चितवन राइनोजले गुमायो मौका

विराटनगर किंग्ससँग जित हात पारेको भए चितवन प्लेअफ नजिक पुग्थ्यो

मंसिर २९, २०८१

कान्तिपुर संवाददाता

Chitwan Rhinos missed the chance

काठमाडौँ — चितवन राइनोजले शुक्रबार खेल गुमाएपछि शीर्ष चारको स्थान मजबुत बनाउने मौका गुमाएको छ । टोलीलाई विराटनगर किंग्सले ५१ रनले हरायो । चितवनले शनिबार जनकपुर बोल्ट्सविरुद्ध खेल्नेछ । त्यसमा विजय हात पार्न नसके चितवनलाई काठमान्डु गुर्खाज र पोखरा राइनोजमध्ये एकले उछिन्ने सम्भावना रहन्छ ।

चितवनमाथि फराकिलो अन्तरको विजयपछि विराटनगरले पनि प्लेअफमा पुग्ने झिनो सम्भावना ब्युँत्याएको छ ।

बसिर अहमद र राजेश पुलामीले छैटौं विकेटमा ३७ बलमा ८३ रनको साझेदारी गरेपछि टस जितेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ८१ रन बनायो । बसिरले ४४ बलमा ६८ र राजेशले २० बलमा अविजित ३३ रन बनाए । बसिरले समान ४ चौका र छक्का तथा राजेशले १ चौका र ३ छक्का प्रहार गरे । 

विराटनगरका लागि ११ औं ओभर निर्णायक बन्यो । अमरसिंह राउटेलाको उक्त ओभरमा बसिर र मार्टिन गप्टिलले २४ रन जोडेका थिए । अमरले सो ओभरको अन्तिम बलमा लगातार तीन बल फाल्दा विराटनगरले त्यो एक बलमा १५ रन जोडेको थियो । गप्टिलले कुल ३५ बल खेली १ चौका र ४ छक्कासहित ४५ रन बनाए । 

रिजन ढकालले पुनः सनसनीपूर्ण सुरुआत गर्नेक्रममा पहिलो ओभरमै लोकेश बम (०) र दीपक बोहरा (४) लाई आउट गरेका थिए । स्कट इडवार्डस शून्य र निकोलस कृतन ८ रनमा आउट भएपछि विराटनगर सातौं ओभरमा ३३–४ को स्थितिमा पुगेको थियो । गप्टिल, बसिर र राजेशले विराटनगरलाई उकासेका थिए । चितवनबाट रिजनले २ तथा सोहेल तनवीर, बसिल हमिद र कप्तान कुशल मल्लले १–१ विकेट लिए ।

चितवनले ६ विकेट गुमाई १ सय ३० रनमात्र बनाउन सक्यो । अमरले २९ बलमा अविजित ४२ रन बनाउनेक्रममा ३ चौका र २ छक्का प्रहार गरे । सन्तोष कार्कीले २५ बलमा ३ चौका र १ छक्कासहित २८, हसन इसाखिल ५, रवि बोपारा २४ बल खेलि २ चौकासहित २०, कुशल २५ बल खेलि २ चौका र १ 

छक्कासहित २५ र हमिद १ रन बनाई आउट भए । विराटनगरबाट कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २८ रन खर्चेर २, क्रिस सोल, बसिर, सुवास भण्डारी र लोकेशले १–१ विकेट लिए ।

आजको खेल

९:०० बजे– काठमान्डु गुर्खाजविरुद्ध पोखरा एभेन्जर्स

१३:०० बजे– चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्स

Chitwan Rhinos missed the chance

कान्तिपुर संवाददाता

Link copied successfully