एनपीएल : सुपर ओभरमा पोखराको बाजी

मंसिर २७, २०८१

विनोद पाण्डे

NPL: Pokhara's bet on Super Over

काठमाडौँ — रामोन रिफरले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सलाई ‘टाई’ खेलमा पराजित गरेको छ । विराटनगर किंग्स र पोखरा एभेन्जर्सले बिहीबारको खेलमा स्पष्ट नतिजा निकाल्न सकेनन् र खेल ‘टाई’ हुन पुगेपछि सुपर ओभरमा नतिजा निस्केको थियो ।

टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३९ रन बनाएको थियो । जवाफमा आएको पोखराले ६ विकेट गुमाई १ सय ३९ रन नै बनायो । पोखराले सुपर ओभरमा बिना विकेटक्षति १८ रन बनाएकामा विराटनगरले कुनै विकेट नगुमाए पनि ५ रनमात्र बनाउन सक्यो । रिफरले उत्कृष्ट बलिङ गर्दै विराटनगरलाई बाउन्ड्रीका लागि कुनै अवसर नै दिएनन् ।

खेलको अन्तिम ओभरमा पनि रिफर नै छाएका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखरालाई अन्तिम ओभरमा जितका लागि १४ रन चाहिन्थ्यो । ओभरको दोस्रो बलमा नारायण जोशीले १ रन लिएपछि स्ट्राइकमा आएका रिफरले तेस्रो बलमा छक्का प्रहार गरे । त्यसपछिको दुई बलमा कुनै बलमा रन बनाउन नसकेका खेलको अन्तिम बलमा छक्का प्रहार गरेपछि स्कोर बराबर भएको थियो ।

उनै रिफरले सुपर ओभरमा पोखराले बिना क्षति जोडेको १८ मध्येको १७ रन बनाएका थिए । उनले विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेको पहिलो दुई बलमा छक्का र चौथो बलमा चौका प्रहार गरेका थिए ।

पोखराबाट ओपनर आन्द्रिज गाउसले सर्वाधिक ३९ रन बनाए । उनले २७ बल खेली ७ चौका प्रहार गरे । अर्का ओपनर दीनेश खरेल १ छक्का प्रहार गर्दै ११ रनमा आउट भए । कप्तान कुशल भुर्तेलले ३४ बल खेलि २ चौका र १ छक्काका साथ ३१ रन बनाए ।

जेन मलिकलाई प्रतिशले ४ रनमा बोल्ड गरेसँगै पोखराले लगातार विकेट गुमाएको थियो । कुशल र तृतराज दास (०) लाई क्रिस सोलले लगातार बलमा आउट गरे । प्रतिशले माइकल लिस्कलाई ११ रनमा बोल्ड गरे । प्रतिशले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए ।

यसअघि स्कट इडवार्डसको महत्त्वपूर्ण इनिङ्समा विराटनगरले पोखरालाई १ सय ४० रनको लक्ष्य दिएको थियो । टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३९ रन बनाएको हो । एनपीएलमा पहिलो खेल खेलिरहेका नेदरल्यान्ड्सका कप्तान इडवार्डसले ३५ बलमा ४५ रन बनाए ।

अकिब इल्यासको स्थानमा विराटनगरको प्लेयिङ ११ मा राखिएका उनले ५ चौका प्रहार गरे । विरानगरबाट ओपनिङ ब्याटर लोकेश बमले विकेटकिपिङको जिम्मेवारी पनि लिँदै आएका थिए । तर अत्तिरिक्त भूमिकामा बमले आफ्नो प्रदर्शनलाई न्याय गर्न सकेका थिएनन् । इडवार्डस एनपीएलका लागि दुई दिनअघि मात्र काठमाडौं आइपुगेका थिए ।

चौथो नम्बरमा ब्याटिङ गरेका उनले क्यानडाका कप्तान निकोलस कृतनसँग ५ ओभरमा ४३ रनको महत्त्वपूर्ण साझेदारी गरे । कृतनले १६ बल खेली १ छक्कासहित १९ रन बनाए । क्रिस सोल ७, दीपक बोहरा ४ रनमा आउट भए ।

ओपनर मार्टिन गप्टिलले ५ रनमात्र बनाउन सके । १४ बल खेलेका उनलाई सागर ढकालले बोल्ड गरे । पहिलो ओभरमै २ चौका र १ छक्का प्रहार गरेका लोकेशले १६ बलमा २६ रन बनाए । उनले कुल १६ बल खेली समान २ चौका र छक्का प्रहार गरे । नरेन भट्ट ४ रनमा आउट भए । बसिर अहमद २० बल खेली २१ र प्रतिश जिसी १ बल खेली ४ रनमा अविजित रहे ।

पोखराबाट सागर र रामोन रिफरले २–२ विकेट लिए । सागरले ४ ओभरमा १५ रनमात्र खर्चेका थिए भने रिफरले ३३ रन खर्चे । कप्तान कुशल भुर्तेल र दीनेश खरेलको नाममा १–१ विकेट रह्यो ।

पोखराले पाँचौं खेलमा दोस्रो विजय हात पार्दै प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । विराटनगर पाँच खेलमा दोस्रो पराजय भोगी प्लेअफ दौडबाट लगभग बाहिरिएको छ । 

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully