कर्णाली याक्स बलियो स्थितिमा

पहिलो दुई खेल हारेको कर्णाली लगातार चार जित्दै प्लेअफ नजिक

मंसिर २९, २०८१

कान्तिपुर संवाददाता

Karnali Yaks in a strong position

काठमाडौँ — कर्णाली याक्सले लगातार चौथो खेल जित्दै नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । ठीक विपरीत चितवन राइनोज निर्णायकजस्तै मानिएको खेलमा पराजित भएपछि टोलीको अर्को चरण पुग्ने सम्भावना अल्मलिएको छ । 

कर्णालीले शुक्रबार रोमाञ्चक खेलमा लुम्बिनी लायन्सलाई ५ रनले हरायो । हारले कर्णालीको प्लेअफ स्थिति कमजोर बन्ने थियो । लुम्बिनीलाई अन्तिम ओभरमा विजयनिम्ति ९ रन चाहिन्थ्यो । तर, नन्दन यादवले ३ रनमात्र खर्चेर नाटकीय जित दिलाएपछि कर्णाली अर्को चरण लगभग सुरक्षित बनेको छ । 

पहिलो दुई खेल हारेको कर्णाली लगातार चार खेल जितेर प्लेअफ नजिक पुगेको हो । लुम्बिनीले भने निराशाजनक यात्रा अर्को हारसहित टुंग्याएको छ । ६ मध्ये ५ खेल हारेर यसअघि नै समीकरणबाट बाहिरिएको राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको टोली लुम्बिनी २ अंकसहित पुछारमा रहने निश्चित भएको हो । 

लुम्बिनीमाथि विजय हात पारेर कर्णाली तेस्रो स्थानमा उक्लिएको छ । जनकपुर बोल्ट्स १० अंकसहित शीर्षस्थानमा छ । सुदूरपश्चिम रोयल्स र कर्णाली समान ८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ । 

पहिलो १०.१ ओभर सम्ममा ४७ रन बनाउँदा देव खनाल (३), बाबर हायत (२०), गुलशन झा (८) र चाडविक वाल्टन (१३) लाई गुमाएको कर्णालीलाई पुनः एक पटक अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले उद्दार गरे । अघिल्लो खेलमा ६ विकेट लिएका उनले ३० बल खेल्दा ३ चौका र ३ छक्कासहित ४४ रन बनाई लगातार तेस्रो खेलमा प्लेयर अफ द म्याच प्रदर्शन गरे । 

उनले अर्जुन घर्तीसँग पाँचौं विकेटमा ७२ रनको साझेदारी गरे । अर्जुनले २५ बलमा २ चौका र १ छक्कासहित २५ रन बनाए । कप्तान सोमपाल कामी ३ बलमा ७ र नन्दन यादव शून्यमा आउट भए । अन्तिम खेलमा लुम्बिनीले नयाँ खेलाडीलाई मौका दिएको थियो । त्यसमध्ये एक विकास आग्रीले २ ओभरमा १४ रन खर्चेर ३, तिलक भण्डारीले ४ ओभरमा २३ रन खर्चेर २ तथा कप्तान रोहित पौडेल, साद बिन जाफर र रामोन सिमोन्ड्सले १–१ विकेट लिए । 

जवाफमा लुम्बिनीले ७ विकेट गुमाई १ सय २३ रनमात्र बनायो । टम मुर्सले सर्वाधिक ३६ रन बनाए । ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका उनलाई १८ औं ओभरमा नन्दनले बोल्ड गरेर खेल पल्टाए । सन्दीप जोराले २१ बलमा २ छक्कासहित २४ रन बनाए । आशुतोष घिरोहिया १६, अर्जुन साउद १३, रोहित १०, बेन कटिङ १, जाफर १६ रनमा आउट भए । कर्णालीबाट जेसन मक्सुदले ३ ओभरमा १२ रनमात्र खर्चेर २ तथा सोमपाल, नन्दन, विपिन शर्मा र बोसिस्टोले १–१ विकेट लिए । कर्णालीले अब सुदूरलाई पराजित गरेमा प्लेअफमा स्थान पक्का गर्नेछ । 

आजको खेल

९ः०० बजे– काठमान्डु गुर्खाजविरुद्ध पोखरा एभेन्जर्स

१३ः०० बजे– चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्स

Karnali Yaks in a strong position

कान्तिपुर

Link copied successfully