अपमानजनक शब्द प्रयोग गर्दै गरिएको आक्रमण तथा कुटपिटप्रति जनमत पार्टीको गम्भीर ध्यानाकर्षण
काठमाडौँ — मधेशी आयोगले नेपाल प्रिमियर लिग(एनपीएल) मा नश्लीय र साम्प्रदायिक व्यवहार देखाउने उद्दण्ड र अराजक समूहलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले एनपीएलको क्वालिफायर-२ अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा एउटा उद्दण्ड र अराजक समूहद्वारा जनकपुर बोल्ट्सप्रति नश्लीय र साम्प्रदायिक व्यवहार देखाएको जनाएको छ ।
'विभिन्न प्रकारका सञ्चार माध्यमबाट प्रस्टिएकाहरूमाथि राज्यका जिम्मेवारीमा बसेका सुरक्षा निकायहरूले कुनै पनि कारबाही नगर्नु अशोभनीय रहेको र जिम्मेवारी बोध नभएको देखिन्छ,' आयोगको विज्ञप्तिमा भनिएको छ । संविधान, ऐन र कानुनले सबै सामाजिक रीतिरिवाजलाई प्रतिबिम्ब गरे पनि सोच र व्यवहारमा भने परिवर्तन हुन नसकेको आयोगले जनाएको छ ।
'कुनै पनि देशको संविधान, ऐन, कानुनले त्यो मुलुकको सभ्यता- संस्कृति- प्रथा- परम्परा- सोच- व्यवहार र सामाजिक रितिरिवाज समेतलाई प्रतिबिम्बित गरेको हुन्छ । संविधान, ऐन, कानूनले विभेद, गलत रीतिरिवाज, छुवाछू विरुद्ध कानुनी रूपमा दण्ड सजायको व्यवस्था गरेको छ । तर, सो कानुनी व्यवस्थाको बावजूद पनि यस्ता विभेदकारी सोच र व्यवहार व्यवहारिक रूपमा विद्यमान नै रहेको देखिन्छ,' आयोगले भनेको छ ।
अहिले एउटा सम्प्रदायमा देखिएका मधेशी समुदायप्रतिको विभेदकारी र नश्लीय सोचले मुलुक निर्माणमा अवश्य नै समस्या उत्पन्न गर्ने पनि आयोगको भनाइ छ । 'एनपीएलमा जनकपुरका खेलाडीहरुका अगाडि नै अभद्र र अपमानित हुने खालका नारा- जुलुस लगाए । जुन कार्य अति निन्दनीय र कानुनविपरीतका दण्डनीय कार्य रहेको छ,' आयोगको विज्ञप्तिमा भनिएको छ ।
उद्दण्डी र अभद्र व्यवहार देखाउने व्यक्तिहरूलाई तुरुन्त कानुनी रुपमा दण्डित गर्ने कार्य गर्न र संवेदनशील हुन आयोगले अपिल गरेको छ । आयोगले गृह-प्रशासनमा कारबाहीका लागि सिफारिस समेत गरिसकेको जनाएको छ ।
यसैबीच सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सको खेलपछि मधेशी समुदायका खेलसमर्थकहरूलाई नश्लीय व्यवहार कुटपिट गरिएको भन्दै जनमत पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 'एनपीएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका जनकपुर बोल्ट्सका समर्थक मधेशी समुदायका मान्छेहरूलाई लक्षित गरेर नश्लीय सोच बोकेका केही युवाहरूद्वारा विभिन्न अपमानजनक शब्द प्रयोग गर्दै गरिएको आक्रमण तथा कुटपिटप्रति जनमत पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।' रंगभेदी क्रियाकलापमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न पनि जनमत पार्टीले गृह प्रशासनसँग माग गरेको छ ।
त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले पनि जनकपुर बोल्ट्सका समर्थकप्रति भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दु:ख लाग्ने खालको भएको बताएका छन् । त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त कारबाही गर्न पनि महामन्त्री थापाले सरकारसँग माग गरेका छन् । उनले यस्ता गतिविधिहरू कुनै पनि बहानामा स्विकार्न नसिकने उल्लेख गर्दै भनेका छन्, 'यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन । नो इफ, नो बट ।'
