी गरेका छन् । अर्काथरीले भने लयमा रहेका खेलाडी भित्र्याएर मैदानमा वर्चस्व जमाउन खोजिरहेका छन् । विदेशी खेलाडीको भूमिका ठूलो हुने गर्छ, त्यसमा कुन टोलीले बढी फाइदा उठाउँछ, त्यो टोली उपाधिका लागि पनि बलियो देखिनेछ । 

जनकपुरले मिलान्थालाई निरन्तरता दिँदा टोलीसँग जिम्मी निसम हुने छैनन् । उनले गत सिजन झन्डै २ सयको स्ट्राइकमा रन बनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एनपीएललाई पूर्ण मान्यता दिएको छैन, जसका कारण टेस्ट राष्ट्रका हाल खेलिरहेका ४ खेलाडीले मात्र एनपीएलमा आएर खेल्न पाउँछन् । अर्थात् आठ फ्रेन्चाइज टोलीमा ४ टोलीले मात्र १–१ ‘क्याप’ खेलाडी खेलाउन पाउनेछन् । जनकपुरले ‘क्याप’ खेलाडीको कोटा नपाएका कारण निसम एनपीएल खेल्न पोखरा एभेन्जर्स लागेका छन् । 

राष्ट्रिय टोलीबाट खेल्न छाडेको दुई वर्ष पुगेका टेस्ट राष्ट्रका खेलाडी भए पनि एनपीएलमा आएर खेल्न पाउने प्रावधान छ । जनकपुरले दक्षिण अफ्रिकाका इमरान ताहिर र वायन पार्नेललाई खेलाउँदै छ । ४६ वर्षे लेग स्पिन जादुगर ताहिर र देब्रेहाते पार्नेल पछिल्लो २ वर्षदेखि दक्षिण अफ्रिकाबाट 

नखेलेका कारण जनकपुरले उनीहरूलाई एनपीएलमा ल्याउन सफल भएको हो । विश्वव्यापी लिग खेल्ने क्रममा ताहिरले यसअघि नै ५० टोलीबाट खेलिसकेका छन् । नेपाल उनको नयाँ गन्तव्य हुनेछ । 

सुदूरपश्चिमबाट खेल्न लागेका अस्ट्रेलियाका क्रिस लिन अर्का अनुभवी हुन् । ‘क्याप’ खेलाडीको सूचीमा लुम्बिनी लायन्सले अफगानिस्तानका गुलबद्दिन नैब, कर्णाली याक्सले अफगानिस्तानकै नाजिबुल्लाह जाद्रान र सुदूरपश्चिमले न्युजिल्यान्डका स्कट कुग्लेइनलाई लिएका छन् । तीव्र गतिका बलर कुग्लेइनले पहिलो सिजनमा जनकपुरका ललित राजवंशीसँगै समान सर्वाधिक १७ विकेट लिएका थिए । पोखराले ‘क्याप’ सूचीमा निसमलाई लिएको हो । तर डिसेम्बर २ देखि हुने यूएईको आईएल टी–२० मा दुबई क्यापिटल्समा आबद्ध रहेकाले निसमले पोखराबाट ४ खेलमात्र खेल्ने सम्भावना छ । 

The influence of foreign players

विदेशी खेलाडी भित्र्याएको हिसाबमा अहिले विराटनगर किंग्स सबैभन्दा चर्चामा छ । टोलीले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र मर्च्यान्ट डी ल्याङ्गे, न्युजिल्यान्डका मार्टिन गप्टिल, स्कटल्यान्डका जर्ज मुन्सी र अस्ट्रेलियाका साम हिजलेटलाई अनुबन्ध गरेको छ । डु प्लेसिसको घोषणाले विराटनगरको ब्रान्डिङलाई उचाइमा पुर्‍याइदिएको छ ।

डु प्लेसिस एनपीएल खेल्न कहिले आउँछन् र कति म्याच खेल्छन् ? यकिन छैन । डु प्लेसिस अबुधाबी टी–१० मा भिस्टा राइडर्ससँग अनुबन्धित खेलाडी हुन् । यो टी–१० नोभेम्बर १८ देखि ३० सम्म हुनेछ । डु प्लेसिसले नोभेम्बर ३० मा अबुधाबी टी–१० को फाइनल खेल्नुपरे विराटनगरले समूह चरणका ७ मध्ये ५ खेल खेलिसकेको हुनेछ । एनपीएल नोभेम्बर १७ मा सुरु हुनेछ र डिसेम्बर ७ सम्म लिग चरण चल्नेछ । 

