१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

८६ देशका युवा जोड्ने दिवाकर

दिवाकरको नेतृत्वका स्थापित ग्लोबल युथ पार्लियामेन्टमा हाल ८६ देशका २१ सयभन्दा बढी युवा जोडिएका छन् । तीमध्ये ८० देशका एक हजारभन्दा बढी युवाले नेपाल भ्रमण गरिसकेका छन् ।

काठमाडौँ — करिब डेढ दशकअघि राम्रै अंक ल्याएर एसएलसी पास गरेका धादिङका दिवाकार अर्याल हेल्थ एसिस्टेन्ट (एचए) पढ्न चाहन्थे । तर परिवारको आर्थिक अवस्था भने उनले सोचअनुकूल नभएकाले उनले इच्छाअनुसारको पढाइ गर्न पाएनन् । पैसाकै कारण आफ्नो इच्छा मार्न परेपछि क्याम्पस पढ्न भनेर काठमाडौं छिरे । 

८६ देशका युवा जोड्ने दिवाकर

तर धादिङमै पढ्नेसँगै खाने बस्ने सहयोग पाउने भएपछि अर्याल धादिङबेंसी फर्किएर प्लस–टु पढ्न थाले । पढाइको क्रम चलिरहेकै थियो । त्यही मेसोमा गैरसरकारी संस्थाका विषयमा थाहा पाएपछि उनको त्यतातिर ध्यान तानियो । ‘विस्तारै बुझ्दै गएपछि आफूले पनि संस्था खोलेर काम गर्न मन लाग्यो,’ अर्यालले ती दिन सम्झिए । अरूको भन्दा फरक नाम राख्ने सोचले खोजी गर्दै जाँदा ‘युथ पार्लियामेन्ट’ नाम जुर्‍यो । यद्यपि, उक्त संस्था आधिकारिक रूपमा दर्ता भने भएको थिएन । त्यतिबेला प्लस टु र स्नातक अध्ययनरत ११६ जना विद्यार्थीहरू रहेर ‘युथ पार्लियामेन्ट’ अन्तर्गत करिब दुई वर्ष केही काम गरे ।

स्नातक पढ्न काठमाडौं आएपछि सामाजिक क्षेत्रमै थप क्रियाशील हुनका लागि कानुनी रूपमै स्थापित संस्था आवश्यक ठानेपछि २०६८ को अन्त्यतिर साथीहरूसँग मिलेर ‘युथ पार्लियामेन्ट नेपाल’ दर्ता गरे । त्यसताका उक्त संस्था सामाजिक विषयवस्तुमा विभिन्न अभियान, सडक प्रदर्शन, लभिइङ, आइडिया इनोभेसन वर्कसपलगायतमा केन्द्रित थियो ।

तर अन्य संस्थाहरूको भन्दा भिन्न केही गर्ने सोचले उनले ‘मिनी संसद’ का रूपमा क्रियाशील बनाउने निर्णय भयो । जसअनुसार सबै निर्वाचन क्षेत्रबाट एक/एक जना प्रतिनिधि छनोट गरी संसद् गठन गरियो । देशको कुल जनसंख्यामा करिब ४० प्रतिशत रहेका युवाहरूको संसद्मा सम्मानजक प्रतिनिधित्व नभएपछि यसले ध्यान खिच्यो । यसले खासगरी, राज्यका नीति निर्माण तहमा दबाब समूहका रूपमा काम गर्न थाल्यो ।

पहिलो संविधानसभाले संविधान दिन नसकेपछि भने ‘युथ पार्लियामेन्ट नेपाल’ केही तात्यो । ‘दोस्रो यसले संविधानसभाले पनि संविधान दिन सकेन भने युवा पुस्ताको भविष्य अन्धकारमय हुने देखेकाले पनि हामीले दबाब कार्यक्रम गर्नुको विकल्प नभएको ठान्यौं,’ अर्यालले भने । फलस्वरूप, ३०१ सदस्यीय ‘नमुना युवा संविधानसभा’ गठन भयो । त्यसका लागि आवेदन आह्वान गरी सदस्यहरू छनोट गरिएको थियो । यसले विभिन्न समितिहरू निर्माण गरी विभिन्न विषयमा छलफलहरू भए ।

दोस्रो संविधानसभाले २०७१ माघ ८ गते संविधान दिने जनाएको थियो । तर उक्त दिन नयाँ संविधान आएन । यद्यपि, ‘नमुना युवा संविधानसभा’ ले भने तोकिएको दिनभन्दा चार दिन अघि अर्थात् माघ ४ मा नै नमुना संविधान निर्माण गरी तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएको थियो । संविधानबिनाको डेडलक लामो सयसम्म रहिरहनु युवा र आगामी पुस्ताका लागि निकै घातक हुने भएकाले तपाईंहरू जिम्मेवार हुनुपर्छ भन्दै विभिन्न नेताहरूलाई नमुना संविधान बुझाएको अर्याल बताउँछन् ।

त्यसअघि नै २०६६ फागुन १४ गते संसद्बाट राष्ट्रिय युवा नीति पारित भएको थियो । विश्व समुदायका अभ्यासहरू अध्ययन गरेका अर्याललाई उक्त नीतिमा रहेका केही कुरा संशोधन हुनुपर्छ भन्ने लाग्यो । आफूलाई लागेका त्यस्ता विषयहरू समेटेर उनले २०६८ मा ‘युवा दर्शन’ पुस्तक पनि लेखे । पुस्तकमा आर्यालले युवाका विषया केही नीतिगत सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।

पछि २०७२ को ऐनअनुसार राष्ट्रिय युवा परिषद् गठन भयो । परिष्दका तत्कालीन उपाध्यक्ष माधव ढुंगेलले अर्याललाई बोलाएर मिलेर काम गर्ने प्रस्ताव गरे । तर केही महिनापछि ढुंगेलले युथ पार्लियामेन्ट नेपाललाई युवा परिषद्ले नै आफ्नो कार्यक्रममा रूपमा अघि सार्ने प्रस्ताव गरे । आफूले अघि सारेको अवधारणालाई सरकारी निकायले अपनत्व लिन्छौं भने पनि अर्यालले हुन्न भन्न सकेनन् ।

‘कुनै सर्त र फाइदाबिना नै युथ पार्लियामेन्ट नेपाल हस्तान्तरण गरेँ,’ अर्याल भन्छन्, ‘त्यतिबेला मैले के गर्ने भन्ने पनि सोच्न पाएको थिइन् ।’ तर केही समय बेरोजगारजस्तै भएका अर्यालले अन्तर्राष्ट्रिय सन्दर्भमा युवाहरूले सञ्चालन गरेका मञ्च र नेतृत्वका मोडलहरूबारे थप अध्ययन गरे । कतिपय देशमा गैरसरकारी संस्था त केही देशमा सरकारी अंगकै रूपमा अधिकांश देशमा युथ पार्लियामेन्ट चलिरहेको थाहा पाए । ‘त्यसपछि भने अब स्वदेशबाट विदेशसम्म फैलिनुपर्छ भन्ने सोच आयो,’ अर्यालले भने, ‘केही महत्त्वाकांक्षा पनि पलाएपछि फरक ढंगले अघि बढ्ने योजनाअुनसार ग्लोबल युथ पार्लियामेन्ट गठन भयो ।’

त्यसयता अर्यालसहितको टिम ग्लोबल युथ पार्लियामेन्टलाई अन्तर्राष्ट्रिय युवामाझ जोड्न तल्लीन छ । त्यसका लागि विभिन्न देशमा रहेका साथी र उनीहरूको चिनजानमार्फत सम्पर्क र सम्बन्ध विस्तारमा लागेको अर्याल बताउँछन् । ग्लोबल युथ पार्लियामेन्टले स्थापनको केही महिनामा नै १४/१५ देशमा राष्ट्रिय समिति गठन गर्न सफल भएको उपाध्यक्ष कैलाश श्रेष्ठले बताए । उनका अनुसार हाल ग्लोबल युथ पार्लियामेन्टअन्तर्गत ८४ देशमा राष्ट्रिय समितिहरू छन् । यसले खासगरी युवा नेतृत्व विकास, कला संस्कृतिको आदानप्रदान र पर्यटन क्षेत्रको विस्तारलाई आफ्ना मुख्य कार्यक्षेत्र बनाएको छ ।

पार्लियामेन्टमा हाल ८६ देशका २१ सय युवाहरू सदस्य छन् । सबैभन्दा बढी सदस्य बंगलादेशका छन् । त्यसपछि भारतीय र इन्डोनेसियाली छन् । नेपालका भने दुई सयभन्दा बढी सदस्य छन् । उपाध्यक्ष श्रेष्ठका अनुसार सदस्यताका लागि १६ देखि ४० वर्ष उमेर तोकिएको छ । त्यस्तै, जागिरमा सीमितभन्दा सामाजिक गतिविधि र उद्यममा सक्रियलाई प्राथमिकता दिने गरिएको उनी बताउँछन् ।

ग्लोबल युथ पार्लियामेन्टले सात वर्षयता गर्दै आएका कार्यक्रममा सयौं युवाहरू नेपाल आइसकेका छन् । अर्यालका अनुसार कार्यक्रमका दौरान हालसम्म ८० देशका एक हजारभन्दा बढी युवाले नेपाल भ्रमण गरिसकेका छन् । ‘हामीले सन् २०१७ देखि हामीले बर्सेनि कार्यक्रम गर्दै आएका छौं,’ अर्यालले भने, ‘२०२२ मा भएको ग्लोबल युथ लिडरसिप सम्मलेनमा मात्रै अफ्रिकी देश गाम्बियाबाट मात्रै १३ जना युवा नेपाल आएका थिए ।’

कार्यक्रमकै लागि नेपाल आएका भए पनि बसाइ लम्बाएर विभिन्न पर्यटकीय स्थान घुम्ने युवाहरूले संख्या उल्लेख्य रहेको अर्याल बताउँछन् । ‘हाम्रो देशका विभिन्न स्थान घुमेका युवाले स्वदेश फर्किएपछि नेपालबारे आफ्नो अनुभव बताउने भइहाले,’ अर्यालले भन्छन्, ‘यस अर्थमा ग्लोबल युथ पार्लियामेन्टका सदस्यहरू पर्यटन दूतजस्तै हुन् ।’

कपितय देशका नागरिकले त ग्लोबल युथ पार्लियामेन्टकै कारण पनि नेपाललाई चिनेका अर्याल बताउँछन् । पछिल्लो समय सामाजिक उद्यमका

क्षेत्रमा क्रियाशिल पार्लियामेन्टले १५ देशमा कार्यक्रम गरिसकेको छ । नेपालबाहेक भारत, बंगलादेश, श्रीलंका, मलेसिया, थाइल्यान्ड, फिलिपिन्स, इटाली, जर्मनी, अस्ट्रेलिया, केन्या, यूएई, दक्षिण कोरिया, ताइवान र इजिप्टमा कार्यक्रम भइसकेका अर्यालले बताए । यीमध्ये बंगलादेश, थाइल्यान्डलगायतका देशमा भने तीन/चार पटकसम्म कार्यक्रम भइसकेका छन् भने थाइल्यान्ड, कोस्टारिका, गाम्बिया र अमेरिकामा यसै वर्ष कार्यक्रम हुँदै छ ।

नेपालमै दर्ता भएकाले कानुनी प्रावधानका कारण ग्लोबल युथ पार्लियामेन्टको कार्यकारी समिति भने नेपालीमै सीमित छ । उपाध्यको भूमिकामा कैलाश श्रेष्ठ छन् । तर विश्वभरका युवालाई समेट्नका लागि भने पार्लियामेन्टले कार्यकारी बोर्ड गठन गरेको छ । त्यसमा अध्यक्ष अर्याल आफै छन् भने विभिन्न ६ महादेश (एसिया, युरोप, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र अस्ट्रेलिया तथा ओसियाना) का एक/एक उपाध्यक्ष छन् । महासचिवको भूमिकामा बंगलादेशी छन् ।

दुई/दुई वर्षसम्म नेतृत्व परिवर्तन हुने व्यवस्था भए पनि हालसम्म अर्यालले नै नेतृत्व सम्हालेका छन् । ‘सबै साथीहरूको आग्रहअनुसार हालसम्म मैले नै नेतृत्व सम्हालिरहेको छु,’ अर्यालले भने, ‘२०२४ सेप्टेम्बरमा अमेरिकामा हुने सम्मेलनबाट भने नेतृत्व हस्तान्तरण गर्ने सोचमा छु ।’ नेतृत्वका लागि गाम्बिया र अमेरिकाबीच तीव्र प्रतिस्पर्धा देखिएको उनले बताए ।

अर्याल पार्लियामेन्टका कार्यक्रमसहित ३० देशमा पुगिसकेका छन् । विदेशी भूमिमा नेपालीलाई राम्रो व्यवहार गर्दैनन् भन्ने बुझाइ भने गलत भएको उनको भनाइ छ । व्यक्तिभन्दा पनि संस्थाको भूमिका महत्त्वपूर्ण हुने रहेछ । अरूले गर्ने व्यवहार त्यसमा भर पर्ने अर्यालको बुझाइ छ ।

युवाका मुद्दामा सक्रिय रहेकै कारण अर्याल समाज सेवा रत्नद्वारा विभूषित भइसकेका छन् भने युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पनि सम्मानित भइसकेका छन् । त्यस्तै, नेल्सन मण्डेला ग्लोबल लिडरसिप अवार्ड, ग्लोबल चेन मेकर अवार्ड (बंगलादेश) लगायतका दर्जनौं सम्मान प्राप्त गरिसकेका छन् ।

यति मात्र होइन, युवाका लागि रोजगारी दिनका लागि अर्यालले आईटी कम्पनी इभाज टेक्नोलोजी पनि सञ्चालन गर्दै आएका छन् । कम्पनीमा हाल एक विदेशीसहित १४ जनालाई रोजगारीको अवसरसमेत दिएका छन् । राजनीति शास्त्रमा स्नातकोत्तर अर्याललाई एसएलसीपछि एचए पढ्न नपाएकोमा अहिले कस्तो लाग्छ त ? ‘एचए पढ्न पाएको भए एउटा क्षेत्रमा मात्रै सीमित भइन्थ्यो । अहिले समाजका सबै क्षेत्रमा क्रियाशील हुन पाइएको छ,’ गीतासार सम्झँदै अर्याल भन्छन्, ‘जीवनमा जे हुन्छ, राम्रैका लागि हुन्छ ।’

प्रकाशित : फाल्गुन १९, २०८० ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?