एनपीएलमा न्यून स्कोर हाबी भएको दिन

कीर्तिपुर मैदानमा बुधबार ४ इनिङ्समा ३६२ रन बन्दा ३९ विकेट खसे, जनकपुर बोल्ट्स ५१ रनमै समेटियो

मंसिर २७, २०८१

विनोद पाण्डे

A day dominated by low scores in the NPL

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबारको दिनलाई ‘लो स्कोरिङ’ खेलको रूपमा लामो समय सम्झिने छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेलमा मात्र ३ सय ६२ रन सम्भव भएको थियो । बदलामा ३९ विकेट खस्यो । दुई खेलको रनऔसत निकाल्ने हो भने प्रतिखेल १ सय ८१ हुन्छ ।

जबकि चौथो दिनको खेलमा लुम्बिनी लायन्सले बनाएको १९१–७ को स्कोरलाई विराटनगर किंग्सले १ बलअगाडि १ सय ९५ रन बनाएर पूरा गरेको थियो । 

बुधबार चार इनिङ्समा सुदूरपश्चिम रोयल्सले बनाएको १ सय २३ रन नै उच्च स्कोर रह्यो । जवाफमा आएको जनकपुर बोल्ट्स १२.१ ओभरमा ५१ रनमै अलआउट भयो । पहिलो चार खेल जितेर दाबेदार बनेको जनकपुर एनपीएलकै न्युन स्कोरमा समेटिएको हो । 

ट्वान्टी–२० क्रिकेट निकै आक्रामक र तीव्र गतिमा खेलिने खेल हो । सम्भवत पुनः यति सानो स्कोरमा कुनै टोली पुग्ने छैनन् । सबैभन्दा सानो स्कोर सूचीमा तीनमध्ये दुई स्कोर बुधबारकै खेलमा बन्यो । काठमान्डु गुर्खाजविरुद्धको खेलमा १ सय ४ रनको लक्ष्य पाएको लुम्बिनी लायन्स पनि १९.२ ओभरमा ८५ रनमै अलआउट भयो । एनपीएलको यो तेस्रो न्युन स्कोर हो । 

काठमान्डुविरुद्ध लक्ष्य पछ्याउनेक्रममा लुम्बिनीले पहिलो ६ ओभरमा १६ रनमात्र बनाउन सकेको थियो, जवाफमा ३ विकेट गुमाइसकेको थियो । एनपीएलको पहिलो पावर प्लेमा सबैभन्दा कम स्कोरको अनावश्यक कीर्तिमानलाई लुम्बिनीले बराबरी गरेको थियो । चितवनविरुद्धको खेलमा पोखरा एभेन्जर्सले पावर प्लेमा ६ विकेट गुमाई १६ रनमात्र बनाउन सकेको थियो । अर्थात एनपीएलमा बुधबार सबै नकारात्मक कीर्तिमान हाबी भयो । 

जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरी सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा उक्लेको छ । चार खेल जितेको जनकपुरको यो पहिलो हार हो । जनकपुरसँगै समान ८ अंक भए पनि सुदूरपश्चिम राम्रो रनरेटका आधारमा शीर्षस्थान पुग्यो । स्पिनरहरूको दबदबापछि सुदूरपश्चिमले ‘लो स्कोरिङ’ खेलमा महत्त्वपूर्ण विजय हात पारेको हो ।

टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २३ रनमात्र बनाउन सक्यो । शीर्ष दुई टोलीबीचको प्रतिस्पर्धामा जबाफमा आएको जनकपुर १२.१ ओभरमा ५१ रनमै अलआउट भयो । प्रतियोगितामा पहिलो खेल खेलिरहेका जोसुआ ट्रम्पबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । नवौं विकेटको रूपमा आउट भएका ट्रम्पले १ चौका र १ छक्का प्रहार गर्दै १३ रन बनाए । कप्तान अनिल साह ७ बल खेल्दै शून्यमा आउट भए । आसिफ शेख ४, लाहिरू मिलान्था ७, हर्ष ठाकर ५, जिम्मी निसम ४, शुभ कंसाकार शून्य, अरनिको यादव १, शेर मल्ल शून्य र ललित राजवंशी ४ रनमा आउट भएका थिए । सुदूरपश्चिमबाट पहिलो खेल खेलिरहेका हरमित सिंहले ४ ओभरमा २ मेडन राख्दै २ रन दिएर २ विकेट लिए । प्लेयर अफ द म्याच इशान पाण्डेले २ ओभरमा ११ र दीपेन्द्रले ३ ओभरमा २७ रन खर्चेर २–२ विकेट लिएका थिए । 

यसअघि सैफ जैब र भेट्रान विनोद भण्डारीले पहिलो विकेटमा ८ ओभरभित्र ५५ रन जोडे पनि सुदूरपश्चिमले त्यसको फाइदा उठाउन सकेको थिएन । हर्ष ठाकरले इंग्लिस ब्याटर जैबलाई २१ रनमा आउट गरेसँगै सुदूरपश्चिमको रनमा अंकुश लाग्नुका साथै विकेट पतन सुरु भएको थियो । जैबले २१ बल खेलेर ३ चौका प्रहार गरे ।

हरमितलाई शेरले १ रनमै आउट गरे । विनोद पनि शेरकै सिकार भए । विनोदले सर्वाधिक ३३ रन बनाए । उनले ३७ बल खेल्दा ३ चौका र १ छक्का प्रहार गरे । अरनिकोले दीपेन्द्रलाई शून्य र ब्रान्डन म्याकमुलेनलाई ११ रनमा आउट गरेपछि सुदूरपश्चिम झनै दबाबमा परेको थियो । तीव्र गतिका बलर किशोर महतोले एकै ओभरमा आरिफ शेख (६), इशान (१७) र स्कट कुग्लेन (७) लाई आउट गरेपछि जनकपुर खेलमा हाबी भएको थियो । किशोरले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । शेरले ४ ओभरमा १९ र अरनिकोले ३ ओभरमा १६ रन खर्चेर २–२ विकेट लिए । 

कप्तान करण केसी र दीपेश कँडेलले उत्कृष्ट बलिङ गरेपछि काठमान्डु गुर्खाजले अर्को ‘लो स्कोरिङ’ खेलमा लुम्बिनी लायन्सलाई १८ रनले पराजित गर्‍यो । टस जितेपछि ब्याटिङ रोजेको गुर्खाज १९.३ ओभरमा १ सय ३ रनमा अलआउट भयो । करणले ४ र दीपेशले ३ विकेट लिएपछि जवाफमा आएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमै अलआउट भयो ।

हारपछि लुम्बिनी औपचारिक रूपमै प्लेअफ दौडबाट बाहिरिएको छ । प्रतियोगिताबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो । ६ खेलमा टोलीको यो पाँचौं हार हो । गुर्खाजले भने चौथो खेलमा दोस्रो विजय हात पार्दै प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ ।

कप्तान करणले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिएका हुन् । उनले खेलको १९ औं तथा आफ्नो दोस्रो ओभरमा सन्दीप जोरा र रामोन सिमोन्ड्स (०) लाई आउट गरेका थिए । जोराले लुम्बिनीबाट सर्वाधिक २६ रन बनाए । उनले २९ बल खेल्दै २ चौका प्रहार गरे । उन्मुक्त चन्द १४ रनमा आउट भए भने सूर्य तामाङ ११ रनमा अविजित रहे ।

आशुतोष घिरोहिया ४, अर्जुन साउद ३, टम मुर्स ६, कप्तान रोहित पौडेल ८, सान बिन जाफर शून्य, विवेक यादव २ र अभिषेक गौतम २ रनमा आउट भए । करणबाहेक काठमान्डुबाट दीपेशले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । जेहरार्ड इरसमसले ४ ओभरमा १९ रन खर्चेर २ र रशिद खानले १ विकेट लिए ।

यसअघि भीम सार्कीले गुर्खाजबाट सर्वाधिक ३१ रन बनाएका थिए । उनले ४० बल खेल्दै १ चौका प्रहार गरे । ड्यान डाउथवेटले २ छक्का प्रहार गर्दै २४ बलमा २१ रन जोडे । प्रतीक श्रेष्ठले २ छक्कासहित १४ बलमा २० रन बनाए । सिमोन्ड्सले पहिलो ओभरमै माइकल लेभिटलाई बोल्ड गरेर गुर्खाजको विकेट लिनेक्रम सुरु गरेका थिए । स्टेफन इस्किनाजी शून्य, इरसमस १, सुमित महर्जन ४, रशिद र करण १–१ तथा शाहब आलम ८ रनमा आउट भए ।

लुम्बिनीका लागि जाफरले ३ विकेट लिए । क्यानडाका पूर्वकप्तान जाफरले ४ ओभरमा २१ रन खर्चिए । अर्का देव्रेहाते स्पिनर अभिषेकले ४ ओभरमा १६ र सिमोन्ड्सले ३.२ ओभरमा २१ रन खर्चेर २–२ विकेट लिए । 

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully