ब्युनर्स आयर्स — अर्जेन्टिनी फुटबल लेजेन्ड डिएगो म्याराडोनाले विश्वमा अहिले फैलिइरहेको कोरोना भाइरस संक्रमणको महामारी रोक्न ‘देवताको हात’ चाहिएको बताएका छन् । उनी चाहन्छन्, सकेसम्म चाँडै सामान्य पनि होस् ।
सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दाका कप्तान म्याराडोनाले त्यस प्रतियोगितामा गरेको विवादास्पद गोललाई इंगित गर्दै त्यसो भनेका हुन् । अर्जेन्टिनामा भखरै मात्र फुटबलको पूरा सिजन स्थगित भएको छ र उनको प्रशिक्षणमा रहेको जिमनसिया रेलिगेसनबाट बचेको छ ।
जिमनसिया अंक तालिकाको पुछारमा थियो । इंग्ल्यान्डविरुद्धको क्वाटरफाइनलमा हातले गोल गरेका म्याराडोनाले भने, ‘अहिले साँच्चै कोरोना भाइरस संक्रमणको महामारी रोक्ने हो भने देवताको हात चाहिएको छ ।’
अर्जेन्टिनाले इंग्ल्यान्डविरुद्धको त्यस खेल २–१ ले जितेको थियो । अर्जेन्टिना मार्च २० देखि लकडाउनमा छ । त्यहाँ ४ हजार १ सय १४ कोरोना भाइरसको संक्रमणमा परिसकेका छन् र त्यसमध्ये २ सय ७ को मृत्यु भएको छ ।
