विश्वकपको पूर्वसन्ध्यामा एनपीएल

ट्वान्टी–२० विश्वकप तीन महिनापछि भारत र श्रीलंकामा हुँदै छ, क्रिकेटको कान्छो ढाँचाको यो सबैभन्दा ठूलो प्रतियोगिता हो र यसैमा नेपाल छनोट भइसकेको छ, यही पृष्ठभूमिमा नेपाल प्रिमियर लिग (एनपीएल) हुँदै छ

कार्तिक २९, २०८२

हिमेश

NPL on the eve of the World Cup

What you should know

काठमाडौँ — अन्ततः यस्तो एउटा नेपाली उत्पादन तयार भएको छ, जसलाई हेर्न, बुझ्न र महसुस गर्न बाँकी विश्व उत्सुक छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सोमबार कीर्तिपुरको त्रिवि मैदानमा सुरु हुँदै छ । 

पोहोर मात्रै सुरु भएको हो यो प्रतियोगिता । एनपीएलमा अझै धेरै कमजोरी छन्, आलोचना पनि उत्तिकै छन्, भविष्यलाई लिएर ढुक्क हुने स्थिति पनि छैन तर यो त्यस्तो प्रतियोगिता भएको छ, जसले धेरै सकारात्मक लहर ल्याएको छ ।

विश्व क्रिकेटकै एक हस्ती शिवनारान चन्द्रपालले काठमाडौं झरेपछि भनेका छन्, ‘यस्तो प्रतियोगिताका कारण तपाईंको देशको क्रिकेटलाई विश्वले हेरिरहेको छ ।’ उनी यसपल्ट जनकपुर बोल्ट्सको प्रशिक्षकका रूपमा देखा पर्दै छन् । जनकपुरले एनपीएलको उद्घाटन खेलमा काठमान्डु गोर्खाजको सामना गर्नेछ । 

आयोजक नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का नेपाली क्रिकेटलाई धेरै माथि पुर्‍याउन थपिएको एक इँटाका रूपमा एनपीएल रहेको बताउँछन् । ‘हामी सबैप्रति कृतज्ञ छौं । यो एकै दिनमा तयार भएर यहाँसम्म आइपुगेको प्रतियोगिता होइन । यसको आधार धेरै अगाडि तयार भएको थियो,’ उनी भन्छन् । खड्का लामो समय खेलाडी तथा कप्तानको भूमिकामा रहेका थिए । नेपाली मिडियासामु शुक्रबार प्रस्तुत हुने क्रममा उनले दिएको अभिव्यक्तिको सार थियो, ‘काम धेरै बाँकी छ ।’ 

नेपालमा फ्रेन्चाइज क्रिकेटको अलिकति लामै इतिहास भए पनि क्यान आफैंले यस्तो प्रतियोगिता गरेको गत वर्षदेखि हो । पहिलो प्रयासमै अपार सफल भयो । पहिलो संस्करणले धेरैको मन जित्यो ।

दर्शकको उल्लेख्य उपस्थिति, केही धेरै नाम चलेका अन्तर्राष्ट्रिय विदेशी खेलाडीको आगमनदेखि लिएर रोमाञ्चक खेल शृंखलाका कारण एनपीएलले पूरा विश्वमै चर्चा पायो । कतिसम्म भनियो भने यसको चमकधमक अगाडि क्रिकेटका ठूला देशमा हुने यस्तै प्रतियोगिता पनि कमजोर सावित भएका छन् ।

एनपीएलको चर्चा देशभित्र त व्यापकै थियो । क्रिकेट आम नेपालीबीच चिया खाँदा गफिने एउटा विषय बनेको थियो । गत वर्ष जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो । उसले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराएको थियो । यी दुईबाहेक चितवन राइनोज र कर्णाली याक्स प्ले–अफ पुगेका थिए । 

काठमान्डु गोर्खाज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भने लिग चरणमै रोकिएका थिए । यसपल्टको प्रतियोगितामा पनि स्वरूप उस्तै छ, सुरुमा 

एकले अर्कोसँग एक–एकपल्ट खेल्नेछन् । लिग चरणको समाप्तिमा प्ले–अफको समीकरण बन्ने छ अनि फाइनल । सबैको कौतूहल छ, कस्तो होला यसले पस्कने स्वाद ? ब्याटबाट को चम्किने छन् अनि बलबाट कसले राम्रो गर्ला ? फेरि फिल्डिङ नि ? 

