ठूला व्यावसायिक घरानाको लगानी, पर्यटन प्रवर्द्धन र विज्ञापन बजारको विस्तारसँगै एनपीएलले रोजगारी, व्यापार र राजस्व वृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने देखिएपछि एनपीएललाई सुस्त अर्थतन्त्र चलायमान बनाउन विशेष राहत प्याकेज ‘माइक्रो इकोनोमिक स्टिमुलस’ का रूपमा हेरिएको छ
What you should know
काठमाडौँ — ‘इतिहासमा यति धेरै लगानी कहिल्यै पनि भएको छैन, अब के हुन्छ भन्नेचाहिँ छ,’ नेपाल प्रिमियर लिग (एनपीएल) को पूर्वसन्ध्यामा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का खेलकुद पत्रकारसँग अन्तरक्रिया गर्दै थिए । ६० भन्दा बढी कर्पोरेट हाउस प्रत्यक्ष जोडिएकाले एनपीएल नेपालीहरूका लागि एउटा उत्सवका रूपमा रहेको उनको भनाइ थियो । नेपालका पूर्वकप्तानसमेत रहेका पारस अब एनपीएललाई पनि दसैं, तिहारलगायतका पर्वजस्तै मनाउनुपर्ने बताइरहेका थिए ।
च्याम्पियन जनकपुर बोल्ट्सले गत वर्ष नेपाल ल्युब ओइल लिमिटेडको गल्फसँग प्रायोजन सम्झौता गरेको थियो । नेपाल ल्युब ओइलका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत करण चौधरी सम्झौता भए पनि उनी त्यसमा कतै देखिएनन् । तर जनकपुरले त्यही नेपाल ल्युबसँग यस पटकको एनपीएलका लागि सम्झौता नवीकरण गर्दा चौधरी फरक रूपमा प्रस्तुत भए ।
आफ्नै प्रत्यक्ष उपस्थितिमा जनकपुरसँग प्रायोजन सम्झौता नवीकरण गरेपछि उनी भन्दै थिए, ‘गत वर्ष मैले यो सम्झौतालाई सामान्य हिसाबमा लिएको थिएँ तर एनपीएल हेर्न मैदान गएपछि मात्र यसको महत्त्व थाहा पाएँ, अब यो सम्बन्ध जोड्ने र गाँस्ने मात्र होइन, अबको उतारचढाव एकआपसमै बाँड्ने पनि हो ।’ जनकपुरले उपाधि जितेपछि उत्साहित चौधरीले प्लाजा होटलमा च्याम्पियन टोलीलाई रात्रिभोज नै दिएका थिए ।
एनपीएलले कम्पनीहरूलाई ठूलो प्लेटफर्म बनाइदिएको चौधरी बताइरहेका थिए । एनपीएलभन्दा बाहिर बस्न अब कर्पोरेट हाउसलाई गाह्रो हुने उनको तर्क थियो । एनपीएल अब केवल क्रिकेटको प्रतियोगिता मात्रै रहेन, ठूला कम्पनीहरूका लागि बजार विस्तार गर्ने ठूलो माध्यम पनि बनेको छ । चौधरीलाई यो बुझ्न धेरै समय लागेन ।
लामो समयदेखि चलायमान बन्न नसकेको अर्थतन्त्रमा प्राण भर्ने ‘आशाको दियो’ बनेको छ, एनपीएल । पहिलो संस्करणमै ख्याति र ठूलो लोकप्रियता कमाएको एनपीएलको दोस्रो संस्करणले पनि लाखौं दर्शकको माया पाउने निश्चितप्रायः छ । ठूला व्यावसायिक घरानाको लगानी, पर्यटन प्रवर्द्धन र विज्ञापन बजारको विस्तारसँगै एनपीएलले रोजगारी, व्यापार र राजस्व वृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने देखिएको छ । यसकारण पनि एनपीएललाई सुस्त अर्थतन्त्र चलायमान बनाउन विशेष राहत प्याकेज ‘माइक्रो इकोनोमिक स्टिमुलस’ का रूपमा हेरिएको छ ।
