पोखरामाथि काठमान्डु गुर्खाजको रबाफिलो जित

मंसिर २९, २०८१

विनोद पाण्डे, तस्बिर : हेमन्त श्रेष्ठ

Kathmandu Gurkhaz win over Pokhara

काठमाडौँ — स्टेफन इस्किनाजीको अर्धशतकमा काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार पोखरा एभेन्जर्समाथि ६ विकेटको सानदार विजय हात पारेको छ । इस्किनाजीले ६० रन बनाएपछि गुर्खाजले १ सय ३९ रनको लक्ष्य केवल १४.१ ओभरमै १ सय ४२ रन बनाउँदै पूरा गरेको थियो ।

जितपछि काठमान्डु गुर्खाजको ६ खेलमा ६ अंक भएको छ । चितवन राइनोज र गुर्खाजको समान ६ अंकसहित क्रमशः चौथो र पाँचौं स्थानमा छ । जनकपुर बोल्ट्स १० तथा सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स समान ८ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । काठमान्डुले आइतबार विराटनगर किंग्ससँग आफ्नो अन्तिम खेल खेल्ने छ ।  

इस्किनाजीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २८ बलमा अर्धशतक बनादै माइकल लेभिटसँग मिलेर गुर्खाजलाई आक्रामक सुरुआत दिलाएका थिए । लेभिट १८ बलमा ६ चौका र १ छक्कासहित ३३ रन बनाई आउट भए पनि गुर्खाजले पावर प्लेको पहिलो ६ ओभरमा ५९ र पहिलो १० ओभरमा ९५ रन जोडेर उत्कृष्ट ब्याटिङ प्रर्दशन देखाएको थियो ।

लेभिटलाई विपिन खत्रीको बलमा आन्द्रिज गाउसले स्टम्प आउट गरे । त्यसपछि इस्किनाजीले भीम सार्कीसँग दोस्रो विकेटमा ३७ बलमा ६७ रनको साझेदारी गरेका थिए । भीम २० बल खेलि समान १ चौका र छक्का प्रहार गरी आउट भए । इस्किनाजीले ३४ बल खेल्दै १० चौका प्रहार गरे ।

गेम फिनिसिङ गर्न माथिल्लोक्रममा पठाइएका कप्तान करण केसी १ रनमात्र बनाई विपिनको बलमा स्टम्प आउट भए । आफूले सामना गरेको पहिलो दुई बलमा क्रमशः छक्का र चौका प्रहार गरेका जेहर्राड इरसमसले १० बल खेली १ चौका र ३ छक्कासहित २५ र रशिद खान १ रन बनाई अविजित रहे ।

यसअघि काठमान्डुले टस जितेर ब्याटिङको निम्ता पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३८ रन बनाएको थियो । नामिबियाका कप्तान इरसमसले दोस्रो ओभरमै गाउसलाई शून्यमा आउट गरी गुर्खाजलाई पहिलो सफलता दिलाएका थिए । अर्का ओपनर दीनेश खरेलले ३८ रन बनाए । उनले २५ बल खेली ६ चौका र १ छक्का प्रहार गरे ।

रशिद खनाले दीनेशसहित कप्तान कुशल भुर्तेल र दीलिप नाथको विकेट लिएर खेलमा गुर्खाजलाई हावी गराएका थिए । पुनः एक पटक ब्याटिङबाट निराश बनाएका भुर्तेल ७ रन बनाई बोल्ड भए । टोलीमा फिर्ताका आएका दीलिप पनि बोल्ड हुन पूर्व २४ बल खेली २ छक्का प्रहार गरे ।

प्रतियोगितामा पहिलो खेल खेलिरहका आकर्षित गोमेललाई माइकल लेभिटले ८ रनमा एलबीडब्लु आउट गरे । त्यसपछि करणले माइकल लिस्क १, नारायण जोशी शून्य र विपिन खत्रीलाई ४ रनमा अलआउट गरी पोखराको तल्लोक्रम भत्काइदिएका थिए । रेयमन रिफर ४१ रन बनाई अविजित रहे । उनले ३० बल खेली १ चौका र ३ छक्का प्रहार गरे । सागर ढकाल १ रनमा अविजित रहे ।

काठमान्डुबाट करण र रशिदले ३–३ विकेट लिए । करणले ४ ओभरमा २४ र रशिदले ४ ओभरमा ४३ रन खर्चे । इरसमसले ४ ओभरमा १४ र लेभिटले ३ ओभरमा १३ रनमात्र खर्चेर १–१ विकेट लिएका थिए । 

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

तस्बिर श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully