क्रिकेटलाई सधैं दिलमा सजाउने नेपाली दर्शक

देशमा चौतर्फी निराशा छाइरहेका बेलामा कीर्तिपुरमा क्रिकेटको महा–उत्सवले आशा, उमंग जगाउने र उत्साह थप्ने काम पनि समानान्तर रूपमा गरिरहेको छ । एनपीएल प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी आठ टिमले खेलिरहेका छन्, जसले सबै प्रदेशका दर्शकलाई तानेको छ ।

कार्तिक २९, २०८२

विवेक पोख्रेल

Nepali viewers who always cherish cricket in their hearts

What you should know

काठमाडौँ — गत मंसिरमा नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण हेर्न ५५ वर्षीय दामोदर थपलिया श्रीमती सुनितासहित चितवनबाट बिहानै बस चढेर त्रिवि क्रिकेट मैदान आएका थिए । उनीहरूले अघिल्लो दिन नै खेल हेर्ने टिकटको व्यवस्था गरेर काठमाडौं हिँडेका थिए । त्यो समय मैदानमा सातै प्रदेशको टिमका दर्शक एकसाथ भेला भएर खेल हेरिरहँदा मैदानमा कुनै उत्सवभन्दा कम रौनक थिएन ।

सुरुका दिनमा दामोदरले नै श्रीमतीलाई क्रिकेट बुझाउने र खेलाडी चिनाउने गरेका थिए । त्यसपछि त उनीहरू टेलिभिजनमार्फत होस् वा मैदानमै पुगेर प्रायः सँगै क्रिकेट हेरिरहेका हुन्छन् । 

थपलिया क्रिकेटमा एक बलपछि अर्को बलको रोमाञ्चकता हेर्न मज्जा हुने बताउँछन् । अझ २० ओभरको खेलमा त एकै ओभरको ब्याटिङ र बलिङले खेलको नतिजा नै उलटफेर गर्न सक्ने भएकाले पनि अझ उत्सुकता जाग्ने उनको अनुभव छ । ‘अब कति रन हान्ला ? अब के गर्ला भन्ने हुन्छ,’ पहिलो संस्करणको एनपीएल हेर्ने क्रममा नै उनले भनेका थिए । पहिले टीभी नहुँदा ठूल्ठूला क्रिकेट खेलहरू रेडियोमै ‘कमेन्ट्री’ सुनेर मज्जा लिएको पनि उनीसँग अनुभव रहेछ । 

तर, अहिलेको पुस्ताले रेडियोमा क्रिकेट ‘कमेन्ट्री’ अनुभव गर्न पाएन वा परेन । परिवार एकठाउँ बसेर क्रिकेट हेर्ने आकर्षण बढ्दो छ भन्ने दृश्य गतवर्ष टीयू मैदानमा भेटिएका सुदूरपश्चिम कैलालीका ११ वर्षीय कर्सिव धमला र ८ वर्षीय प्रियान्स भट्टराईको अनुभवले पनि बताउँथ्यो ।

उनीहरू परिवारसँग क्रिकेट हेर्न आएका थिए । सुदूरपश्चिमका समर्थक दुवैलाई सानैदेखि क्रिकेटको राम्रो ज्ञान थियो । खेल हेर्न र आफ्नो टिमलाई हौसला दिन मैदानमा बालबालिका, युवादेखि वृद्धवृद्धासम्म पुगेका थिए । यी दर्शकमध्ये केही त सातै प्रदेशका विभिन्न जिल्लाबाट लामो दूरी पार गर्दै काठमाडौंसम्म आइपुगेका थिए । 

नेपालमा क्रिकेट समर्थकको क्रेज बढ्दै गइरहेको छ । एनपीएलका लागि नेपाली समर्थकको क्रेज कतिसम्म बढिसकेको छ भन्ने बुझ्न विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय खेल हुँदा टीयू मैदान छपक्कै ढाक्ने दर्शकको उपस्थितिले नै बताउने गर्छ । गत संस्करणको एनपीएलको उद्घाटन खेलका लागि क्यानले बिक्रीका लागि १० हजार टिकट राखेकोमा २४ घण्टा नबित्दै ‘भीआईपी’तर्फका आठ सय र सामान्यतर्फका नौ हजार दुई सय टिकट बिक्री भएका थिए अर्थात्, खेल सुरु हुनु तीन दिनअगावै सबै टिकट बिक्री भइसकेका थिए । 