अहिले अर्थतन्त्र शिथिल रहेका बेला एनपीएलले एक अर्बभन्दा धेरैको आर्थिक कारोबार गराउनेछ । यसले अर्थतन्त्र चलायमान मात्र बनाउने छैन, रोजगारी सिर्जना, उपभोगमा वृद्धि र लगानी आकर्षणमार्फत घरेलु अर्थतन्त्रलाई सक्रिय बनाउनेछ । यसले लगानीकर्तालाई आँट र भरोसा पनि दिनेछ । एनपीएल नजिकिएसँगै अर्थतन्त्रमा पनि सरगर्मी बढेको छ । धमाधम भइरहेका होटल बुकिङ, ठूलो संख्यामा जर्सीको व्यापार, फ्रेन्चाइजहरूद्वारा भइरहेको प्रचारप्रसार तथा ब्रान्डिङ र बढ्दो व्यावसायिक घरानाको आबद्धताले देशकै अर्थतन्त्रमा आशा जगाएको छ ।
एनपीएलमा उत्कृष्ट बन्ने लक्ष्यसहित यति बेला हरेक टिम प्रतिस्पर्धाको अन्तिम तयारीमा जुटेका छन् । यसका लागि काठमाडौं उपत्यकासँगै पोखरा, विराटनगरलगायत मुख्य सहरका होटलहरू भरिभराउ छन् । उपत्यका बाहिरका दर्शकहरूले पनि खेल हेर्न काठमाडौं आउनका लागि होटल बुकिङ गरेका छन् ।
दर्शकका लागि क्यानले टिकट बिक्री पनि खुलाइसकेको छ । यतिबेला एनपीएलको रन्कोले नेपाली खेलकुद क्षेत्र मात्र नभई बजार–व्यवसाय, कलाकारिता क्षेत्रदेखि समग्र अर्थतन्त्र नै तातेको छ । देश र सरकारले नेपाली खेलकुदमा खासै लगानी गरेको छैन, गरे पनि खेलको विकास र विस्तारमा पर्याप्त छैन भनिरहेका बेला एनपीएल एउटा गतिलो जवाफ हुन सक्छ । नेपाली खेलाडीलाई खेलेरै कमाउन सकिन्छ भन्ने एउटा ‘प्लेटफर्म’ बनेको छ, एनपीएल ।
फ्रेन्चाइजको खर्च १० करोडसम्म
यस वर्ष पनि हरेक फ्रेन्चाइजको खर्च ८ देखि १० करोड रुपैयाँसम्म हुने देखिएको छ । यो खर्च गत वर्ष बराबर नै हो । यद्यपि यो दोस्रो संस्करण भएकाले फ्रेन्चाइज खरिद गर्नु नपरेको र नवीकरण मात्र गरे पुग्ने, ब्रान्डिङ र सामाजिक सञ्जालमा पनि कम खर्च हुने भएकाले गत वर्षभन्दा केही घट्ने फ्रेन्चाइजहरूले बताएका छन् ।
यद्यपि खेलाडीको तलब भत्ता, खाने, बस्ने व्यवस्था, स्वास्थ्य, प्रशिक्षणलगायतमा भने फ्रेन्चाइजहरूले कमी गरेका छैनन् । यसकारण यस वर्ष पनि हरेक फ्रेन्चाइजहरूको खर्च गत वर्षकै हाराहारीमा हुने अनुमान छ । फ्रेन्चाइज टोलीले नेपाली खेलाडीमा १ करोड र विदेशी खेलाडीमा २ करोड हाराहारी खर्च गर्ने देखिन्छ ।
अर्ब बढीको आर्थिक कारोबार
अहिले वित्तीय क्षेत्रमा झन्डै १२ खर्ब रुपैयाँ ऋणयोग्य रकम थुप्रिएको छ । कर्जा माग बढेको छैन । कर्जा माग नहुँदा नयाँ उद्योगधन्दा खुलेका छैनन् भने पुरानाको पनि कारोबार खुम्चिएको छ । चालु आर्थिक वर्षका सुरुका महिनादेखि धिमा गतिमा सुधारको संकेत देखिन थालेको अर्थतन्त्रमा भदौ २३ र २४ को आन्दोलनले तहसनहस पारिदिएको छ ।
भाटभटेनीलगायत धेरै निजी व्यापार व्यवसाय खरानी भएका छन् भने निजी क्षेत्रको मनोबल इतिहासकै कमजोर बनेको छ । बजार माग घटेको छ भने आर्थिक गतिविधिमा पनि सुस्तता आएको छ । यस्तो अवस्थामा पनि एक अर्बभन्दा बढीको आर्थिक गतिविधि एनपीएलकै कारण सिर्जना हुँदै छ । एनपीएलको पहिलो संस्करणमा गत वर्ष प्रचारप्रसार, ब्रान्डिङ, अत्यावश्यक पूर्वाधारलगायतमा क्यानले करिब २० करोड खर्चेको थियो ।
यस्तै, आठ वटा फ्रेन्चाइजहरूमध्ये हरेकले ८ देखि १० करोड खर्च गरेका थिए । यस आधारमा एनपीएलको पहिलो संस्करणमा करिब एक अर्बको आर्थिक कारोबार भएको थियो । क्यानका प्रवक्ता छुम्बी लामा यस वर्ष क्यान र फ्रेन्चाइजहरूले आफ्नो सञ्चालन खर्च घटाउन जोडबल गरिरहेको बताउँछन् ।
पहिलो संस्करणमा सबै कुरा नयाँ भएकाले धेरै खर्च लागे पनि यस वर्ष गत वर्षको भन्दा सञ्चालन खर्च घटाउने लक्ष्य आफूहरूको रहेको उनले बताए । फ्रेन्चाइजहरूको लाइसेन्सबाट मात्र क्यानलाई करिब २७ करोड रुपैयाँ प्राप्त भएको थियो । यस वर्ष आम्दानी बढ्ने र खर्च घट्ने विश्वास क्यानको छ ।
‘गत वर्षको एनपीएलमा क्यानले २० करोड रुपैयाँ खर्च गरेको थियो । यस वर्ष गत वर्षको भन्दा कम खर्च गर्ने क्यानको लक्ष्य छ । गत वर्ष आवश्यक पूर्वाधार, तयारी, ब्रान्डिङ, प्रवर्द्धनलगायतमा धेरै खर्च भएको थियो,’ लामाले भने, ‘यस वर्ष क्यानको मात्र होइन, फ्रेन्चाइजहरूको पनि खर्च घट्ने देखिएको छ ।’ यसरी हेर्दा दोस्रो संस्करणमा पनि ८० करोडदेखि एक अर्ब रुपैयाँसम्मको आर्थिक कारोबार हुने क्यानको अनुमान रहेको छुम्बीले बताए ।
गत वर्षजस्तै यस वर्ष पनि एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक र सहप्रायोजकमा एनसेल छ । यी कम्पनीहरूले आगामी पाँच वर्षका लागि गत वर्ष नै एनपीएलसँग सम्झौता गरिसकेका थिए । यसबाहेक एनपीएलले गत वर्ष विभिन्न कम्पनी तथा ब्रान्डसँग प्रायोजन सम्झौता गरेको थियो । यस वर्ष एनपीएलसँग आबद्ध हुने कम्पनीको संख्या बढेर १५ देखि १७ वटा पुग्ने क्यानले जनाएको छ । प्रायोजकबापत यी कम्पनीहरूसँग कति पैसा संकलन भएको छ भन्नेबारे क्यानले बताएको छैन । यद्यपि प्रायोजकबाट संकलन भएको आम्दानी क्यानले सार्वजनिक गर्ने बताइएको छ ।
आठ करोड बढीको टिकट बिक्री हुने अनुमान
यस वर्ष टिकट बिक्रीबाट मात्र करिब ८ करोडभन्दा बढी आम्दानी हुने क्यानको अनुमान छ । गत वर्ष करिब साढे ४ करोड रुपैयाँ टिकट बिक्रीबाट आम्दानी गरेको क्यानले यस वर्ष त्यो आय दोब्बरभन्दा बढी हुने अनुमान गरेको छ । यस वर्ष सुविधा सम्पन्न रंगशाला भएकाले क्यानले खेल र स्थानअनुसार टिकटको मूल्य तोकेको छ ।
एनपीएलको टिकट बिक्री सोमबार रातिबाटै खुला गरिएको छ । प्रतियोगिताका सबै खेल कीर्तिपुरमा हुनेछन् । उद्घाटन खेल काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सबीच हुनेछ । यो खेलको टिकट बिक्रीका लागि खुलेको २४ घण्टाभित्रैमा सबै सकिएका थिए । पहिलो दिनको टिकट दर साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार ५ सय रुपैयाँ राखिएको छ । राउन्ड रोबिन लिगमा अन्य दिनको टिकट दर ५ सय र एक हजार तोकिएको छ । एउटै टिकटले दुवै खेल हेर्न पाइनेछ ।
प्लेअफको एक हजार र दुई हजार (प्रिमियम) तोकिएको छ । सिजनल टिकटतर्फ १५ हजार रुपैयाँ तोकिएको छ । सिजनलमा २० प्रतिशत छुट दिइएको जनाइएको छ । क्यानले खल्ती एपबाट टिकट बिक्री गरिरहेको छ ।
जर्सीको बिक्री ह्वात्तै बढ्यो
गत वर्षको तुलनामा यस वर्ष जर्सीको माग ह्वात्तै बढेको फ्रेन्चाइजहरूले बताएका छन् । उनीहरूका अनुसार गत वर्षभन्दा कम्तीमा पनि दोब्बर बढी जर्सी बिक्री हुने देखिएको छ । पोखरालगायत केही फ्रेन्चाइजहरूले कन्सर्ट नै गरेर जर्सी बेचिरहेका छन् भने केहीले आधिकारिक विक्रेता र अनलाइनमार्फत पनि ठूलो संख्यामा जर्सी बिक्री गरिरहेका छन् । १ हजारदेखि २ हजार मूल्य तोकेर फ्रेन्चाइजले आफ्नो जर्सी बिक्री गरिरहेका छन् । क्यानले यस वर्ष पनि करिब एक सय कर्मचारी र त्यत्तिकै संख्यामा स्वयंसेवक परिचालन हुने बताएको छ ।
फ्रेन्चाइजहरूको आम्दानी बढ्ने
गत वर्षको तुलनामा यस वर्ष फ्रेन्चाइजहरूको आम्दानी पनि बढ्ने देखिएको छ । हरेक फ्रेन्चाइजहरूले गत वर्षको तुलनामा ‘स्पोन्सर्स’ हरूको संख्या बढाएको, टिकट बिक्रीलगायत क्यानबाट प्राप्त हुने आय पनि बढ्ने भएकाले उनीहरूको आम्दानी बढ्ने भएको हो ।
आईपीएल साढे १८ अर्ब अमेरिकी डलरको ब्रान्ड
विश्वका कुल क्रिकेटका दर्शकमध्ये अधिकांश भारतकै रहेको अन्तर्राष्ट्र्रिय क्रिकेट बोर्डले जनाएको छ । यसले पनि भारतमा क्रिकेटको क्रेज कति धेरै छ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । क्रिकेटको यही क्रेज देखेर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सन् २००८ देखि घरेलु टी–२० क्रिकेट लिग ‘इन्डियन प्रिमियर लिग’ (आईपीएल) को सुरुवात गरेको हो । सुरु भएको करिब १७ वर्षमा आईपीएलको ब्रान्ड भ्यालु (व्यावसायिक मूल्यांकन) साढे १८ अर्ब अमेरिकी डलर पुगेको छ । २०२४ को तुलनामा २०२५ मा यो करिब १३ प्रतिशतले बढेको हो ।
२०२५ मा फ्रेन्चाइजहरूले ६ अर्ब ५० करोडदेखि ७ अर्ब रुपैयाँसम्म आर्जन गरेका छन् । २०२५ को फाइनलमा हालसम्मकै धेरै दर्शक रंगशालामा ओर्लिएका थिए । रोयल च्यालेन्जर्स बेंगलोर र पञ्जाब किंग्सबीचको फाइनल जियोसिनेमामा ६० करोडभन्दा बढी भ्युज प्राप्त गर्दै इतिहासकै सबैभन्दा धेरै हेरिने खेल प्रतियोगितामध्ये एक बनेको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् । आईपीएलले भारतीय अर्थतन्त्रमा पुर्याएको टेवाजस्तै एनपीएलले पनि नेपाली अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
तीन लाख बढी दर्शक उत्रिने
क्यानका अनुसार गत वर्ष हरेक दिन औसतमा ५ हजार दर्शकले कीर्तिपुर रंगशालामै उपस्थित भएर खेल हेरेका थिए । यसका आधारमा उक्त सिजनमा डेढ लाख बढी दर्शकले प्रत्यक्ष रूपमा रंगशालामा उपस्थित भएरै खेल हेरेका थिए । ‘यस वर्ष रंगशालाको पुनर्निर्माण गरिएको छ । फ्लड लाइटहरू राखिएका छन् ।
दर्शकका लागि पनि कुर्सीको व्यवस्था गरिएको छ । १० हजार दर्शक क्षमताको सुविधा सम्पन्न रंगशाला बनाइएको छ । यसका आधारमा पनि यस वर्ष ३ लाखभन्दा बढी दर्शकले रंगशालामा नै उपस्थित भई प्रत्यक्ष खेल हेर्ने क्यानको अनुमान छ । युट्युबलगायत सामाजिक सञ्जालमा गत वर्ष १५ करोड बढीले खेल हेरेकामा यस वर्ष दोब्बर हुने अनुमान क्यानका प्रवक्ता लामाको छ ।
