संघीयताप्रति अपनत्व बढाउँदै एनपीएल

एनपीएललाई सबै प्रदेशले आफ्नै पहिचानसहित ग्रहण गरेका छन्, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, जनकपुर बोल्ट्स, विराटनगर किङ्स– यी नाम केवल टिमका परिचय होइनन्, प्रदेशका गौरव र सांस्कृतिक पहिचान हुन्

कार्तिक २९, २०८२

पवन आचार्य

NPL increasing its commitment to federalism

काठमाडौँ — सरसर्ती हेर्दा नेपाल प्रिमियर लिग (एनपीएल) एक खेल प्रतियोगिता मात्रै हो । गहिरिएर हेर्ने हो भने यो एउटा सामाजिक र सांस्कृतिक परिघटना बनेको छ । नेपाली टिम (महिला र पुरुष दुवै) ले अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाइरहेका बेला घरेलु लिग एनपीएलले नेपालमा क्रिकेटको लोकप्रियता थप बढाएको छ नै, संघीयता र सामाजिक समरसताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

एनपीएल र संघीयताको साइनोबारे बुझ्न मानवशास्त्री सुरेश ढकाललाई फोन गर्दा उनी सुदूरपश्चिमको बोगटान फुड्सिल गाउँपालिका विचरण गरिरहेका थिए । दिपायलबाट झन्डै एक दिनको यात्रामा पुगिने स्थानबाट उनले सुनाए, ‘एनपीएलमा सुदूरपश्चिम रोयल्सलाई समर्थन गर्न युवा संघीय राजधानी काठमाडौं जाने तरखर गर्दै छन् ।’ 

यस पटकको एनपीएलमा रातको समयमा पनि खेलाउने तयारी छ । फ्लड लाइटमा धपक्कै बलेको त्रिवि मैदानमा आफ्नो मनपर्ने टिम र खेलाडीको समर्थनमा उत्रिन भौगोलिक विकटताको तगारोले छेक्ने कुरै भएन । यो आतुरी सुदूरपश्मि प्रदेशमा मात्रै होइन, पूर्वमा कोशीसम्मै छ । अझ विदेशमा रहेका नेपाली क्रिकेटप्रेमी पनि एनपीएलका केही खेल हेर्न काठमाडौं उत्रिने योजनामा छन् । 

क्रिकेट र विशेषतः एनपीएल राष्ट्रियता जगेर्नामा समेत सहायक भएको ढकालको बुझाइ छ । उनका अनुसार एनपीएलले संघीयताप्रति अपनत्व त बढाउँछ नै, सँगै क्षेत्रीयतावाद हाबी हुने खतरा पनि छ । तर, राष्ट्रियतासँगै यसले आत्मीयतालाई पनि बढावा दिने भएकाले जोखिम कम हुने पनि उनको तर्क छ । 

संघीयता भनेको राज्यका विभिन्न स्तरमा शक्ति र अधिकारको विभाजन हो, जसले प्रत्येक भेगलाई स्वायत्तता र स्वतन्त्रता प्रदान गर्छ । नेपालको राजनीतिक संरचनामा २०७२ सालको संविधानपश्चात् संघीयता लागू भएको छ, जसअनुसार देशलाई सात प्रदेशमा विभाजन गरिएको छ । यो परिवर्तन नेपालको विविधतामा एकता ल्याउने र स्थानीय अधिकारलाई सशक्त बनाउन महत्त्वपूर्ण कदम थियो ।

एनपीएलमा बागमती प्रदेशबाट दुई टिम सहभागी छन्, बाँकी ६ टिमले हरेक प्रदेशको प्रतिनिधित्व गर्छन् । यही संरचनाले संघीयतालाई खेलमै उतारिदिएको छ । टिममा प्रदेशकै प्रतिभा खोजेरसमेत अनुबन्ध गरिन्छ, क्याम्प पनि सकेसम्म प्रदेशमै चलाइन्छ । स्थानीय जनताले पनि आफ्नो टिमप्रतिको भावना खुलेर व्यक्त गर्छन् । हरेक टिमले आ–आफ्नो प्रदेशमा गरेको ‘ट्रफी टुर’ मा ओर्लिएको जनसागरले नै यसलाई प्रमाणित गरिसकेको छ । खासमा एनपीएललाई राष्ट्रिय एकताको सामाजिक प्रयोगशाला नै भन्दा पनि फरक पर्दैन । 

