हाम्रा गाउँगाउँमा प्रतिभा छन्, ग्राउन्डको अभावमा ती गुमनाम छन् : ललित राजवंशी

पुस १५, २०८१

कान्तिपुर संवाददाता

There are talents in our villages, they are unknown due to lack of ground: Lalit Rajvanshi

सिरहा — काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्सले उपाधि जित्यो । एनपीएलको जितपछि अहिले जनकपुर बोल्ट्सले मधेश प्रदेशका जिल्लाहरूमा विजय उत्सव मनाइरहेको छ ।

खेलाडीहरू ट्रफीसहित सहभागी हुने र्‍यालीमा सयौँ समर्थकको थामिनस्क्नु भीड हुन्छ । जनकपुर बोल्ट्सले सोमबार सिरहा सदरमुकाममा विजय उत्सव मनाएको छ । सोही क्रममा सिरहास्थित कान्तिपुर संवाददाता विनय आजादले बोल्ट्सका खेलाडी ललित राजवंशीसँग गरेको कुराकानीको सम्पादित अंश :

एनपीएलको उपाधी जितेपछि अहिले विजय उत्सव मनाइरहनुभएको छ, कस्तो महसुस भइरहेको छ ?

हामीलाई एकदमै उत्साहित बनाएको छ । निकै खुसी छौं । हाम्रा र्‍यालीमा थामिनसक्नु भीड हुन्छ । समर्थकले निकै धेरै माया गर्नुभएको छ । यसले नेपाली क्रिकेट र समग्र खेल क्षेत्रमा सकारात्मक ऊर्जा प्रवाह गरिरहेको महसुस भएको छ ।

एनपीएलले नेपाली क्रिकेटलाई निकै उचाइमा पुर्‍यायो, नेपाली क्रिकेटको अबको भविष्य कस्तो देख्नुभएको छ ?

अवश्य पनि एनपीएलले नेपाली क्रिकेटलाई चर्चाको शिखरमा पुर्‍याएको छ । अहिलेसम्म हामीले जेजति उपलब्धि हासिल गरेका छौं, यसलाई संरक्षण गर्दै अझै सशक्त भएर अगाडि बढ्नुपर्छ । मलाई विश्वास छ, यस्तै हुन्छ । यस्तै रफ्तारमा हामी अघि बढ्यौं भने खेलमै आत्मनिर्भर हुन्छौं । हामीले विश्वमञ्चमा सशक्त उपस्थिति जनाउने दिन पनि अब नजिक छ ।

राज्यले के गरिदिनुपर्छ, के भन्नुहुन्छ ?

राज्य भनेको अभिभावक हो । खेल क्षेत्रलाई उचाइमा पुर्‍याउन राज्य गम्भीर भएर लाग्नुपर्छ । अहिले झन् संघीयतापश्चात् तीन तहका सरकार छन् । ती सबै सरकारहरू गम्भीर हुनुपर्‍यो । हाम्रा गाउँगाउँमा प्रतिभाहरू छन् । तर, ग्राउन्डको अभावमा ती सबै गुमनाम छन् । प्रतिभा देखाउन ग्राउन्ड त हुनुपर्‍यो नि । 

संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूले ठाउँठाउँमा ग्राउन्ड बनाइदिनुपर्‍यो । खेलाडीहरूको संरक्षण गरिदिनुपर्‍यो । निकै प्रतिभाशाली छन्, तर विभिन्न समस्याका कारण हाम्रा खेलाडीहरू पलायन भइरहेको हामी देख्न सक्छौं । यो गम्भीर र चिन्ताजनक कुरा हो । यो राज्यको कमजोरी हो । राज्य अब त गम्भीर हुनैपर्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully