काठमाडौँ — सन् २०१२ मा आजकै दिन (मार्च ९) मा भारतीय क्रिकेटर राहुल द्रविडले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएका थिए । द्रविड हाल भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक छन् ।
१९७३ को जनवरी ११ मा मध्यप्रदेशको इन्दोरमा जन्मिएका द्रविड बैंग्लोरमा हुर्किएका हुन् । उनले १२ वर्षको उमेरदेखि नै क्रिकेट खेल्न थालेका थिए । कर्नाटकका लागि यू–१५, यू–१७, यू–१९ टोलीबाट खेलेका द्रविडले १९९६ अप्रिल ३ मा श्रीलंकाविरुद्धको एकदिवसीयबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । त्यस्तै, उनले १९९६ जुन २० मा इंग्ल्यान्डविरुद्ध पहिलो टेस्ट खेलेका थिए ।
दायाँ हाते ब्याट्सम्यान द्रविड सुरक्षात्मक खेल खेल्न निकै सफल मानिन्छन् । उनी क्रिजमा टिकेर खेल्न निकै माहिर थिए । जसका कारण उनले ‘मिस्टर डिपेन्डेबल’ उपनामसमेत पाएका थिए । द्रविडले भारतले खेलेका ३ सय ४४ एकदिवसीयमा १० हजार ८ सय ८९ रन बनाएका थिए । त्यस्तै टेस्टतर्फ १ सय ६४ खेलमा उनले १३ हजार २ सय ८८ रन बनाएका थिए ।