विराटनगरका निर्देशक दीपेन्द्र चौधरीले डु प्लेसिस दोस्रो हाफमा मात्र एनपीएल खेल्न आइपुग्ने जनाइसकेका छन् । ताहिरले जस्तै डु प्लेसिसले विश्वका लगभग सबै फ्रेन्चाइज लिग खेल्दै आएका छन् । न्युजिल्यान्डका पूर्वओपनिङ ब्याटर गप्टिलले गत सिजन पनि विराटनगरबाटै खेलेका थिए । 

काठमान्डु गोर्खाजले हाल फर्ममा रहेका खेलाडी भित्र्याएको छ । उसले नामिबियाका कप्तान जेरहार्ड इरसमस, उत्कृष्ट लयमा रहेका अमेरिकी ब्याटर मिलिन्द कुमार र नेपाली भूमिमा निकै लोकप्रिय रहेका सन्नी पटेललाई लिएको छ । उनीहरूले गोर्खाजका लागि एनपीएल २ मा ठूलो भूमिका खेल्न सक्छन् । इरसमसले गत वर्ष पनि गोर्खाजबाटै खेल्ने क्रममा ११० रन बनाउनुका साथै ११ विकेट लिएका थिए ।

कमजोर टोलीमा गनिए पनि गत सिजन प्लेअफमा पुगेर चितवन राइनोजले धेरैलाई आश्चर्यमा पारेको थियो । त्यसपछाडिको प्रमुख कारण दुई विदेशी खेलाडी सोहेल तनवीर र रवि वोपारा थिए । काठमान्डु गोर्खाजसँगको पहिलो खेलमै ५ विकेट लिएका तनवीरले कुल १४ विकेट लिए भने वोपाराले ८ खेलमा २८६ रन बनाएका थिए । मिलान्थाले फाइनलमा खेलेको इनिङ्सले मात्र वोपारा सर्वाधिक रन बनाउने खेलाडी सूचीमा दोस्रो स्थानमा झरेका थिए । चितवनले यही अनुभवी सूचीमा इंग्ल्यान्डका डेबिड मलानलाई पनि थपेको छ । ३८ वर्षे मलानले २ वर्षयता इंग्ल्यान्डबाट खेलेका छैनन् । 

एनपीएलमा इंग्ल्यान्ड र अमेरिकाका ६–६, अस्ट्रेलिया र दक्षिण अफ्रिकाका ५–५, नामिबियाका ४, न्युजिल्यान्डका ३, भारत, अफगानिस्तान र स्कटल्यान्डका २–२ खेलाडीले खेल्दै छन् । इटाली र युगान्डाका खेलाडीले पहिलो पटक एनपीएल खेल्न लागेका छन् । इटालीका थोमस ड्राकाले लुम्बिनी लायन्स र युगान्डाका अल्पेस रामजानीले चितवन राइनोजबाट खेल्दै छन् । इटालीलाई पहिलो पटक ट्वान्टी–२० विश्वकपमा पुर्याउने क्रममा दाहिने हाते मध्यम तीव्र गतिका बलर ड्राकाले महत्त्वपूर्ण भूमिका खेलेका थिए । भारतको मुम्बईमा जन्मिएका अल्पेसले सन् २०२२ मा युगान्डाबाट ‘डेब्यु’ गरेका थिए । 

पहिलो सिजनको एनपीएलमा खेलेका १२ विदेशी खेलाडी यसपालि पनि खेल्दै छन् । गत सिजनकै एउटा पनि विदेशी खेलाडीलाई निरन्तरता नदिने टोली लुम्बिनी लायन्स रहेको छ । गत सिजन विदेशी खेलाडी छनोटमा कमजोर 

बनेपछि लुम्बिनीले पुछारमा रहेर लिग अन्त्य गरेको थियो । टोलीले ७ मध्ये १ खेलमात्र जितेको थियो । अफगानिस्तानका गुलबद्दिन नैब, अस्ट्रेलियाका डी’ आर्सी शर्टलाई भित्र्याएको लुम्बिनीलाई यो सिजन विदेशी खेलाडीले कता डोर्‍याउँछन्, त्यो हेर्न बाँकी छ । 

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully