घाइते कुकुरका प्रिय दाजुबहिनी

विराटनगरका शाहिल र एलिना प्रसाईंले घाइते सडक कुकुरहरूको उपचार गर्ने गरेका छन् । सुरुमा घाइते कुकुरलाई घरमै राखेर उपचार गरेका उनीहरूले संख्या बढ्दै गएपछि विराटनगरस्थित पुष्पलाल चोक नजिकैको घर भाडामा लिएर कुकुरको उपचार गरिरहेका छन् । 

फाल्गुन २२, २०८०

पर्वत पोर्तेल

Dear Siblings of Injured Dogs

विराटनगर — कोभिड महामारी सुरु हुनुअघि विराटनगरका शाहिल र एलिना प्रसाईं भारतको दिल्लीमा पढ्दै थिए । विराटनगरमै १२ कक्षा सकेपछि उच्च शिक्षाका लागि दिल्ली गएका शाहिलले करिब ७ वर्ष अनि एलिनाले साढे ५ वर्ष दिल्लीमा बिताए । दाजु शाहिल बीबीए गर्दै थिए । बहिनी एलिना इन्फरमेसन टेक्नोलोजी एन्ड ह्युमेन रिसोर्स (आईटीएचआर) पढ्दै थिइन् । 

दिल्लीमा बस्दा उनीहरूले फरक दृश्य देखे । ‘भुस्याहा’ भनिने सडक कुकुरहरू गाडीले हिर्काएर घाइते बनाउँथ्यो । ती घाइते कुकुरको उपचारमा केही मान्छे जुटेका थिए । भोकाएका कुकुरलाई खानाको जोहो गरेको देखे । दिल्लीको त्यो दृश्यबाटै प्रसार्इं दाजुबहिनी निकै प्रभावित भए । दिल्लीमा आफू बस्ने टोलका मान्छेहरूसँग मिलेर उनीहरू पनि घाइते कुकुरको उपचारमा जुट्न थालेका थिए । त्यहीबेला कोभिड महामारी सुरु भयो । सन् २०२० को सुरुमा कोभिड सन्त्राससँगै पहिलो लकडाउन सुरु भयो । तब दाजुबहिनी दिल्ली छाडेर विराटनगर फर्किए । लकडाउनले सिंगो सहर थुनिएको थियो । मान्छेहरू हिरासतका कैदीझैं थिए । सडकका कुकुरहरू भोकले भौंतारिरहेका थिए । 

शाहिल र एलिनाको ज्यान मात्रै घरभित्र थुनिएको थियो, मन भने सडकमा भौंतारिरहेका कुकुरतिर थियो । भोकले कराइरहेका कुकुरको चिच्याहटले एक दिन एलिना सडकतिर लम्किइन् । जहाँ दर्जनौं भोका र घाइते कुकुरहरूले उनलाई घेरे । लकडाउनको पनि पर्बाह नगरी उनी घरमा भात पकाएर कुकुरलाई बाँड्दै हिँडिन् । छरछिमेकीले त ‘बरु मान्छेलाई ख्वाउनु नि, किन यी भुस्याहालाई पोस्नु परो’ पनि भने । एक दिन महेन्द्रचोक आसपास कुकुरलाई भात बाँड्दै थिइन् । अचानक एउटा घाइते कुकुरमा उनको आँखा ठोक्कियो । उसको प्राइभेट पार्ट रगताम्मे थियो । ‘त्यसलाई दाजुको सहयोगमा पक्रेर उपचार गर्न लिएर गएँ,’ एलिनाले सम्झिइन्, ‘क्यान्सर भइसकेको रहेछ, डाक्टरले अप्रेसन गर्नुपर्छ भनेपछि आठ हजार खर्चिएर उपचार गर्‍यौं ।’ केही महिना घरमै राखेर उपचार गरेपश्चात् क्यान्सर पीडित कुकुरलाई उनले सडकमै लगेर छाडिदिइन् । 

त्यो सफलताको कथालाई उनीहरूले फेसबुकमार्फत साझा गरेका थिए । त्यो पढेपछि धेरै मान्छे उनीहरूका फ्यान बने । फ्यानहरूले नै सुझाएपछि दाजुबहिनी गत जेठमा ‘एलिना एनिमल्स प्रिजर्भेसन नेपाल’ नामक संस्था दर्ता गरेर कुकुरको हेरचाह र सुखदुःखका साथी बने । उनीहरूलाई अहिले घाइते कुकुरको उपचारका लागि अनुरोधको ओइरो आउने गरेको छ । झापा, इलाम, सिरहा, सप्तरी लगायतका जिल्लाबाट घाइते कुकुर उपचारका लागि ल्याइदिन्छन् । 

‘सुरुमा मायाले गरेका थियौं, पछि त बाध्यताझैं भयो,’ एलिनाले सुनाइन्, ‘पहिला ५५ वटा थिए, अहिले २० वटा कुकुरलाई उपचार गरेर राखिएको छ ।’ घाँटी काटिएको, गाडीको ठक्करले खुट्टा भाँचिएका, पक्षघात भएका, लुतोले ग्रस्त, ट्युमर बोकेका कुकुरलाई उनीहरूले उपचार गरी स्वस्थ बनाएर पठाएका छन् । कुकुरका बच्चा हुर्काउन झनै गाह्रो काम हो । सिरिन्जले वा मिक्स्चरमा पिसेको पातलो खाना खुवाउनुपर्ने हुन्छ । ‘कुकुरलाई पनि मान्छेलाई जत्तिकै रेखदेख चाहिन्छ,’ २५ वर्षीया एलिनाले अनुभव साटिन्, ‘चिसो–तातो, सार्‍हो–गिलो सबै कुरामा ध्यान पुर्‍याउनुपर्छ ।’

सुरुआती दिनमा घाइते कुकुरलाई घरमै राखेर उपचार गरे । तर, कुकुरको संख्या यसरी बढ्न थाल्यो कि घरले धान्नै सकेन । अन्ततः विराटनगरस्थित पुष्पलाल चोक नजिकैको भाडा घरलाई सेल्टर बनाएर कुकुरको उपचार गरिरहेका छन् । घरभाडा मासिक २० हजार तिर्छन् । दुई पशु प्राविधिक र एक हेरालुसहित तीनजना तलबी कर्मचारी पनि खटाएका छन् । उनीहरूले घरमै होस्टेल पनि चलाएका छन् । त्यो आम्दानीको केही रकम कुकुरका लागि खर्च गर्ने गरेका छन् । ‘विभिन्न व्यक्तिहरूको सहयोग र परिवारबाटै प्राप्त पैंसाले कुकुर स्याहारिरहेका छौं,’ २७ वर्षीय शाहिलले भने, ‘घर भाडाको रकमचाहिँ दिदी–भिनाजुले अमेरिकाबाटै पठाइदिनुहुन्छ ।’

Dear Siblings of Injured Dogs

केही समयअघि उनीहरूले ‘सय रुपैयाँ’ नामको अभियान चलाएर एक लाख ८० हजार उठाए । तर, त्यो पर्याप्त भएन । उनीहरू सरकारी तहबाट सहयोग भए स्थायी रूपमै कुकुरको उपचारका लागि व्यवस्था गर्न सकिने बताउँछन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पनि उनीहरूको सेवामूलक कर्मप्रति बेखबर छैनन् ।

मुख्यमन्त्री कार्कीले केही दिनअघि कुकुर उपचार सेल्टर निर्माणका लागि सहयोगको आश्वासन पनि दिएका छन् । उनीहरूले पनि सेल्टर निर्माणका लागि महानगरसँग केही कट्ठा जमिन माग गरेका थिए । तर महानगरले जमिन नदिएपछि जग्गा लिजमा लिएर उनीहरूले सेल्टर निर्माणको प्रारम्भिक काम थालेका छन् । विराटनगरको आईपीसी रोडनजिकै सेल्टर निर्माण सुरु भइसकेको छ । ‘एनिटाइम वार रेस्टुरेन्टका सञ्चालक आशिष देवको सहयोगकै कारण सेल्टरको काम सुरु भएको हो,’ एलिनाले भनिन् । 

सानामा कुकुर बिराला भनेपछि छिःछिः र दूरदूर गर्ने एलिनाको कुकुरमोह यसरी झाँगियो कि अब उनलाई मान्छेभन्दा बढी कुकुरकै माया लाग्न थालेको छ । ‘कुकुर बफादार त हुँदै हो, ज्यादै मायालु पनि हुने रैछ,’ एलिनाले काखको पप्पीलाई मुसार्दै थपिन्, ‘घाइते र बच्चा कुकुर देख्दा त मायाले भुतुक्कै भइहाल्छु ।’ यी दाजु–बहिनीले कुकुरको हाउभाउ र भावभंगी पनि बुझ्न थालेका छन् । भोकतिर्खा लाग्दा, दिसापिसाब आउँदा अनि खुसी र पीडा महसुस भएका बेला कुकुरले देखाउने स्वभावबारे उनीहरू परिचित भइसके । 

शाहिल र एलिनाका दामलीहरू प्रायः अमेरिका, अस्ट्रेलियातिर लागिसके । तर, उनीहरूलाई विदेश मोहभन्दा बढी कुकुरमोह छ । कुकुरको स्याहारसुसारमा खटिरहेका उनीहरू संस्थालाई स्थापित गरेपछि बल्ल जागिर सुरु गर्ने योजनामा छन् । ‘हामीले जागिर गरेनौं, पैसा कमाएनौं भन्ने बाआमाले भित्री गुनासो छ,’ एलिनाले सुनाइन्, ‘तर, उहाँहरूले हाम्रो कामलाई असहयोग चाहिँ गर्नुभएको छैन ।’

सरकारी वा अन्य सहयोग जुट्न सके सेल्टर हाउसलाई कुकुरको मात्रै नभई सडकमा अलपत्र, घाइते सबै खाले जनावरहरूको साझा थलो बनाउने योजना दाजु–बहिनीको छ । कुकुरलगायत सबै सडक पशुहरू समयमा स्वास्थ्य उपचार नपाएर मरिरहेका दृष्टान्त धेरै छन् । उनीहरूसँग त्यस्ता पशुलाई उपचार गर्ने देशकै मुख्य थलो बनाउने हुटहुटी छ, तर पैसाको भने अभाव छ । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully