कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मेडिकल कलेजलाई एक अर्ब डलर दान

एजेन्सी

न्युयोर्क — अमेरिकाको न्युयोर्ककी ९३ वर्षीया एकल महिलाले एक मेडिकल कलेजलाई एक अर्ब अमेरिकी डलर बराबरको दान दिएकी छन् । न्युयोर्कको ब्रोन्क्स मेडिकल स्कुल, अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनलाई डा. रुथ गोटेसम्यानले त्यहाँ अध्ययनरत सबै विद्यार्थीको पढाइ खर्च तिर्नका लागि सर्तसहित करिब एक अर्ब अमेरिकी डलर (एक खर्ब ३२ अर्ब ६४ करोड नेपाली रुपैयाँ) दिएकी हुन् । 

मेडिकल कलेजलाई एक अर्ब डलर दान

वालस्ट्रिट फाइनान्सरकी पत्नी रुथ आइन्स्टाइन कलेजकी पूर्वप्राध्यापकसमेत हुन् । त्यहाँ उनले सिक्ने असक्षमताबारे अध्ययन, स्क्रिनिङ गर्ने परीक्षणको विकास र साक्षरताका कार्यक्रमहरू चलाएकी थिइन् । रुथले उक्त रकम पति डेभिड गोटेसम्यानबाट प्राप्त गरेकी हुन् । विश्वविख्यात धनाढ्य वारेन बफेटका पार्टनर स्वर्गीय डेभिडले उनका लागि अर्ब डलर छाडेर गएको पछिमात्रै थाहा भएको थियो । स्यान्डी नामबाट परिचित उनका श्रीमान्ले बफेटले स्थापना गरेको बर्कसायर ह्याथवेमा प्रारम्भिक लगानी गरेका थिए ।

न्युयोर्ककै गरिब स्थानका रूपमा परिचित ब्रोन्क्समा अकाल मृत्युदर उच्च छ । रुथका अनुसार उपहार रकमले नयाँ चिकित्सकहरूले ऋण मुक्त रहेर आफ्नो करिअर सुरु गर्न सक्नेछन् । सामान्यतः एक चिकित्सकले मेडिकल कलेज छोड्दा उसको टाउकोमा कम्तीमा दुई लाख डलर ऋण हुने गर्छ । यसका साथै आफ्नो उपहारपछि पैसा नभएकै कारण मेडिकल कलेज जान नसकेकालाई पनि चिकित्सक बन्न सहयोग पुग्ने रुथको आशा छ ।

उनका श्रीमान्ले फर्स्ट म्यानहट्टन नामक लगानी फर्म चलाउँदा डा. गोटेसम्यानले सन् १९६८ मा मनोशैक्षिक सेवाको निर्देशकका रूपमा आइन्सटाइनमा जागिर सुरु गरेकी थिइन् । उनले लामो समय सोही मेडिकल कलेजमा आफ्नो सेवा दिइन् र बोर्ड अफ ट्रस्टी हुँदै हाल अध्यक्ष छिन् ।

पछिल्लो समय उनी मेडिकल कलेजका साथै त्यससँग आबद्ध मोन्टेफोर मेडिकल सेन्टरको नेतृत्व गरिरहेका बालरोग विशेषज्ञ डा. फिलिप ओजुआहसँग घनिष्ठ मित्र छिन् । आफ्नो श्रीमान्ले छाडेको पैसालाई के गर्ने भन्ने निर्णय लिन यही मित्रताले सहयोग पुर्‍याएको थियो । कोरोनाभाइरसले विश्वलाई ठप्प अवस्थामा पुर्‍याएको बखत रुथ र ओजुआहको मित्रता प्रगाढ भएको हो ।

आइन्सटाइनमा काम गर्दा उनले सयौं सम्भावित विद्यार्थीको अन्तर्वार्ता लिएकी थिइन् । त्यहाँ एक वर्षको पढाइ खर्च ५९ हजार डलर थियो र अधिकांश विद्यार्थी ऋणको भारी बोकेर बाहिरिन बाध्य थिए । मेडिकल कलेजका अनुसार ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले कलेजबाट पास आउट हुँदा दुई लाख डलर तिर्नुपर्ने हुन्छ । न्युयोर्कमै रहेका अन्य मेडिकल कलेजमा भने यो संख्या २५ प्रतिशत मात्रै छ ।

आइन्स्टाइनमा पहिलो वर्षमा अध्ययनरत मेडिकल विद्यार्थीमध्ये आधा न्युयोर्कवासी र करिब ६० प्रतिशत महिला छन् । आइन्स्टाइनका मेडिकल विद्यार्थीमध्ये करिब ४८ प्रतिशत गोरा, २९ प्रतिशत एसियाली, ११ प्रतिशत हिस्पानिक र ५ प्रतिशत अश्वेत छन् ।

प्रकाशित : फाल्गुन २२, २०८० ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?