मोन्टीले बढाएको गोर्खाजको आकांक्षा

पहिलो सिजनमा प्लेअफमा पुग्न नसकेपछि काठमान्डु गोर्खाजले टिममा धेरै परिवर्तन गरेको छ । पहिलो परिवर्तन प्रशिक्षक मोन्टी देसाईलाई भित्र्याउनु थियो । नेपाललाई विश्वकप, एसिया कप र एकदिवसीय अन्तर्राष्ट्रियको सपना देखाएका मोन्टीको आगमनमा गोर्खाज भाग्यशाली बन्दै गएको छ ।

कार्तिक २९, २०८२

कान्तिपुर संवाददाता

Monty's increased aspirations of Gorkhas

What you should know

काठमाडौँ — गत वर्ष अक्सनमा सवैभन्दा अभाग्यशाली टोली काठमान्डु गोर्खाज थियो । टोली लक्की ‘ड्र’ मा १४ मध्ये १२ मा अनलक्की भएको थियो । पहिलो सिजनमा प्लेअफमा पुग्न नसकेपछि गोर्खाजले टिममा धेरै परिवर्तन गरेको छ ।

पहिलो परिवर्तन प्रशिक्षक मोन्टी देसाईलाई भित्र्याउनु थियो । नेपाललाई विश्वकप, एसिया कप र एकदिवसीय अन्तर्राष्ट्रियको सपना देखाएका मोन्टीको आगमनमा गोर्खाज भाग्यशाली बन्दै गएको छ ।

मिनी अक्सनबाट टोलीले आदिल आलम अन्सारी, सन्तोष यादव र आकाश त्रिपाठीलाई भित्र्याउन सफल भयो । त्यसमध्ये आदिल र सन्तोषलाई अधिकतम मूल्यपछि लक्की ‘ड्र’ बाटै पाएको थियो । यसले गोर्खाजको नेपाली खेलाडीको उपस्थिति बाक्लो बनाइदिएको छ । मैदानमा फर्किएयता आदिलले राष्ट्रिय टोलीमा पनि पुनरागमन गरिसकेका छन् । सन्तोषले यू–१९ टोलीमा प्रभावशाली प्रदर्शन देखाएका थिए ।

करण केसीको कप्तानीमा रहेका गोर्खाजमा भीम सार्की, शाहब आलम, रशिद खानसहितका खेलाडी छन् । मध्यक्रमको ब्याटिङमा प्रतीक श्रेष्ठ र तुलबहादुर थापा गोर्खाजको आधार हुन सक्छन् ।

नामिबियाका कप्तान जेहरार्ड इरसमसबाहेक अन्य सबै गोर्खाजबाट पहिलो पटक खेल्न लागेका हुन् । अमेरिकी ब्याटर मिलिन्द कुमार उत्कृष्ट लयका ब्याटर हुन् । एकदिवसीयमा देखाएको उत्कृष्ट फर्मलाई ट्वान्टी–२० मा उतानुपर्ने चुनौती उनीसामु छ । एसोसिएट क्रिकेटका उत्कृष्ट दुई खेलाडी इरसमस र मिलिन्दको साथमा गोर्खाजले यसपालि ठूलो लक्ष्य बनाएको छ । 

जोहन सिम्पसनसँग यसअघि नै नेपालमा आएर खेलेको अनुभव छ । उनले २०१८ मा चितवन टाइगर्सबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेलेका थिए । सन्नी पटेल नेपाली क्रिकेटका परिचित अनुहारमध्ये एक हुन् । उनले यसअघि नै नेपालबाट विभिन्न फ्रेन्चाइज लिग खेल्नेक्रममा ईपीएल, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग जितिसकेका छन् । बेन चार्ल्सवर्थ इंग्लिस काउन्टीमा अहिले जमिरहेका खेलाडी हुन् । 

टिममा को-को छन् ?

करण केसी (कप्तान), भीम सार्की, शाहब आलम, रशिद खान, आदिल अलाम अन्सारी, दीपेश कँडेल, सन्तोष यादव, आकाश त्रिपाठी, प्रतीक श्रेष्ठ, तुलबहादुर थापा, उत्तम थापा, नटराजन साह,रिकार्डो भास्कोनसेलोस, जेहरार्ड इरसमस, मिलिन्द कुमार, बेन चार्ल्सवर्थ, जोहन सिम्पसन, सन्नी पटेल।

कान्तिपुर

Link copied successfully