एनपीएललाई सबै प्रदेशले आफ्नै पहिचानसहित ग्रहण गरेका छन् । सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, जनकपुर बोल्ट्स, विराटनगर किङ्स– यी नाम केवल टिमका परिचय होइनन्, प्रदेशका गौरव र सांस्कृतिक पहिचान हुन् । 

संघीयताको वास्तविक अर्थ र उद्देश्य तब मात्र पूर्ण रूपमा साकार हुन सक्छ जब विविध सांस्कृतिक, जातीय र भौगोलिक विशेषताहरूको पहिचान र समावेशिता महसुस गरिन्छ । त्यसको प्रत्यक्ष अनुभव एनपीएलको प्रतिस्पर्धा सुरु भएसँगै त्रिवि क्रिकेट मैदानमा गुन्जिने टिमका आआफ्नै गीत, फहराउने झन्डा र दर्शकको चिच्याहटले गराउँछ । 

जब कुनै टिमले प्रतियोगितामा जित हासिल गर्छ, त्यस टिमको जित केवल क्रिकेट खेलको सफलता नभएर सम्पूर्ण प्रदेशको विजयको प्रतीक बनिदिन्छ । यसले स्थानीय बासिन्दामा गर्वको भावना र प्रदेशको पहिचानलाई अझ सशक्त बनाउँछ । त्यसैले एनपीएल प्रदेशको प्रतिनिधित्वमा आधारित ‘क्रिकेट–संघीयता मोडल’ बनेको छ । 

प्रतियोगितालाई लिएर फ्रेन्चाइज टिम, स्पोन्सर र खेलाडी मात्र होइन, समर्थकमा पनि अनौठो उत्साह छ । च्याम्पियन जनकपुर बोल्ट्सका समर्थकले ‘बोल्ट्स आर्मी’ नामक फेसबुक पेज नै सञ्चालन गर्छन् । पेज सञ्चालक रेवती रमण भन्छन्, ‘हामी खेल हुँदा या नहुँदा दुवै अवस्थामा टिमलाई समर्थन गर्छौं । विदेशमा रहेका क्रिकेटप्रेमीले पनि हामीलाई समर्थन गरेर उत्साह थपिदिनु हुन्छ । आफ्नो प्रदेशको टिमको जर्सी, क्याप र अन्य मर्चन्डाइज किन्नमा पनि उनीहरूको रुचि छ ।’

तर, अघिल्लो सिजन सुदूरपश्चिम र जनकपुरका समर्थकबीच दर्शकदीर्घा र बाटोमा हात हालाहाल भएको नमीठो दृश्य देखिएको थियो । रेवती त्यसलाई समर्थकको ‘इमोसन’ भन्न रुचाउँछन् । यस पटक खेल हुनुअघि नै विज्ञप्ति जारी गरेर समर्थक र प्रशंसकलाई संयमित हुन अपिल गरिने उनले जानकारी दिए । समर्थक भएपछि अलिअलि भावनामा बग्नुलाई नाजायज भन्न नमिल्ने उनको तर्क छ । भन्छन्, ‘मनै त हो । टिमको जित वा हारमा कहिलेकाहीँ तलमाथि भइहाल्छ । तर, यो अस्थायी हो ।’

एनपीएलले राजनीतिक सन्देश प्रवाह गर्ने क्षमता पनि राख्छ । संघीय संरचनामा रहेका विभिन्न प्रदेशका अधिकारी, खेलकुद निकाय र अन्य प्रतिनिधिहरू प्रतियोगितामा उपस्थित भएर खेलको महत्त्व र सन्देशलाई थप प्रबल बनाउँछन् । संघीयताले प्रदेशबीच सकारात्मक प्रतिस्पर्धालाई जोड दिन्छ । यही मान्यता र दृष्टान्त एनपीएलमा देख्न पाइन्छ ।

