काठमाडौँ — सन् १९७१ मा आजकै दिन (जुन ३) मा इमरान खानले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । खानले १९ वर्षको उमेरमा पाकिस्तानी क्रिकेट टिमबाट इंग्ल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
१९५२ अक्टोबर ५ मा लाहोरमा जन्मिएका खानले १६ वर्षको उमेरदेखि नै क्रिकेट खेल्न सुरु गरेका थिए । खान १९८२ देखि १९९२ सम्म पाकिस्तानी क्रिकेट टिमको कप्तान थिए । उनको नेतृत्वमा पाकिस्तानी क्रिकेट टिमले १९९२ को क्रिकेट विश्वकप जितेका थियो ।
खान पाकिस्तानका २२ औं प्रधानमन्त्रीसमेत हुन् । उनले २०१८ अगस्टदेखि २०२२ अप्रिलसम्म पाकिस्तानी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । १९९२ मा क्रिकेटबाट संन्यास लिएका खानले १९९६ मा तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टी खोलेका थिए ।
२००२ मा एकमात्र सिट जितेको पार्टीले २००८ को चुनाव बहिष्कार गरेको थियो । २०१८ को चुनावमा पहिलो दल बन्न सफल भएसँगै खान गठबन्धन सरकारको प्रधानमन्त्री बनेका थिए ।
