एनपीएल : इडवार्डसको महत्त्वपूर्ण इनिङ्समा विराटनगरद्वारा पोखरालाई चुनौतीपूर्ण स्कोर

मंसिर २७, २०८१

कान्तिपुर संवाददाता

NPL: A challenging score for Pokhara by Biratnagar in Edwards' important innings

काठमाडौँ — स्कट इडवार्डसको महत्त्वपूर्ण इनिङ्समा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३९ रन बनाएको हो ।

एनपीएलमा पहिलो खेल खेलिरहेका नेदरल्यान्ड्सका कप्तान इडवार्डसले ३५ बलमा ४५ रन बनाए । अकिब इल्यासको स्थानमा विराटनगरको प्लेयिङ ११ मा राखिएका उनले ५ चौका प्रहार गरे । विरानगरबाट ओपनिङ ब्याटर लोकेश बमले विकेटकिपिङको जिम्मेवारी पनि लिदैं आएका थिए । तर अतिरिक्त भूमिकामा बमले आफ्नो प्रदर्शनलाई न्याय गर्न सकेका थिएनन् । इडवार्डस एनपीएलका लागि दुई दिनअघि मात्र काठमाडौं आइपुगेका थिए ।

चौथो नम्बरमा ब्याटिङ गरेका उनले क्यानडाका कप्तान निकोलस कृतनसँग ५ ओभरमा ४३ रनको महत्वपूर्ण साझेदारी गरे । कृतनले १६ बल खेली १ छक्कासहित १९ रन बनाए । क्रिस सोल ७, दीपक बोहरा ४ रनमा आउट भए ।

ओपनर मार्टिन गप्टिलले ५ रनमात्र बनाउन सके । १४ बल खेलेका उनलाई सागर ढकालले बोल्ड गरे । पहिलो ओभरमै २ चौका र १ छक्का प्रहार गरेका लोकेशले १६ बलमा २६ रन बनाए । उनले कुल १६ बल खेली समान २ चौका र छक्का प्रहार गरे । नरेन भट्ट ४ रनमा आउट भए । बसिर अहमद २० बल खेली २१ र प्रतिस जिसी १ बल खेली ४ रनमा अविजित रहे ।

पोखराबाट सागर र रामोन रिफरले २–२ विकेट लिए । सागरले ४ ओभरमा १५ रनमात्र खर्चेका थिए भने रिफरले ३३ रन खर्चे । कप्तान कुशल भुर्तेल र दीनेश खरेलको नाममा १–१ विकेट रहयो ।

विराटनगरको प्लेइङ ११ मा अर्को परिवर्तन सुवास भण्डारीको स्थानमा अनिल खरेललाई खेलाइएको छ । त्यस्तै पोखराले अघिल्लो खेल खेलेको टोलीबाट तीन खेलाडी परिवर्तन गरेको छ । आकाश चन्द, दीलिप नाथ र म्याट क्रिच्लेको स्थानमा तृतराज दास, किरण ठगुन्ना र जेन मलिकलाई खेलाएको छ ।

पोखरा र विराटनगर दुवैले आफ्नो पहिलो ४ खेलमा १ मा मात्र विजय हात पार्न सकेका छन् भने तीन खेलमा पराजय भोगेका छन् । यस खेलमा विजय हात पार्ने टोलीको प्लेअफ पुग्ने सम्भावना बन्ने छ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने लगभग निश्चित हुनेछ ।

कान्तिपुर

Link copied successfully