काठमाडौँ — तीन विदेशी खेलाडीहरू जयकिशन कोल्शावाला, विलियम बोसिस्टो र चाडविक वाल्टनको उच्च प्रयासमा कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर-२ मा प्रवेश गरेको छ । कर्णालीले बुधबार चितवन राइनोजलाई २१ रनले पराजित गर्यो ।
रवि बोपाराले अर्धशतक बनाए पनि १ सय ७६ रनको लक्ष्य लिएर आएको चितवन त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २० ओभर खेली ४ विकेट गुमाई १ सय ५४ रनमात्र बनाउन सक्यो । दिनको दोस्रो खेलमा सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ । त्यसको विजेता टोली फाइनलमा पुग्ने छ भने पराजित हुने टोलीले क्वालिफायर २ मा कर्णालीसँग खेल्ने छ ।
बोपाराले ३४ बल खेली ३ चौका र ४ छक्कासहित ५३ रन बनाए । सोक्रममा उनी एनपीएलको उच्च रन बनाउने खेलाडी बनेका थिए । उनले २ सय ८४ रन बनाउदै लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको २ सय ७९ रनलाई उछिनेका थिए ।
ओपनर हसन इसाखिल १ रनमै आउट भएका थिए । अर्का ओपनर विपिन रावलले १० बल खेली ४ चौका सहित १६ रन बनाए । लुक बेन्केन्स्टेइनले १३ बल खेली समान १ चौका र छक्कासहित १६, कप्तान कुशल मल्लले २४ बल खेली १ छक्कासहित २१ रन बनाए ।
तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर
सन्तोष कार्की ८, सोहेल तनविर ४, अमरसिंह राउटेला ९ रनमा आउट भए । शरद भेषावकर १० बल खेली १० र रिजन ढकाल ४ बल खेली ७ रनमा अविजित रहे । कर्णालीबाट जेसन मक्सुदले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रनमात्र खर्चेका थिए । त्यस्तै नन्दन यादव र सोमपाल कामीले २–२ तथा विपिन शर्माले १ विकेट लिए । विपिनले ४ ओभरमा २७ रन खर्चेका थिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ७५ रन बनाएको थियो । नेपाली क्रिकेटमा परिचित रहे पनि प्रतियोगितामा पहिलो पटक खेलिरहेका कोल्शावालाले ३९ बलमा ५३, बोसिस्टोले ३९ बलमा ५२ र वाल्टनले २३ बलमा अविजित ४६ रन बनाए । विकेटकिपर–ओपनिङ ब्याटर कोल्शावालाले ६ चौका र २ छक्का तथा उच्च फर्ममा रहेका बोसिस्टोले ३ चौका र २ छक्का प्रहार गरे । वाल्टनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।
प्रतियोगितामा दोस्रो पटक मौका पाएका रित गौतम पुनः शट्न्यठमा आउट भए । गुलशन झाले पनि खाता खोल्न सकेनन् । जेसन मक्सुद १२ बलमा १४ र देव खनाल ३ रन बनाई आउट भए । चितवनबाट सोहेल तनविरले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । शरद भेषावकर, रवि बोपारा र कप्तान कुशल मल्लको नाममा १/१ विकेट रहयो ।
राउन्ड रोबिन लिगमा पनि कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो ।