प्रदेशहरूले पनि एनपीएलको स्वामित्व गज्जबले लिएका छन् । सबैले यसलाई आफ्नो प्रदेशको जित वा हारसँग दाँजेर हेर्ने गर्छन् । टिमको ‘एन्थम सङ’, जर्सीको डिजाइन र खेलाडीहरूबारे समेत सामाजिक सञ्जालमा राम्रै बहस हुन्छ । कोभन्दा को कम भन्ने भावना प्रदेशहरूमा जगाउन पनि सफल छ एनपीएल ।

कुन प्रदेश अब्बल, कुन प्रदेशले अझै मिहिनेत गर्नुपर्छ भन्ने विश्लेषण मैदानभित्र र बाहिर पनि हुन्छ, जसले सबैलाई कहीँ न कहीँ फाइदा पुगेकै हुन्छ । अर्थविद् रेशम थापा प्रदेशहरूलाई एकअर्कासँग स्वस्थ प्रतिस्पर्धामा उभ्याउन एनपीएल सफल भएको र त्यसले संघीयतालाई जनस्तरमै अनुभूति गराइरहेको बताउँछन् । एनपीएलले आर्थिक संघीयतामा पनि टेवा पुर्‍याउने र स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रसम्ममा केही न केही योगदान गर्ने उनको बुझाइ छ । 

‘ट्यालेन्ट हन्ट’ का नाममा होस् कि ‘ट्रफी टुर’ वा टिमको प्रचारात्मक अभियान एनपीएलले प्रदेश–प्रदेशमा आर्थिक चहलपहल बढाएको छ । टिकटक, होटल, एयरलाइन्स, रेस्टुरेन्टदेखि भुटेको बदाम र फलफूल बेच्नेदेखि ‘राइड सेयरिङ एप’ चलाउनेहरूसम्म सबै एनपीएल–अर्थतन्त्रको हिस्सा बनेका छन् ।

‘यसले काठमाडौंको अर्थतन्त्र मात्रै उकासेको छैन, राष्ट्रिय भावनामै वृद्धि गर्न सघाएको छ,’ थापा भन्छन् । एनपीएल नयाँ बजारका रूपमा जन्मिएको र आर्थिक चक्रको एउटा हिस्साले संघीयताको आर्थिक स्तम्भलाई बलियो बनाउने अर्थविद्हरूको तर्क छ । 

एनपीएललाई संघीयताको जरा बलियोसँग गाड्ने नयाँ सामाजिक अभियानका रूपमा व्याख्या र विश्लेषण गर्नेहरू पनि छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फहराउने प्रदेशका झन्डा, दर्शकको उत्साह, अन्तर्राष्ट्रिय खेलाडीको उपस्थिति, आर्थिक चहलपहल यी सबै कारणले एनपीएल संघीय नेपाललाई भावनात्मक, आर्थिक, सांस्कृतिक र राजनीतिक रूपमा जोड्ने एउटा साझा फोरम बन्न पुग्ने विश्वास आयोजक क्यानको छ । 

एनपीएलले प्रमाणित गरिदिएको छ कि संघीयता केवल प्रशासनिक संरचना होइन, यो भावना, पहिचान र साझा सहभागिताको अभ्यास हो । र, यस अभ्यासलाई जीवन्त राख्ने खेलकुदले हो । पछिल्लो समय पाएको सफलता र फ्यान बेसका आधारमा क्रिकेट सबैभन्दा प्रभावकारी माध्यम हो ।

एनपीएल अहिले क्रिकेटको उत्सव मात्र होइन, संघीयताको सबल अभ्यास पनि हो । यही अभ्यासको सफल उडान एनपीएलको दोस्रो संस्करणसम्म आइपुग्दा भएको छ । तर, मुख्य कुरा सफल उडान मात्रै होइन, अवतरण पनि हो । आर्थिक संघीयताको पाटोमा एनपीएलको सफल अवतरण कत्तिको सुखद हुन्छ, त्यो परीक्षण हुन बाँकी नै छ ।

पवन आचार्य

Link copied successfully