एनपीएल हेर्न हरेक दिन बिहान चितवनबाट काठमाडौं हिँड्छन् समर्थकहरु

मंसिर २८, २०८१

रमेशकुमार पौडेल

Supporters walk from Chitwan to Kathmandu every morning to watch NPL

चितवन — भरतपुर महानगरपालिका-२२ पटिहानीका सौगात पौडेल एकाबिहानै पाँच बजे भरतपुरमा भेटिए । कुनै कक्षा धाउन वा जागिर खान होइन, काठमाडौंको कीर्तिपुरस्थित रंगशालामा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल हेर्न जानका लागि उनी अघिल्लो दिन साँझ नै घरबाट निस्केका थिए ।

सौगातजस्तै सदरमुकामबाट टाढा घर भएका कैयन फ्यानहरु अघिल्लो साँझ नै भरतपुर आएर बसेका थिए । किनकि उनीहरु सबैको गन्तव्य थियो, कीर्तिपुर रंगशाला । क्रिकेटका यी डाई हार्ट फ्यानहरुको उत्साहले नै बताउँछ, क्रिकेटको क्रेज नेपाली समाजमा कतीसम्म छ ।

आज मध्याह्नमा हुँदैछ, चितवन राइनोज र विराटनगरबीचको रोमान्चक खेल । यही खेलमा चितवनका सर्मथकहरु आफ्नो टिमको उत्साह बढाउन यसरी एकाबिहानै गृहजिल्लाबाट काठमाडौं हान्निएका हुन् । चितवन मेडिकल कलेज (सीएमसी)ले लगानी गरेको चितवन राईनोजले आफ्नो खेल भएका दिनमा यसैगरी सर्मथकहरुलाई चितबाट काठमाडौं लाने ल्याउन पाँच वटा बसको व्यवस्था गरेको छ ।

सौगातसँगै थिए, अरु सातजना साथीहरु । सबैसँग उस्तै उत्साह थियो, चार पाँच घन्टाको गाडी यात्रापछि कीर्तिपुर पुग्ने अनि आफ्नो टिको हौसला बढाउने । यो यात्रामा थिए, पटिहानीकै आश्विन पौडेल । उनी दोस्रो पटक म्याच हेर्न काठमाडौं निस्किएका हुन् । ‘म चितवन राइनोजको पहिलो म्याच हेर्न पनि गएका थिए । पहिलो म्याच काठमाडौं गुर्खाजसँग थियो । म सिएमसीबाटै बस चढेर गएको थिए ।’

Supporters walk from Chitwan to Kathmandu every morning to watch NPLतस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

चितवनबाट एकाबिहानै म्याच हेर्न निस्केका फ्यानहरु राति अबेरगरीमात्रै चितवन फर्किन्छन् । आश्विनले सुनाए, ‘साथी, दाइभाइहरुसँग जाँदा रमाइलो हुन्छ । उहाँ पुगेपछि पनि छिरोलिर बसिँदैन । सँगै गएपछि एकै ठाउँ मिलेर बसिने भइयो । टिमका पक्षमा माहोल बन्छ ।’

आज बिहान एकैछिनमा पाँचवटा बस भरिए । बसमा जान टिकट भएकाहरुले अघिल्लो दिन नै नाम टिपाएका थिए । अनि जाने यात्रुहरुको नाम बसको ढोकामै टाँसिएको थियो । यात्रा निःशुल्क त थियो नै पानी र खाजा पनि पाइने भएकाले समर्थकहरु उत्साहित देखिन्थे ।

‘पाँचवटा बस सधै भरिएको छ । हामी चितवनको म्याच हुँदाको दिनमा मात्रै बस पठाउने गरेका छौं । पछिल्ला दिनहरुमा त पाँचवटा बसमा मान्छे नअटाउने भइसके । नअटाएकाहरु आ–आफ्नै हिसाबले खुसीका साथ गइरहेका देखेका छौं,’ व्यवस्थापनमा खटेका सीएमसीका हरि बोहराले भने । दिउँसो खेल हुँदा बिहान ६ बजेर बिहान खेल हुँदा अझ सबेरै तीन बजे नै बस छुट्छ ।

Supporters walk from Chitwan to Kathmandu every morning to watch NPL

‘हामीले जुन बस व्यवस्था गरेका छौं त्यसमा भन्दा पनि धेरै समर्थक आ–आफ्नै ढंगले आउनु भएको छ । चितवनका मान्छेहरु काठमाडौंमा पनि प्रशस्तै हुनुहुन्छ । हाम्रो खेल राम्रो पनि छ । जिल्लाका नभए पनि खेलप्रेमी सबै हाम्रो टिमको हौसला बढाउन मैदानसम्म आउनु भएको छ,’ चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले भने । चितवनले हालसम्म पाँच खेल खेल्दा तीनमा जित र दुईमा पराजित भएको छ ।

शुक्रबार दिउँसो विराटनगर र शनिबार बिहान जनकपुरसँग चितवनको खेल छ । चितवन राइनोजले आफ्नो सुरुवाती खेलमा काठमाडौं गुर्खाजलाई हराएर एनपीएल यात्राको सुखद् आरम्भ गरेको थियो । काठमाडौं गुर्खाजसहित सुदूरपश्चिम र पोखरालाई पनि चितवनले हराएको छ । त्यसैगरी कर्णाली र लुम्बिनीसँग भने चितवन राइनोज पराजित भएको थियो ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully