एनपीएलका पाहुना : सर्वकालीन ब्याटर नेपालमा

ब्रायन लाराको नाममा क्रिकेट इतिहासकै दुर्लभ र कोसेढुंगा साबित हुने कीर्तिमान छन् । टेस्ट क्रिकेटमा अविजित ४ सय रन । प्रथम श्रेणी क्रिकेटमा अविजित ५ सय १ रनलगायत ।

मंसिर २९, २०८१

हिमेश

NPL Guest: All-Time Batter in Nepal

काठमाडौँ — विश्वकै महान् ब्याटर ब्रायन लारा, जसलाई क्रिकेटको ‘भगवान्’ नै मानिन्छ । नेपालमा पहिलोपल्ट आयोजित क्रिकेटको प्रिमियर लिग ‘एनपीएल’ हरेक उमेर र वर्गबीच असाध्यै लोकप्रिय सावित भइरहेका बेला क्रिकेटका उनै ‘भगवान्’ लारा शुक्रबार नेपाल आइपुगेका छन् । उनको उपस्थितिले प्रतियोगितालाई थप उचाइ दिएको छ । सम्भवतः लारा नेपाल आउने विश्व खेलकुदकै सबैभन्दा ठूलो नामसमेत हो ।

वेस्ट इन्डिजले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो एकछत्र प्रभुत्व कायम गर्दाको अन्तिम पुस्ताका खेलाडी लारालाई यो खेलले पाएको सबैभन्दा महान्मध्येका एक मानिन्छ । ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय बायाँ हाते ब्याटर लाराको खेल्ने 

शैली विश्व क्रिकेटकै सबैभन्दा आकर्षक, मोहक र सनसनीपूर्ण थियो । उनको नाममा क्रिकेट इतिहासकै दुर्लभ र कोसेढुंगा साबित हुने कीर्तिमान छन् । जस्तो कि, टेस्ट क्रिकेटमा अविजित ४ सय रन । अनि प्रथम श्रेणी क्रिकेटमा अविजित ५ सय १ रन । लारा ठूलठूला र लामा इनिङ्स खेल्न माहिर थिए । त्यसैले विश्व क्रिकेटमा उनको उपनाम नै छ, ‘द प्रिन्स’ ।

लाराले सन् १९९० देखि २००७ सम्म वेस्ट इन्डिजका लागि क्रिकेट खेले । वेस्ट इन्डिज टिमको नेतृत्व पनि गरे । एक ब्याटरका रूपमा लारालाई सर्वकालीन महान् मानिन्छ । सन् १९९४ मा उनले वारविकसायरका लागि खेल्दै डरहमविरुद्ध एजबास्टनमा नटआउट ५ सय १ रनको इनिङ्स खेलेका थिए । उनले सन् २००४ मा इंग्ल्यान्डविरुद्ध एन्टिगुवामा भएको टेस्टमा ४ सय रन बनाए र नटआउट रहे । सन् १९९० मा उनले पाकिस्तानविरुद्ध पहिलो टेस्ट खेले । उनको अन्तिम टेस्ट पनि पाकिस्तानविरुद्ध नै थियो । 

वर्ष थियो, सन् २००६ । उनले १ सय ३१ टेस्ट खेले र ११ हजार ९ सय ५३ रन बनाए । त्यसमा ३४ शतक सामेल छन् । उनले २ सय ९९ एकदिवसीय अन्तर्राष्ट्रिय पनि खेले । यसमा १० हजार ४ सय ५ रन बनाए । 

उनले सन् २००४ मा वेस्ट इन्डिजका लागि आईसीसी च्याम्पियन्स ट्रफी पनि जिते । ब्याटबाट आफ्नो अद्भुत प्रदर्शनका लागि दक्षिण एसियामा पनि उनी असाध्यै लोकप्रिय रहे । नेपालमा पनि लाराका धेरै प्रशंसक छन् । काठमाडौं उत्रिएपछि सञ्चारकर्मीसँग लाराले नेपाली क्रिकेटबारे भने, ‘क्रिकेट खेल्ने देशका रूपमा नेपाल नयाँ नै छ, त्यसैले पनि एनपीएल नेपालका लागि विशेष रहनेछ ।’ 

‘यो यस्तो प्रतियोगिता हुनेछ, जुन बिस्तारै ठूलो हुँदै जानेछ,’ लाराले थने, ‘टी–ट्वान्टी त्यस्तो क्रिकेटको स्वरूप हो, जसले प्रायोजकलाई पनि आकर्षित पार्छ । दर्शक पनि धेरै हुन्छन् । किनभने यो रोमाञ्चक पनि हुन्छ । यो प्रतियोगिता जति ठूलो हुँदै जानेछ, त्यत्तिकै ठूला स्टार खेल्न नेपाल आउनेछन् ।’ उनले आफ्नो नाममा रहेका विशेष कीर्तिमान कुनै न कुनै दिन भंग हुने विश्वास गर्दै वेस्ट इन्डिज क्रिकेट फेरि उत्कृष्ट लयमा फर्कने प्रतीक्षामा रहेको पनि बताए । 

 ‘मैले नेपाल र काठमाडौंबारे सुन्दै आएको धेरै वर्ष भयो,’ उनले विमानस्थलमा भने, ‘नेपाल आउने मेरो सपना नै थियो । तर खेलाडीका रूपमा कहिले पनि जुरेन । यसपल्ट भने अवसर जुरेको छ । म पहिलो पटक यो क्षेत्रमा आएको छु । मेरा लागि यो निकै रोमाञ्चक यात्रा साबित हुनेछ । म यहाँका जनतासँग भेट्न चाहन्छु । त्यसैले सँगै मेरी छोरी पनि ल्याएको छु । म उनलाई पनि यो विशेष यात्राको अनुभव दिलाउन चाहन्छु ।’

विश्व क्रिकेटका केही ठूला हस्ती यसअघि पनि नेपाल आएका छन् । सन् २०१२ मा भारतीय कप्तान महेन्द्रसिंह धोनी नेपाल आएका थिए । त्यसअघि २००६ मा अर्का भारतीय कप्तान सुनील गावस्कर पनि आएका थिए ।

हिमेश

Link copied successfully