एनपीएल तथा जुनसुकै लिगको संरचना नै होम एन्ड अवे हो । एनपीएल कुन संस्करणदेखि राजधानीबाहिर सञ्चालन हुन्छ त ? एक दिन अवश्य हुन्छ तर कहिले त्यो भन्न सकिने स्थिति छैन । केही वर्षसम्म त्रिवि क्रिकेट स्टेडियमले नै त्यो जिम्मेवारी बहन गर्नुपर्ने बाध्यता छ ।
What you should know
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको एउटा मुख्य आकर्षण त्रिवि क्रिकेट रंगशाला नै हुनेछ । यो स्वरूप फेरिएको कीर्तिपुर रंगशाला एनपीएलबाट सञ्चालनमा आउनेछ । १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको छ भने रातिमा खेल खेलाउन मिल्ने बनाइएको छ । भनौं, फ्लडलाइट जडान गरिएको छ ।
नेपालमा ठूलो स्वरूपमा पहिलो पटक दिवारात्रि क्रिकेट खेल हुन लागेको हो । कीर्तिपुरमा जसरी नै पोखरा, विराटनगर, कर्णाली, चितवन, सुदूरपश्चिम, लुम्बिनीका समर्थकलाई पनि आफ्नै ठाउँमा एनपीएलका खेल हेर्न मन छ । तर, तत्कालका लागि काठमाडौं उपत्यकाबाहेक अन्य स्थानमा त्यो सम्भावना सम्भव छैन ।
एनपीएल तथा जुनसुकै लिगको संरचना नै होम एन्ड अवे हो । एनपीएल कुन संस्करणदेखि राजधानीबाहिर सञ्चालन हुन्छ त ? एक दिन अवश्य हुन्छ तर कहिले त्यो भन्न सकिने स्थिति छैन । केही वर्षसम्म त्रिवि क्रिकेट स्टेडियमले नै त्यो जिम्मेवारी बहन गर्नुपर्ने बाध्यता छ ।
प्रतियोगिता सञ्चालनका लागि पर्याप्त पूर्वाधार अभाव त छँदै छ । एनपीएलका फ्रेन्चाइज टिमलाई अभ्यास मैदानको पनि उस्तै समस्या छ । पोखरा एभेन्जर्स, कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज, जनकपुर बोल्ट्सले मैदान नहुँदा अभ्यास गर्नमै संघर्ष गर्नुपरेको बाध्यता छ । होम एन्ड अवेको अवधारणाअनुसार सबै टिमको आफ्नै ठाउँमा मैदान हुनुपर्ने हो । तर मैदान भए पनि संरक्षण नहुँदा खेल्न योग्य छैनन् ।
विराटनगर किंग्सका निर्देशक दीपेन्द्र चौधरीले अभ्यासका लागि देशमा गतिलो मैदान नहुँदा भारतको मुम्बई जानुपरेको बाध्यता सुनाए । विराटनगरले मुम्बईमा ११ दिन अभ्यास गरेको थियो । उनले गुनासो पोखे, ‘अभ्यासका लागि मैदान नहुँदा धेरै गाह्रो छ, काठमाडौंबाहेक भैरहवामा मैदान छ, त्यो पनि निजी हो ।विराटनगरको बैजनाथपुर मैदानमा अभ्यास गर्न गएका थियौं, घाँस उम्रिएको रहेछ, स्तरीय पिच छैन । काठमाडौं आएर तयारी गरिरहेका छौं । तल्लो मूलपानी भइदिएको भए धेरै राहत हुन्थ्यो । यस्तो मुख्य प्रतियोगिताको समयमा तल्लो मूलपानी टेनिस बलको लिगलाई दिइएको रहेछ ।’
तल्लो मूलपानी स्टेडियम राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वामित्वमा छ । राखेपले यो मैदानमा नेपाल स्ट्रिट प्रिमियर लिग सञ्चालनको अनुमति दिएको हो । गत नोभेम्बर ३ देखि ८ सम्म भएको टेनिस बलको लिगलाई नेपाल क्रिकेट संघले भने मान्यता दिएको थिएन । टेनिस बल लिगलाई क्यानले निलम्बन नै गर्दा एनपीएलको सफलतामा जस लिने राखेप मूकदर्शक बनेर बसेको छ । टेनिस बल लिग सकिएपछि मात्र फ्रेन्चाइज टोलीले तल्लो मूलपानी अभ्यासका लागि पाएको थियो ।
यस्तो स्थितिमा पूरै भार कीर्तिपुर र माथिल्लो मूलपानी मैदानले धानेको थियो । क्यानले ८ फ्रेन्चाइज टिमलाई दिनको २–२ घण्टाको समय छुट्याइदिएको छ ।
कर्णाली याक्सका प्रशिक्षक राजु बस्न्यातले पनि आवश्यकताअनुसार अभ्यास गर्न नपाइरहेको सुनाए । ‘कर्णालीमा त पिच नै छैन, काठमाडौंमा पनि योजनाअनुसार तयारी गर्न मैदान छैन । क्यानको पनि आफ्नै बाध्यता छ, मागेअनुसार मैदान उपलब्ध त छ तर निश्चित समयमा बाँधिनुपर्छ । सिनारियो ट्रेनिङ गर्न पाइँदैन,’ उनको गुनासो पनि दीपेन्द्रको जस्तै थियो ।
फ्रेन्चाइजको सबैभन्दा ठूलो सम्पत्ति समर्थक हो । त्यसका लागि आफ्नो ठाउँमा तयारी गर्नु जरुरी छ । यदि सबै टिमसँग मैदान हुँदो हो, उनीहरूले काठमाडौंमा मात्रै भर पर्नुपर्ने थिएन । खेलाडी र समर्थकलाई एकआपसमा कनेक्ट गर्न र आफ्नोपन महसुस गराउन स्थानीय स्तरमा गरिने तयारीले ठूलो अर्थ राख्छ । व्यावसायिक भइसकेको लिगमा त समर्थकले आफ्नो टिमको अभ्यास हेर्न पनि टिकट काट्ने गर्छन् । यो टिमहरूलाई हुने अतिरिक्त आम्दानी हो ।
चितवन राइनोजको समस्या पनि अन्य टिमको भन्दा फरक छैन । चितवनले केही समय दिल्लीमा गएर तयारी गर्यो । काठमाडौं फर्किएपछि क्यानले दिएको समयमा अभ्यास गरिरहेको प्रशिक्षक कलाम अलीको भनाइ छ । ‘समयमा बाँधिँदा योजनाअनुसार अभ्यास गर्न सकिँदैन, फिल्डिङ पनि राम्रोसँग भएको छैन, फेरि कीर्तिपुर रंगशाला पनि पुनर्निर्मार्णकै क्रममा रहेका अप्ठ्यारो भएको हो,’ प्रशिक्षक अलीले भने ।
सुदूरपश्चिम प्रदेश क्रिकेटको हब हो । राष्ट्रिय टिममा यो प्रदेशका खेलाडीको वर्चस्व छ । तर यही प्रदेशमा अन्यको तुलनामा मैदान भने छैन । सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमाटा भन्छन्, ‘वीरगन्ज, जनकपुर, विराटनगर, लुम्बिनी, चितवनमा मैदान भए पनि छ ।
तर सुदूरपश्चिममा त्यही मैदान पनि छैन । फाप्ला अहिले निर्माणको क्रममा छ । आठ फ्रेन्चाइजी टिम छ, सबैलाई २–२ घण्टाको दरले समय बाँडिएको छ । फ्लडलाइटमा अभ्यास गर्नै पाएका छैनौं । फ्रेन्चाइज टिमले कुनै न कुनै दिन होम एन्ड अवे फर्म्यार्टमा जानुपर्छ । त्यसैले अहिलेबाट नै पूर्वाधार निमार्णलाई पनि प्राथमिकतामा राख्नुपर्छ ।’
एनपीएलको यसपालि २२ खेल फ्लडलाइटमा हुनेछ । दिनको पहिलो खेल बिहान ११.१५ र पौने १२ बजे सुरु हुनेछ । दिवारात्रिको खेल साढे ३ र ४ बजे हुने तालिका छ । यो समयअनुसार पनि टिमले अभ्यासको मौका पाएका छैनन् । क्यानलाई पनि मैदानको समन्वय गर्न हम्मेहम्मे परिरहेको छ ।
क्यानका म्यानेजर विनोद दासले मैदान अभावमा कीर्तिपुरलाई बढी लोड भइरहेको सुनाए । प्रतियोगिता सञ्चालन हुने मैदानको पुनर्निर्माणको काम नसकिएकाले पनि समस्या भइरहेको उनको भनाइ छ । आठ टिमलाई २–२ घण्टाको समय मिलाउन त्यति सहज नभएको म्यानेजर दासले बताए ।
अर्को टिम आएपछि अभ्यास पूरा नहुँदै मैदान छाड्नुपर्ने बाध्यतामा खेलाडी छन् । दासका अनुसार तल्लो मूलपानी भइदिएको भए यति सास्ती हुने थिएन, राखेपले अर्को कुनै प्रतियोगिताका लागि अनुमति दिइसकेको रहेछ, केही दिनअघि मात्र मैदान खाली भयो । उनले क्रिकेटका लागि बनाइएका मैदान क्यानले नै सञ्चालन गर्न पाउनुपर्ने हो । यस्तो हुँदा मैदान व्यवस्थापनमा सजिलो हुन्थ्यो ।
यता परिषद्को भने फरक मत छ । परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ मैदान आवश्यक भएको कुरा क्यानले नै बताउनुपर्ने तर्क गर्छन् । क्यानले अभ्यासका लागि तल्लो मूलपानी मैदान परिषद्सँग नमागेको बताए । उनले भने, ‘मैदान माग भएको कुरा मलाई थाहा नै छैन, मनमा राखेर त हुँदैन होला ?’ नेपाल स्ट्रिट प्रिमियर लिगले धेरै पहिल्यै मैदान मागेको सदस्य–सचिव घिसिङले बताए ।
तल्लो मूलपानी अरू कसैलाई दिँदा क्यानलाई नै सोधेर दिने गरेको उनको जिकिर छ । उनले भने, ‘क्यानले त्यो समयमा आफूहरूको कुनै कार्यक्रम छैन भनेपछि मात्र अरूलाई दिइन्छ, यो पटक पनि सामान्य प्रशासन शाखाले क्यानलाई पत्र पठाएर अनुमति पाएपछि नै स्ट्रिट लिग गर्न दिइएको हो ।’
टिमले अभ्यास मैदानमै सबै तयारी गर्ने हो । खेलको दिन त्यसलाई कार्यान्वयन मात्र गर्ने हो । अभ्यास नै राम्रोसँग गर्न नपाएपछि त्यसको प्रत्यक्ष असर नतिजामा पर्छ । पहिलो सिजनमा नै अपेक्षाभन्दा बढी सफल भएको एनपीएल दोस्रो सिजन आइपुग्दा झन् ठूलो भएको छ । एनपीएल र फ्रेन्चाइज टिमलाई स्थायी बनाउँदै पूर्ण व्यावसायिक बनाउन पूर्वाधारमा लगानीको टड्कारो आवश्यकता छ ।
