काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर–टुमा कर्णाली याक्सले बिहीबार जनकपुर बोल्ट्ससामु मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरको टीयू मैदानमा टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको कर्णालीले १ सय १९ रनको लक्ष्य तयार पारेको हो ।
कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन मात्र बनाउन सक्यो । त्यसमा सबैभन्दा ठूलो योगदान गुल्सन झाको रह्यो । उनले २० बलमा २५ रन बनाए ।
उनले मोहमद मोहसिनको बलमा बोल्ड हुन अगाडि एक चौका तथा दुई छक्का प्रहार गरे । ओपनर देव खनालले २४ रन बनाए । उनले २० बलमा तीन चौका र एक छक्का प्रहार गरे । अर्का ओपनर जयकिशन कोल्सवला एकै रनमा आउट भए ।उसका तीन विदेशी खेलाडीको योगदान सामान्य मात्रै रह्यो । त्यसमध्ये जिसन मक्सुदले १२, विलियम बोसिस्टोले १४ तथा चाडविक वाल्टनले ११ रन बनाए । अन्त्यतिर उनिस ठकुरीले १२ रन जोडे ।
जनकपुरका बलरमध्ये ललित राजवंशी, जेम्स निसम र मोहसिनले दुई/दुई विकेट हात पारे । यो खेलको विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । सुदूरपश्चिम यसअघि नै फाइनल पुगिसकेको छ ।
फाइनल शनिबार हुनेछ । कर्णालीले इलिमिनेटर चितवन राइनोजलाई २१ रनले हराएको थियो । जनकपुर भने क्वालिफायर–वानमा सुदूरपश्चिमसँग आठ विकेट हारेको थियो । जनकपुर पछिल्ला दुई खेलमा लगातार पराजित रहेको छ । लिग चरणमा कर्णाली चौथो स्थानमा रहेको थियो भने जनकपुरले दोस्रो स्थान ओगटेको थियो ।