पहिलो संस्करणमा भौतिक रूपमा मैदानमा नै उपस्थित भएर खेल हेर्नेको संख्या १ लाख ५० हजारभन्दा बढी रहेको क्यानको तथ्यांकमा छ । ६ करोडभन्दा बढीले यो संस्करणका खेल विभिन्न माध्यमबाट हेरेका थिए । प्रत्येक खेलको औसत दर्शक टेलिभिजन, युट्युबलगायतका अनलाइन प्लाटफर्ममा १५ लाखभन्दा बढी छन् ।

पहिलो संस्करणकै कुरा गर्दा ठाउँ नभएपछि कतिपय दर्शकले वरपरका अग्ला रूखमा चढेरै पनि कष्टपूर्वक क्रिकेट हेरेका थिए । खेल सुरु हुनुभन्दा घण्टौंअघि नै समर्थकको लाइन मैदानको बाहिर लाग्नु, रातभरिको यात्रा तय गर्दै काठमाडौं आइपुग्नु, आफ्नो टिमको समर्थनका लागि लोगो नै शरीरका विभिन्न भागमा बनाउनु, आफ्नो टिमको झन्डा बोक्दै चिच्याएर साथ दिनु, आफ्नो क्षेत्रको टिमअनुसारको भेषभूषा, संस्कृति र बाजागाजासहित प्रस्तुत हुनु जस्ता घटना एनपीएलको पहिलो संस्करणमा देखिएका लोभलाग्दा र रोचक दृश्य हुन् ।

कुनै टोलीको समर्थनमा मात्र नभएर खेलाडीका समर्थनमा खेल हेर्न पुग्ने दर्शकको संख्या पनि बाक्लो देखिन्थ्यो । नेपालमा स–परिवार एउटै टिमका जर्सी लगाएर खेल हेर्न पुग्ने, खेलाडीको नाम लेखिएका साइनबोर्ड बोकेर चिच्याउने जस्ता दृश्यहरू नेपाली क्रिकेट शुभचिन्तकमाझ अब सामान्य जस्तै भइसकेका छन् ।

नेपाल प्रिमियर लिग हेर्नकै लागि विश्व क्रिकेटकै महान् हस्ती वेस्ट इन्डिजका खेलाडी ब्रायन लारा नेपाल आउनु, विश्वकै उत्कृष्ट खेलाडी न्युजिल्यान्डका मार्टिन गप्टिल, भारतका शिखर धवन, न्युजिल्यान्डका जिम्मी निसम, श्रीलंकाका लाहिरू मिलन्था जस्ता खेलाडीको एनपीएलमा सहभागिता हुनुले घरेलु दर्शकको मात्र नभई विश्वकै ध्यान तानेको थियो । 

पहिलो संस्करणमा एनपीएल हेर्न जति दर्शक मैदानमा ओइरिए, त्यति नै संख्यामा मैदान बाहिर पनि दर्शक भीड देखिन्थ्यो । जुन अन्य देशका ‘फ्रेन्चाइजी लिग’मा देख्न मुस्किल हुन्छ । अचेल अन्तर्राष्ट्रिय होस् या घरेलु प्रतियोगिता, नेपाली खेलाडी सहभागी भएको क्रिकेट खेल हेर्न मैदानमै पुग्ने नेपाली दर्शकको भीड थेगिनसक्नुको हुने गर्छ । नेपाली दर्शकको क्रिकेट ‘क्रेज’को तारिफ केवल देशभित्र मात्र नभई विश्वभर फैलिइसकेको छ । 

