यो केवल एकसरो कपडा मात्र होइन, टिम र खेलाडीसाग दर्शकलाई जोड्ने भावनात्मक सम्बन्ध पनि हो, अन्तर्राष्ट्रियस्तरमा देशलाई चिनाउने पनि जर्सी नै हो
काठमाडौँ — खेलकुदमा जर्सी केवल जर्सीमा मात्रै सीमित हुँदैन । यदि त्यसो हुँदो हो त यसको महत्त्व यति धेरै पक्कै हुने थिएन । जर्सीको महत्त्व आफैंमा ठूलो छ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ सुरु हुनै लाग्दा त्यसले अनेक खाले लहर ल्याएको छ । त्यसमध्ये एउटा हो, जर्सीको लहर ।
खेलाडीले आफ्नो टिमको जर्सी त लगाउनेछन् नै, समर्थक पनि आफूलाई मन पर्ने टिम र खेलाडीको समर्थनसहित उनीहरूकै जर्सीमा सज्जिएर कीर्तिपुरको टीयू क्रिकेट मैदानमा ‘हुटिङ’ गर्दै खेलको मज्जा लिनेछन् । कुरा यत्तिकैमा मात्र सकिने छैन, अबका एक महिना तपाईं जहाँ भए पनि जहाँ गए पनि छेउछाउका कोही न कोहीले कुनै न कुनै टिमको जर्सी लगाएको भेट्नुहुनेछ । यस्तो किन त ?
खेलकुदको भाषामा यसको स्वादिलो जवाफ छ । खासमा जर्सी भनेको कुनै पनि टिमको पहिचान हो । कुनै टिम अथवा खेलाडीको परिचय कसैले साँच्चै बोक्छ भने त्यो जर्सीले नै हो । टिमको पनि वास्तविक परिचय हो, जर्सी । जर्सीले टिमकै प्रतिनिधित्व गरिरहेको हुन्छ ।
यस पटकको ‘एनपीएल’ मा पनि आठ टिम मैदानमा भिड्नेछन् । जतिबेला प्रतियोगिता सुरु हुनेछ, प्रत्येक टिमको जर्सीका आ–आफ्नै विशेषता हुनेछन् । सबैभन्दा पहिले ‘डिफेन्डिङ च्याम्पियन’ जनकपुर बोल्ट्सकै कुरा । जनकपुर भनेपछि यससँग जोडिनेछ, मिथिला संस्कृति । जनकपुरको यस पटकको जर्सीले मिथिला संस्कृतिलाई आत्मसात् गरेको छ । गुलाबी रङमा जनकपुरको जर्सीले मिथिला संस्कृतिलाई जनकपुर बोल्ट्समार्फत क्रिकेट खेलसँग जोडेको देखिन्छ ।
काठमान्डु गोर्खाजको जर्सीले काठमाडौं उपत्यकाको संस्कृतिलाई प्रतिनिधित्व गरेको छ भने लुम्बिनी लायन्सको जर्सीले भने गौतम बुद्धले दिएका शान्तिको सन्देशलाई फैलाउन खोजेको देखिन्छ । जति टिमले आफ्नो क्षेत्रको कुनै न कुनै रूपमा प्रतिनिधित्व गर्ने गरी अहिले जर्सी बनाएका छैनन्, उनीहरूले पनि आगामी संस्करणदेखि त्यस्तै गरे राम्रो ।
यस्तो किन पनि भन्दा जर्सी कुनै पनि टिमका लागि गर्वको विषय हुने गर्छ । यो केवल एक सरो कपडा मात्र होइन, टिम र खेलाडीसँग दर्शकलाई जोड्ने भावनात्मक सम्बन्ध पनि हो । त्यसैले टिम र खेलाडीलाई आफ्नो समर्थकसँग जोड्छ भने त्यो जर्सी नै हो ।