लिग चरणका खेल अगाडि बढ्दै जाँदा जित–हार मात्रै निर्णायक हुने छैन, केही अवसरमा नेट रन रेटको हिसाब आउनेछ । यसकै लागि भनेर प्रशिक्षक र उनका सहयोगीको एउटा नजर गणितीय लेखाजोखामा पनि हुनेछ । अनि यसमै क्रिकेट बुझेका आम दर्शक पनि झुमिनेछन् ।

पृष्ठभूमिमा विश्वकप छनोट

ट्वान्टी–२० विश्वकप तीन महिनापछि भारत र श्रीलंकामा हुँदै छ । क्रिकेटको कान्छो ढाँचाको यो सबैभन्दा ठूलो प्रतियोगिता हो र यसैमा नेपाल छनोट भइसकेको छ । यही पृष्ठभूमिमा एनपीएल हुँदै छ । गत वर्षको एनपीएलले कुनै न कुनै रूपमा विश्वकप छनोटका लागि नेपाली टिमलाई सहयोग गरेको थियो । के यसपल्टको प्रतियोगिताले अबको विश्वकपमै राम्रो खेल्न प्रेरित गर्छ त ? के नेपाल कुनै न कुनै टेस्ट मान्यता प्राप्त देशलाई हराउन सफल हुनेछ त ?

विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालको प्रदर्शन गज्जब नै रह्यो, टिम छनोट मात्र भएन, च्याम्पियन नै बन्यो । ओमानको मस्कटमा भएको त्यस प्रतियोगितामा नेपालले कुनै पनि खेल हारेन ।

अझ त्यस छनोटकै तयारीका रूपमा नेपालले वेस्ट इन्डिजविरुद्ध तीन खेलको सिरिज खेलेको थियो र त्यसमा पनि २–१ ले विजयी रह्यो । त्यसै सिरिज हेरेर प्रभावित रहेका वेस्ट इन्डिजकै चन्द्रपालले भनेका छन्, ‘वेस्ट इन्डिज कमजोर थिएन, त्यसैले त्यही टिमलाई हराउने नेपालमा केही त पक्कै छ ।’ फेब्रुअरी पहिलो साताबाट हुने विश्वकपकै तयारीका रूपमा यो एनपीएल रहनेमा शंका छैन । 

नयाँ रंगशाला र फ्लड लाइट्स

यसपल्टको एनपीएल दुई कारणले फरक र विशेष हुनेछ । त्यसमध्ये पहिलो कारण हो, पुनर्निर्माणबाट गुज्रेको त्रिवि क्रिकेट मैदान । अर्को, फ्लड लाइटमा हुने खेल । त्यो भनेको केही खेल सकिँदा राति ८ बजे छेउछाउ पुग्नेछ । त्यस खेलमा फ्लड लाइट बालिनेछ । दर्शकले भरिभराउ रंगशाला फ्लड लाइटमा मनमोहक देखिनेछ । 

आम दर्शकले बुझ्नुपर्ने के हो भन्दा दिउँसो मज्जाको घाममा हुने क्रिकेट र बेलुका साँझपछि हुने क्रिकेटमा फरक छ । ४ बजेपछिको खेलमा टसको भूमिका ठूलो रहनेछ । जुन टिमले पहिला टस जित्नेछ, त्यसैले पहिला बलिङ गर्ने सम्भावना बढी हुनेछ किनभने कृत्रिम प्रकाशमा बलिङ र फिल्डिङ सजिलो हुने छैन । 

‘ड्यु फ्याक्टर’ ले यसपल्ट तहल्का मच्चाउन सक्नेछ । यसलाई शीतको करामत भन्दा हुन्छ । शीतका कारण बल गिलो हुन्छ, त्यसैले त्यो फुत्किने सम्भावना हुन्छ । बलरलाई पनि गाह्रो हुनेछ, ‘ग्रिप’ लिन । शीतकै कारण बलको स्विङ र स्पिन पनि प्रभावित रहनेछ । बलले तय गर्ने यात्रा पनि ढिला हुनेछ, त्यसैले ब्याटिङ अलिकति भए पनि सजिलो हुनेछ ।

तर यिनै निर्णायक तत्त्वले क्रिकेटलाई अझ रोमाञ्चक बनाउने छन्, भलै यो आफैंमा जटिल पनि छ । यति भन्दाभन्दै एउटा तथ्य भने निश्चित छ, आधुनिक क्रिकेट भन्नु नै दिवा–रात्रिको खेल हो, अर्थात् ‘डे एन्ड नाइट गेम्स’ । सामान्य ढंगले सोच्दा लाग्दो हो, यसरी कृत्रिम प्रकाशमा खेल्दा के नै हुने हो र ? तर यसले नेपाली खेलाडीलाई अझ परिपक्व बनाउनेछ र भविष्यको चुनौतीलाई तयार पार्नेछ । त्यो भनेको अहिलेका लागि त्यही आउँदो ट्वान्टी–२० विश्वकप नै हो ।

हिमेश

Link copied successfully