देशमा चौतर्फी निराशा छाइरहेका बेलामा कीर्तिपुरमा क्रिकेटको महा–उत्सवले आशा, उमंग जगाउने र उत्साह थप्ने काम पनि समानान्तर रूपमा गरिरहेको छ । एनपीएल प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी आठ टिमले खेलिरहेका छन्, जसले सबै प्रदेशका दर्शकलाई तानेको छ । घुम्न, किनमेल गर्न वा कुनै पारिवारिक/सरकारी कामका लागि मात्र काठमाडौं आउने परम्परामा गत वर्षबाट थपिएको छ, आफ्नो टिम, खेलाडी र क्षेत्रको समर्थन गर्दै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानसम्मै खेल हेर्न आउने पनि । 

हुन त विदेशमा समेत नेपाली टोलीलाई हौसला दिन राष्ट्रिय झन्डा बोकेर खेल मैदानमा हजारौं नेपाली पुगेका भेटिन्छन् । १५ वर्षअघि अस्ट्रेलिया पुगेका कास्कीका सुपक अधिकारी पनि नेपालमा क्रिकेट मोह बढेकोमा दंग छन् । ‘म अस्ट्रेलिया आउनुअघि पनि नेपालमा क्रिकेटको खासै क्रेज थिएन । तर जब जब नेपालले क्रिकेटमा राम्रो गर्दै गयो, तब यसको क्रेज पनि युवापुस्ता हुँदै बालबालिकादेखि पाको पुस्तासम्म विस्तार भइरहेको देखिन्छ,’ उनले भने, ‘नेपालको खेल हेर्न म आफैं ३/४ देशहरूमा पनि पुगेको छु । क्रिकेटले नेपाललाई लगातार विश्वमञ्चमा पुर्‍याइरहेको हुँदा म हारजितमा भन्दा पहिले उपस्थिति ठूलो हो भन्ने ठानेर पुगेको हुन्छु ।’ 

अधिकारी अस्ट्रेलियामा हुने ‘विग बास’मा नेपालका सन्दीप लामिछाने खेल्ने भएपछि स–परिवार उनका सबै खेल हेर्न पुगेको सुनाउँछन् । अधिकारी एनपीएलमा भने सुदूरपश्चिमको समर्थक हुन् । ‘नेपालको जर्सी, हातमा नेपाली झन्डा, अनुहारमा उत्साह बोकेर दर्शक बन्दाको खुसी शब्दमा व्यक्त गर्न सकिँदैन । एनपीएल पनि हाम्रो उत्सव भएको छ । यस पटक एनपीएलको तालिका सार्वजनिक भएपछि टेलिभिजनमा सबै खेल हेर्नका लागि समय व्यवस्थापन गरिसकेको छु,’ उनले कान्तिपुरसँग भने, ‘काम छोट्याएर भए पनि नेपाली क्रिकेट टेलिभिजनबाट समेत हेर्दै आएको छु,’ उनको बुझाइमा खेलाडीले राम्रो गरेकाले नै क्रिकेट ‘क्रेज’ बढेको हो । 

‘पहिले–पहिले नेपालका खेलहरू गाउँमा छँदै टीभीमा हेर्थेऔं । नेपालले जितेपछि खुसी हुँदै गाउँ परिक्रमा गरिन्थ्यो,’ अध्ययनका क्रममा यतिबेला काठमाडौंमा रहेका रविन दाहालले भने, ‘क्रिकेटको ठूलो प्रतियोगिताको रूपमा हामी आईपीएललाई लिन्थ्यौं । समर्थक पनि थियौं । तर अहिले त्यस्तै प्रतियोगिता नेपालमा पनि हुँदा खुसी लागेको छ ।’

विदेशी खेलाडीसमेत नेपाली मैदानमा खेलिरहेको देख्न पाइने हुँदा प्रत्येक खेल हेर्न जाने उनको योजना छ । नेपाली दर्शकको भीड स्टेडियममा मात्र नभई अझै पनि गाउँघरतिर प्रोजेक्टरहरूमा खेल देखाउने परम्परा उस्तै छ । जब नेपाली टिम र खेलाडी मैदानमा उत्रिन्छन्, त्यो बेला लाखौं नेपाली आफैं मैदानमा उत्रेझैं महसुस गर्छन् । 

छिमेकी मुलुक भारतले २००८ मा इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु गरेपछि त्यसले बहुआयामिक प्रभाव पार्‍यो । त्यसपछि त्यसको सिको सबैतिर हुन थाल्यो । अस्ट्रेलियामा विग बास, वेस्ट इन्डिजमा क्यारेबियन प्रिमियर लिग, इंग्ल्यान्डमा द हन्ड्रेड, दक्षिण अफ्रिकामा रामस्लाम टी–ट्वान्टी च्यालेन्ज, बंगलादेशमा बीपीएल, पाकिस्तानमा पीएसएल, श्रीलंकामा लंका प्रिमियर लिग हुँदै आएका छन् । लिग खेलप्रति व्यापक लगाब मात्र बढेको छैन, ती देशको खेलस्तरसँगै देशको अर्थतन्त्र पनि उकासिएको छ ।

त्यसैक्रममा नेपाल क्रिकेट संघ (क्यान) द्वारा एनपीएलको सुरुवात हुनु पनि नेपाली खेलप्रेमीका लागि महापर्व बनेको छ । जहाँ दर्शक र समर्थकको उत्साह व्यापक हुने गर्छ । रंगशालामा राखिएका कुर्सीहरू र टिकटहरू यस पटक नपुग्ने निश्चित छ । ट्रफी टुरमा देखिएको भीड र मानिसको चासोले पनि यो कुरालाई इंगित गर्छ । एनपीएलको मिति नजिकिँदै जाँदा पनि अहिले सहरका भीडभाड, गाउँका घर–आँगन, चियापसल–क्याफे, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाल सबैतिर एनपीएल क्रिकेटमय बनेको छ । 

नेपालमा क्रिकेट खेल भित्रिएको एक शताब्दीभन्दा लामो भए पनि अहिले जनताको गर्व र उत्साहको स्रोत बनिसकेको छ । सर्वाधिक रुचाइने खेलका रूपमा क्रिकेट बनिसकेको छ । २०१४ मा पहिलो पटक विश्वकपमा पुगेपछि नेपालमा क्रिकेटको ‘क्रेज’ ह्वात्तै बढेको हो । अहिले क्रिकेट एकेडेमीहरू पनि बिस्तारै बढ्दै गएका छन् ।

रोयल क्रिकेट एकेडेमी नवलपुरका सञ्चालक तथा प्रशिक्षक सन्तोष न्यौपाने एनपीएलले गाउँगाउँमा क्रिकेट खेलप्रति सकारात्मक सन्देश प्रवाह गरेको बताउँछन् । ‘पहिले स्कुल बिदा हुँदा मात्र एकेडेमी सञ्चालन हुन्थ्यो । तर अहिले अभिभावकले नै बालबालिका लिएर एकेडेमी आउनुहुन्छ,’ न्यौपानेले भने, ‘सीमित महिनामात्र सञ्चालन हुने हाम्रो एकेडेमी अहिले १२ महिना नै सञ्चालनमा छ ।’ 

उनका अनुसार अभिभावकले पाँच वर्षकै हुँदादेखि आफ्ना बालबालिकालाई एकेडेमीमा भर्ना गर्न ल्याउने गरेका छन् । एनपीएलपछि त यो संख्या झन् तेब्बर भएको बताउँदै न्यौपाने देशभित्र अहिले क्रिकेट खेल व्यावसायिक बन्दै गएकोमा खुसी व्यक्त गर्छन् । क्रिकेट ‘क्रेज’कै कारण नेपालमा निजी लगानीमा काठमाडौं बाहिर पनि एकेडेमीहरू खुल्ने क्रम बढ्दो छ ।

स्थानीय सरकारहरू पनि पछिल्लो ‘क्रेज’ले क्रिकेट खेलका लागि मैदान र संरचना बारे सोच्दै छन् । कहीं त निजी लगानीमै पनि संरचना निर्माण भएका छन् । तर, नेपालले अहिले पनि ‘स्टेडियमसम्बन्धी चुनौती’ झेलिरहेको छ । सिट क्षमता, सुविधात्मक संरचना, पार्किङ क्षमता सबै अझै अपुग छन् । तर जुन रूपमा नेपाली क्रिकेटले दर्शकको मन जितेको छ, त्यस हिसाबले भविष्य निकै उज्ज्वल देखिन्छ ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully