काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर–टुमा जनकपुर बोल्ट्सले बिहीबार कर्णाली याक्सको सामना गर्दैछ । कीर्तिपुरको टीयू मैदानमा जनकपुरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।
जनकपुरका कप्तान आसिफ सेखले अपेक्षा अनुसार पहिले बलिङको निर्णय गरेको हो । यो खेलको विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । सुदूरपश्चिम यसअघि नै फाइनल पुगिसकेको छ ।
फाइनल शनिबार हुनेछ । कर्णालीले इलिमिनेटर चितवन राइनोजलाई २१ रनले हराएको थियो । जनकपुर भने क्वालिफायर–वानमा सुदूरपश्चिमसँग आठ विकेट हारेको थियो ।
जनकपुर पछिल्ला दुई खेलमा लगातार पराजित रहेको छ । लिग चरणमा कर्णाली चौथो स्थानमा रहेको थियो भने जनकपुरले दोस्रो स्थान ओगटेको थियो ।
