काठमाडौँ — जिम्मी निशमले २३ बलमा ४५ रन बनाए पनि जनकपुर बोल्ट्सलाई बुधबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर-१ मा सुदूरपश्चिम रोयल्सले मध्यम स्कोरमा रोकेको छ ।
टस जितेर ब्याटिङ रोजेको जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सक्यो ।
निशमले फेरि एउटा आक्रामक इनिङ्स खेल्नेक्रममा ३ चौका र ३ छक्का प्रहार गरे । ओपनर लाहिरु मिलान्था १४ बलमा १२ रन बनाई कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा एलबीडब्लू आउट भए । नियमित कप्तान अनिल साह घाइते रहेको अवस्थामा जनकपुरको नेतृत्व गरिरहेका मार्की खेलाडी आसिफ शेखले १० बल खेली २ चौकासहित ११ रनमात्र बनाउन सके ।
शुभ कंसाकारले २४ बलमा ४ चौका प्रहार गरी २६ रन बनाए । हर्ष ठाकर १२, अरनिको यादव ११, मोहम्मद मोहसिन र शेर मल्ल समान ३ तथा किशोर महतो २ रनमा आउट भए । आकाश त्रिपाठी ४ रनमा अविजित रहे ।
दीपेन्द्रले सुदूरपश्चिमबाट सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २९ रनमात्र खर्चेर ३ विकेट लिए । सैफ जैबले ३ ओभरमा २० रन खर्चेर २ तथा स्कट कुग्लेन र अविनाश बोहराले १/१ विकेट लिए ।
यस खेल जित्ने टोली फाइनल पुग्ने छ भने पराजित हुने टोलीले क्वालिफायर-२ मा कर्णाली याक्सविरुद्ध खेल्ने छ । राउन्ड रोबिन लिगमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सो क्रममा जनकपुर ५१ रनमा अलआउट भएको थियो, जुन एनपीएलकै सवैभन्दा न्यून स्कोर हो ।
