धार्मिक सभाबाट फर्केको ४९ दिनपछि कोरोना पुष्टि 

लक्ष्मी साह

बारा — ‘कन्ट्याक्ट ट्रेसिङ’पछि कोरोना संक्रमण पुष्टि भएका बाराका दुवै जना प्रहरी निगरानीमा भए पनि उनीहरुलाई क्वारेन्टाइनमा लगिएको थिएन । ४९ दिनअघि नेपालको सप्तरी र भारतको दिल्लीमा भएका धार्मिक सम्मेलनमा सहभागी भई उनीहरु घर फर्किएका थिए । 

धार्मिक सभाबाट फर्केको ४९ दिनपछि कोरोना पुष्टि 

‘धार्मिक कार्यक्रम सकेर आएको ४९ दिनपछि उनीहरुमा कोरोना पुष्टि भएको छ,’ प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘बिहीबार काठमाडौंबाट स्वास्थ्य टोली आउँदैछन्, परीक्षणमा के हुन्छ त्यसपछि सिल गर्ने/नगर्ने टुंगो लाग्छ ।’ तबसम्म टोल समुदायलाई सचेत पार्दै सुरक्षा निगरानी बढाइएको उनले बताए ।

दुवै संक्रमितलाई वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका लागि लगिएको छ । ‘सिल नगरी समुदायमा आउजाउदेखि अन्य गतिविधि नगर्न दिन प्रहरीमार्फत् कडाइ गरेका छौं,’ प्रजिअ पण्डितले भने ।

वैशाख १४ मा वीरगन्ज–१६ इनर्वाका ५५ वर्षीय एकजनामा संक्रमण भएको पुष्टि भएपछि उनैको ‘कन्ट्याक्ट ट्रेसिङ’ को आधारमा बाराका यी दुईलाई जीतपुरसिमरा उपमहानगरको क्वारेन्टाइनमा लगिएको थियो । त्यहींबाट निकालेर लगिएको स्वाबको नमुना परीक्षण गर्दा दुवैमा कोरोना पोजिटिभ देखियो । उनीहरुलाई क्वारेन्टाइनमा लगेको चौथो दिनमा संक्रमण पुष्टि भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित आफ्‍नै घरमा परिवारसित बस्दै आएका ४३ वर्षीय र सिम्रौनगढ नगरपालिका–४ हरिहरपुर घर भई जीतपुरसिमरा–१९ कै इनर्वासिरास्थित एक मस्जिदमा बस्दै आएका ३१ वर्षीय मौलानामा संक्रमण देखिएको हो । ‘दुवैजना बाहिरबाट फेर्केदेखि निगरानीमै थिए,’ स्थानीय एक कनिष्ठ प्रहरी अधिकृतले भने,‘कन्ट्रयाक्ट ट्रेसिङ’ बाट जानकारी आएपछि वैशाख १४ मा क्वारेन्टाइन लग्यौं ।’

मस्जिदमा बस्दै आएका मौलाना मुस्लिम समुदायका बालबालिकालाई पढाउँथे । लकडाउन सुरु भएपछि बालबालिकालाई छुट्टी दिएर उनी आफ्नो एक चेलाको साथमा बस्थे । घरघरबाट पालैपालो ल्याएर उनै चेलाले खाना खुवाउने गरेका थिए । १५ वर्षीय ती चेलालाई पनि प्रहरीले क्वारेन्टाइनमा लगेको छ । यसैगरी घरमा बस्दै आएका ४३ वर्षीयका परिवारका सात जनालाई प्रहरीले बुधबारै क्वारेन्टाइन पुर्‍याएको छ ।

जिल्ला जनस्वास्थ्य प्रमुख राजकिशोर पण्डितकाअनुसार जिल्लामा बिहीबारसम्म १ सय ५७ जनाको आरडीटी र १ सय १ जनाको पीसीआर परीक्षण गर्दा सबै निगेटिभ देखिएको छ । २ जना आइसोलेसनमा छन् भने १ सय ८१ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित : वैशाख १७, २०७७ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?