नेपाल भौगोलिक, सांस्कृतिक र भाषिक रूपमा विविधता बोकेको देश भएकाले पनि यहाँका सबै क्षेत्रका आ–आफ्नै फरक विशेषता छन् । यी सबैभन्दा माथि हुने भनेको देश हो । यी विविधतालाई जोड्ने भनेको पनि क्रिकेट जस्तै खेलले नै हो । धेरैलाई एउटा घटना याद हुनुपर्छ, सन् २०१४ मा नेपालले बंगलादेशमा भएको
ट्वान्टी–२० विश्वकप खेल्दा पूरा देश क्रिकेटमय भएको थियो । नेपालले विश्वकप खेलेको यो नै पहिलो थियो । गत वर्ष अमेरिकामा नेपालले नेदरल्यान्ड्सविरुद्ध विश्वकप खेल्दा डालास रंगशाला पूरै नेपाली राष्ट्रिय टिमको रातो–नीलो रङको जर्सीमा पोतिएको थियो ।
२०१४ को विश्वकपमा त्यतिबेला जुन–जुन दिन नेपालको खेल थियो, एउटा लहरै चलेको थियो, अफिस जाँदा होस् वा बजार निस्कँदा नेपालको जर्सी लगाएरै निस्कने । त्यतिबेला सडक सडकमा नेपालको जर्सी लगाएर हिँडडुल गर्ने खेलप्रेमीहरू यत्रतत्र देखिन्थे । त्यसले देशभर एकखाले माहोल नै तताउने काम गरेको थियो । पछिल्लो समय नेपालमा देखिने गरेर क्रिकेटको लोकप्रियता बढेको छ । एसोसिएट देशमध्ये कुनै देशमा क्रिकेटको साँच्चैको लोकप्रियता छ भने त्यो नेपालमै हो ।
नेपाली क्रिकेटले कुनै एक पुस्तालाई सबैभन्दा बढी आकर्षित गरेको छ भने त्यो युवा पुस्तालाई नै हो । युवालाई देशसँग जोड्ने खेलकुद नै हो, त्यसमा पनि क्रिकेट अग्रपंक्तिमा छ । र, यसमा देखिने गरी पुलेसोको काम गर्ने भनेको जर्सीले नै हो ।
प्रत्येक युवाको इच्छा हुन्छ, आफूले मन पराएका खेलाडी जस्तै खेल्ने, उनले जस्तै देशको प्रतिनिधित्व गर्ने । ती युवाका लागि आफूलाई मन पर्ने खेलाडी ‘आइडल’ नै हुन्छन् । त्यस्तो स्थितिमा ती युवाले लगाउने जर्सीको पछाडि आफ्ना ‘आइडल’ खेलाडीको नाम र नम्बर अंकित हुन्छ । अब यस्ता दिन चाँडै सुरु हुनेछ, पूरा परिवार नै आ–आफ्ना समर्थक टिम र खेलाडीको जर्सीमा रंगिएर सामूहिक तस्बिर खिच्नेछन् र त्यसलाई गर्वले सामाजिक सञ्जालमा पोस्ट गरिरहेका हुनेछन् ।
हामीले के पनि सुनेका छौं भने विदेशतिर आफूलाई मन परेका टिम र खेलाडीको जर्सी नम्बर संकलन गर्ने चलन हुन्छ । धेरैले यस्तो देखेको पनि हुनुपर्छ । कोही कोहीले एकपछि अर्को सिजनका जर्सी संकलन गरेर राखेका हुन्छन् । यस्तोमा प्रश्न हो, के अब एनपीएलसँग जोडिएर यो परम्परा सुरु हुनेछ त ?
एनपीएल भर्खर दोस्रो संस्करणमा पुग्दै छ, जतिबेला एनपीएलले लामो सफल समय गुजार्नेछ, त्यो बेला सबै संस्करणका जर्सी संकलन गरेर जतनले राख्ने शुभचिन्तक अन्यभन्दा विशेष ठानिनेछन् ।
